
त्रिलोचन आचार्यसँग हामी लामो समयदेखि नै सँगसँगै छौँ । कार्य क्षेत्रमा पार्थक्य भए पनि साहित्यको बाटो भने हाम्रो एकै हो । साहित्य भनेको रुचिले डोहोर्याएको बाटो हो भन्दा अन्यथा नहोला । रुचि मानिसको समान हुँदैन र नै विभिन्न बाटाबाट मानिसले आफ्नो जीवनयात्रा अगाडि बढाइरहेका हुन्छन् । त्यसरी अगाडि बढ्नेहरूमा साहित्यकारहरूले एउटा बाटो समातेका हुन्छन् साहित्यको बाटो तर यसभित्रको विधागत आरोहणको गोरेटो भने भिन्न हुन सक्छ । लेखनमा जो जता भए पनि सुन्ने र सुनाउने साहित्य भनेको गीत-गजल नै हो ।
यसरी विभिन्न साहित्यिक अभियानमा कविता वाचन गर्ने क्रमका सहयात्री पनि हौँ हामी । मूल रूपमा साहित्य पेशा वा व्यवसाय बन्न हाम्रो सन्दर्भमा नसकिरहेको भए पनि यसमा रमाउनु जीवनको एउटा पाटो हो, हामी यसरी नै कहिले घुम्ती कवि गोष्ठितिर कहिले जन्मभूमि साहित्य समाजतिर र कहिले अन्य साहित्यिक संघसंस्थाका कार्यक्रममा रमाइरहेका हुन्छौँ । यस्ता कार्यक्रममा आचार्य कहिले अतिथि, कहिले समीक्षक र कहिले कविता वाचकको भूमिकामा भेटिइरहनुहुन्छ । त्रिलोचन आचार्य प्रथमतः नेपाल सरकारको उच्च्पदस्त अधिकारी भएर पनि साहित्यमा समर्पित रहँदै आउनुभएको छ । अझै भन्ने हो भने उहाँको औपचारिक अध्ययन साहित्येत्तर विषय हो ।
उहाँ वाणिज्यशास्त्रको विद्यार्थी रुचिका कारण सहित्य सिर्जना गर्दै आउनुभएको छ, उहाँ कवितामै रमाउँदै आउनुभएको छ । त्यसमा पनि छन्दका कवितामा उहाँ सिद्धहस्त हुनुहुन्छ । हाम्रो बसोवासको क्षेत्र पनि एकैतिर काठमाडौँ बूढानीलकण्ठ नगरपालिकाको वडा नं १२ कपन । हाम्रो अन्तरसंवादका लागि छनौट गरिएका व्यक्तिहरूमा उहाँलाई पनि समावेश गर्न सहमति जनाएपछि हामीले कपनको सुनगाभा टोलको उहाँको निवासमै बसेर केही कुराकानी गर्यौँ । मेडमले खुवाएको मीठो चियासँगै गरिएको कुराकानीमा साहित्यकार आचार्यका जीवनका विविध पाटा खोतल्ने प्रयास गरियो तर विशेषगरी हामी साहित्यमै केन्द्रित रहृयौँ । यसरी हाम्रो भलाकुसारीबाट साहित्यका र उहाँका जीवनका केही पाटाहरू उजागर बने ।
अहिले त्रिलोचन आचार्यको लेखनमा विधागत रूपमा पद्य कविताहरूकै बहुलता रहन्छ तर उहाँ परम्परागत लेखनभन्दा अलिक पृथक ढङ्गले राष्ट्रियता, प्रकृति चित्रण र प्रगतिशीलतातर्फ झुकाव राख्दै यिनै कुराको चित्रणतर्फ अगाडि बढिरहनु भएको छ ।
त्रिलोचन आचार्य २०२१ साल चैत १० गते बागमती अञ्चनमा पर्ने सिन्धुपाल्चोक जिल्लाको हालको इन्द्रावती गाउँपालिका वडा नम्बर-१० मा पिता बलभद्र आचार्य र माता टङ्ककुमारी आचार्यका सुपुत्रका रूपामा जन्मिनुभएको हो । घननाथ, राममणि, कृष्णप्रसाद र नेत्रप्रसाद उहाँका दाजुहरू हुनुहुन्छ भने डालप्रसाद र भरतप्रसाद उहाँका भाइहरू हुनुहुन्छ । उहाँका मैयाँ नेपाल र अम्बिका नेपाल दुईजना दिदीहरू हुनुहुन्छ । यसरी त्रिलोचन आचार्य आफ्ना मातापिताका सातौं सन्तान र दाजुभाइहरूमा पाँचौँ हुनुहुन्छ ।
त्रिलोचन आचार्यको विवाह २०४६ सालमा चितवन भरतपुर निवासी रोहिणीप्रसाद अधिकारी तथा गङ्गादेवी अधिकारीकी सुपुत्री पवित्रा अधिकारीसँग सुसम्पन्न भयो । पवित्रा आफ्ना पितामाताकी पहिलो सन्तान हुनुहुन्छ । उहाँका एकजना भाइ डा.श्रीप्रसाद अधिकारी र बहिनीहरू गीता अधिकारी भट्टराई, रीता अधिकारी पोखरेल र सङ्गीता अधिकारी बाँस्कोटा हुनुहुन्छ । उहाँ पहिले शिक्षण पेशामा संलग्न हुनुहुन्थ्यो तर हालका दिनमा गृहव्यवस्थापनमै संलग्न हुनुहुन्छ । आचार्य दम्पतीका दुईजना छोरी र एकजना छोरा हुनुहुन्छ । जेठी छोरी डा.सुस्मिता आचार्य घिमिरे दन्तविशेषज्ञ हुनुहुन्छ । सानी छोरी पूजा आचार्य ढकाल इन्जिनियर हुनुहुन्छ । आचार्य दम्पतीका छोरा आयुस आचार्य अध्ययनमै हुनुहुन्छ ।
त्रिलोचन आचार्य नेपाल सरकारका सहसचिव अथवा प्रथम श्रेणीको कर्मचारीबाट हालै सेवानिवृत्त हुनुभएको छ । उहाँ आफ्नो निजी तथा कार्यालयसम्बन्धी कामको सिलसिलामा नेपालका ६५ जिल्ला पुग्नुभएको छ । स्वदेशमात्र होइन उहाँले धेरै देशको भ्रमणको अवसरसमेत प्राप्त गर्नुभयो । यस क्रममा उहाँ फिलिपिन्स, इण्डोनेसिया, ताञ्जानिया, जापान, थाइल्याण्ड, भियतनाम, मलेसिया, दक्षिण कोरिया, चीन, भारत, जर्मनी, डेनमार्क, स्विडेन, स्लोभाकिया, दक्षिण अफ्रिका, कतारलगायत देश पुग्नुभएको छ ।
आचार्यले अध्ययनको प्रारम्भ काभ्रेपलाञ्चोक जिल्लाको हिंगुवापारि प्राथमिक विद्यालयबाट सुरु गर्नुभयो । त्यहाँ उहाँले कक्षा ३ सम्म पढ्नुभया, त्यसपछि डेडीथुम्का माध्यमिक विद्यालयमा उहाँले कक्षा ४ र ५ पढ्नुभयो । त्यसपछि सिन्धुपाल्चोकको ऐँसेलुखर्क माध्यमिक विद्यालयमा कक्षा ६ देखि १० सम्मको औपचारिक शिक्षा प्राप्त गर्नुभयो । त्यही विद्यालयबाट उहाँले एसएलसी पूरा गर्नुभयो । उच्चशिक्षामा उहाँले व्यवस्थापन विषयको अध्ययन गर्नुभयो । काठमाडौंको लैनचौरस्थित सरस्वती क्याम्पसबाट आईकम, बिकम र एमबिए पूरा गर्नुभयो । त्यसपछि जनप्रशासन क्याम्पसबाट एमफिल गर्नुभएको छ र विद्यावारिधिको तयारी गर्दै हुनुहुन्छ ।
आचार्य २०४१ साल भदौ १७ गते सर्वप्रथम सरकारी सेवामा प्रवेश गर्नुभयो । पर्यटन विभाग, पर्यटन मन्त्रालय, आपूर्ति मन्त्रालय, महालेख परीक्षकको कार्यालयमा रहेर उहाँले सेवा गर्नुभयो । महालेखा परीक्षकको कार्यालयबाटै हाल २०८९ साल चैत १० गते सेवानिवृत्त हुनुभएको छ । यो उहाँको उमेरका आधारमा अनिवार्य अवकाश हो । आचार्य नेपाली भाषाबाहेक हिन्दी तथा अङ्ग्रेजी भाषामा समेत भाव संप्रेषण गर्न सक्षम हुनुहुन्छ ।
त्रिलोचन आचार्य आफू मध्यम वर्गीय किसान परिपवारको सदस्य हुँ भन्नुहुन्छ । धेरै दाजुभाइ भएकाले सबैका लागि अध्ययनको वातावरण तयार गर्न कठिन थियो भन्नुहुन्छ उहाँ । सेवामा छँदा उहाँले सुरुमा प्रशासनिक काम गर्नुभयो । २०५० सालदेखि महालेखा परीक्षकको कार्यालयमा रहेर देशका विभिन्न कार्यालयको आर्थिक तथा व्यवस्थापकीय कार्यको अध्ययन परीक्षणका कार्य गर्नुभयो । सेवाको पछिल्लो समयमा कार्यदक्षता, अनुभवसमेत वृद्धि हुँदै गयो र उच्च पदमा आसीन हुनुभयो । उहाँले यस्ता व्यवस्थापकीय कार्यको अध्ययन परीक्षण टोलीहरूको व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्नुपर्ने भयो । यिनै कार्यहरू गर्दै कार्यालयका गतिविधि अध्ययन गरी प्रतिवेदन तयार गर्ने कामसमेत गर्नुभयो ।
साहित्यमा चाहिँ उहाँको सानैदेखि रुचि थियो । विद्यालय तहको अध्ययनको समयदेखि नै रुचिका साथ साहित्यतर्फ ध्यान दिनुहुन्थ्यो । आपूmले नलेखे पनि पाठ्यपुस्तकमा समावेश रचना रुचिका साथ पढ्नुहुन्थ्यो र अरूले वाचन गरेको ध्यानपूर्वक सुन्नुहुन्थ्यो । उहाँले लेखन चाहिँ एसएलसीको परीक्षा दिएपछि सुरु गर्नुभएको हो । लेखनमा रुचि राख्नुको कुनै कारण छैन यो आफैँ मनेदेखि जागृत हुँदै आउने कुरा हो । उहाँमा पनि यस्तै भयो । विनाकारण नै लेख्न थाल्नुभयो ।
यसलाई अर्को शब्दमा भावनात्मक कारणभन्दा होला । छन्दका कविता अथवा पद्य कविताहरू लय हालेर पढ्नुहुन्थ्यो, यसैमा उहाँको बढी आकर्षण रहृयो । यसको कारण उहाँलाई नेपाली विषय पढाउने उत्तममणि लुइँटेल नामका एकजना गुरु हुनुहुन्थ्यो र उहाँ लय हालेर कविता वाचन गर्नुहुन्थ्यो । उहाँबाटै प्रभावित भएर आचार्यले पद्यतर्फ झुकाव राख्नुभयो । अहिले त्रिलोचन आचार्यको लेखनमा विधागत रूपमा पद्य कविताहरूकै बहुलता रहन्छ तर उहाँ परम्परागत लेखनभन्दा अलिक पृथक ढङ्गले राष्ट्रियता, प्रकृति चित्रण र प्रगतिशीलतातर्फ झुकाव राख्दै यिनै कुराको चित्रणतर्फ अगाडि बढिरहनु भएको छ ।
२०३८ सालको नियमिततर्फको एसएलसी दिएपछि त्यसको नतिजा प्रकाशित हुन लामो समय लाग्यो । त्यही बेला उहाँले साहित्यको अध्ययन गर्नुभयो । त्यसपछि उहाँको लेखनले निरन्तरता पायो जसको गति आजका दिनसम्म पनि कायमै छ । हालसम्म उहाँका ‘माटाको बास्ना’ (कवितासङ्ग्रह २०५६), ‘छायाछवि’ (कवितासङ्ग्रह २०५९), ‘आमाविनाको घर’ (खण्डकाव्य २०६०), ‘सोह्र सौगात’ (निबन्धसङ्ग्रह २०६३), समयलाई सम्बोधन’ (कवितासङ्ग्रह २०६६), ‘धर्ती र म’ (खण्डकाव्य २०७०), छन्दका सय थुँगा’ (छन्द कवितासङ्ग्रह २०७६) र विनासर्त (मुक्तकसङ्ग्रह २०७९) प्रकाशित भएका छन् । यसरी हेर्दा कविता र काव्यका साथै निबन्ध विधामा समेत उहाँको कलम चलेको देखिन आउँछ ।
साहित्यका अनेकौं भाव हुनेगरेका छन् । प्रेम, यौन, मनोविज्ञान, प्रगतिशीलता, प्रकृति, परिष्कार, स्वच्छन्दता आफूलाई मन लागेको र आपूmले आवश्यक देखेको भावलाई साहित्यकारले आफ्नो साहित्यमा समेट्ने हो । आचार्य भने अध्यात्म दर्शनलाई पहिलो प्राथमिकतामा राख्नुहुन्छ र भन्नुहुन्छ, ‘अध्यात्म दर्शनमा जानुपर्छ, अनिमात्र प्रेम कहिल्यै नमर्ने रहेछ भन्ने बोध हुन्छ, अनि प्रकृतिचित्रणतर्फ गइन्छ ।’ लेखनमा जीवन, जगत र ज्ञानको तह उच्च हुनुपर्छ भन्ने उहाँलाई लाग्छ । उहाँ किन लेख्नुहुन्छ त । प्राप्तिका आसले होइन आत्मसन्तुष्टिका लागि लेख्नुहुन्छ उहाँ तर ‘कर्मन्नेवाधिकारस्ते माफलेसु कदाचन’को दर्शनमा भने उहाँ पनि विश्वास गर्नुहुन्छ ।
उहाँले लेखनमा लागेर पहिचान बनाउनुभयो यस्तै लाग्छ उहाँलाई लेखकीय पहिचान बन्यो । प्रेमपूर्वक सम्बन्ध स्थापित भए ।
आत्मसन्तुष्टि प्राप्त भयो, साहित्यतिर नलागेको भए आफूले गर्नुपर्ने सरकारी सेवाकका प्रशासनिक कामहरू अझै राम्रो गर्नसकिन्थ्यो भन्ने चाहिँ उहाँलाई लाग्छ । यसो भन्नुको आसय साहित्यमा लाग्नाले प्रशासनिक कार्यमा बाधा पुग्यो भन्ने होइन जति गरियो त्यसभन्दा राम्रो गर्न सकिन्थ्यो भन्ने हो ।
हाल अध्ययन र फुटकर रचनाहरूको सिर्जनामा लागिरहनु भएको छ । अबका योजनामध्ये उहाँको एउटा महाकव्य लेख्नेसम्मको सोच छ तर उहाँ त्यो सोचमात्र हो त्यसका लागि तयारी चाहिँ गरेको छैन भन्नुहुन्छ उहाँ । यसका साथै छन्दकविता रचनालाई परिष्कार गर्ने योजना उहाँ बनाइरहनु भएको छ । साहित्य सिर्जनाको कार्यलाई उहाँ अत्यन्त कठिन काम हो भन्नुहुन्छ । लेखौं भनेरमात्र लेखिने होइन, लेख्न सकिने पनि होइन लेखनका लागि उपयुक्त वातावरण र विषयवस्तुको समेत आवश्यकता पर्छ । वातावरण बिथोलिनु हुँदैन । लेखनको वातावरण बिथोलियो भने पुनः त्यसको क्रम मिलाएर सिलसिलाबद्ध ढङ्गले अगाडि बढ्न सकिँदैन । वातावरण जुटाउनु मात्र पनि लेखनका लागि आधारभूमि तयार गर्नु हो ।
त्यसपछि मात्र लेखन कार्य सहजताका साथ अगाडि बढ्छ । कवि त्रिलोचन आचार्य लेखनका लागि लेख्ने मनस्तिथिलाई पनि प्राथमिकतामा राख्नुहुन्छ । घरायसी वातावरणले उहाँलाई लेखनमा बाधा पुगेको छैन भन्नुहुन्छ उहाँ । भावना बुझिदिने परिवारका सदस्यका कारण उहाँले यसरी लेखनका लागि उचित वातावरण पाउन सक्नुभएको हो ।
उहाँसँग अनेकौं अविष्मरणीय घटना छन् । तीमध्ये एउटा चाहिँ उहाँलाई सबैभन्दा अविष्मरणीय लाग्छ । ताञ्जानियामा एउठा गोष्ठी थियो । उहाँ त्यस गोेष्ठीमा भाग लिन जानुभएको थियो । आयोजकले समय मिलाएर त्यहाँको राष्ट्रिय निकुञ्ज घुमाउन लगे । त्यहाँ सिंहले जेब्रा मारेर खाएको उहाँहरूले नजिकैबाट देख्नुभयो । छाला छुट्याएर सोतो पारेको मांसपिण्ड लिकालेर खाएको सबै हेर्नुभयो । त्यसदिन बेलुका त्यस घटनालाई उहाँले कवितामा उतार्नुभयो । अङ्ग्रेजी भाषामा लेखिएको त्यो कविता उहाँले भोलिपल्ट त्यस कार्यक्रममा सुनाउनुभयो र सबैबाट प्रशंसा पाउनुभयो ।
पेशा संबद्ध कार्यक्रममा सहभागी मानिस साहित्यकार पनि पो रहेछ भनेर सबैले तारिफ गरे । त्यस कार्यक्रमका लागि एउटा पेज बनाएर राख्ने गरिएको थियो । आचार्यको उक्त कविता पनि त्यो कार्यक्रम सञ्चालन हुँदासम्म त्यस पेजमा राखियो र अन्तिमसम्म पनि हटाइएन । त्यसलाई मास्टर पिस अफ प्रोग्राम भनेर राखियो । त्यहाँको राष्ट्रियस्तरको पत्रिकामा हाँको उक्त कविता प्रकाशित भयो । उक्त क्षण उहाँलाई सबैभन्दा अवस्मरणीय लाग्छ । नगदमा ठूलो राशिको पुरस्कार पाएको भन्दा ठूलो लाग्छ उहाँलाई उक्त सन्दर्भ । यसलाई उहाँले एउटा ठूलो पुरस्कार नै मान्नुभएको छ ।
उहाँले लेखनमा लागेर जागिरलाई बाधा पुर्याउनु भएन अनि लेख्ने उत्कट अभिलासाका कारण जागिरले उहाँको लेखनलाई बाधा पु¥याएन । त्यतिमात्रै होइन उहाँले लेखनमा लागेकाले घरव्यवहारलाई बाधा पु¥याउनु भएन । ‘आफ्ना यी दैनिकीहरू पूरा गरेर बाँकी रहेको समयमा लेखियो । सुत्ने समय केही कटौती गरेर लेखनमा व्यवस्थापन गरियो’, उहाँ भन्नुहुन्छ ।
साहित्यकार त्रिलोचन आचार्य लेखनलाई पेशा मान्न तयार हुनुहुन्न । ‘लेखन पेशा होइन’ उहाँ भन्नुहुन्छ । ‘आन्तरिक प्रतिभा प्रस्फुटनको शील्प हो र या निरन्तराताको समर्पण हो’ उहाँ भन्नुहुन्छ । साहित्यलाई पेशा बनाइयो भने साहित्यको स्तर कायम हुनसक्दैन भन्ने उहाँलाई लाग्छ । उहाँ नेपालमा लेखेर बाँच्न सक्ने अवस्था अझै कायम हुन नसकेको धारणा राख्नुहुन्छ र भन्नुहुन्छ, ‘साहित्य लेखेर बाँच्न सक्ने अवस्था अझै छैन, गैरसाहित्य लेखेर चाहिँ जीविका गर्ने छन् ।’ उहाँ धेरै साहित्यिक संस्थाहरूमा संलग्न हुनुहुन्छ । कपन साहित्य समाज, साहित्य सदन नेपाल, जनमत साहित्य प्रतिष्ठान बनेपा, सुनगाभा सहित्य समाज सिन्धुपाल्चोक, सुनकोसी साहित्य प्रतिष्ठान काभ्रेपलाञ्चोक, व्यथित सिन्धुप्रतिभा सम्मान कोष, कल्पतरु द्वेमासिकको आजीवन सदस्यलगायत धेरै साहित्यिक संस्थामा उहाँको संलग्नता छ ।
वर्तमान नेपाली साहित्यका बारेमा उहाँको स्पष्ट दृष्टिकोण रहेको छ । उहाँ भन्नुहुन्छ, ‘एकथरी मानिस प्रचारप्रसारबाट माथि पुग्न खोज्ने खालका छन् । अर्काथरी चाहिँ बाहिर हल्ला गर्दैनन् । प्रचारप्रसारबाट माथि जान पनि चाहँदैनन् र निरन्तर आफ्नो लेखनमा लागिरहन्छन् ।’ प्रचारप्रसारमा लाग्नेहरूबाट गुणस्तरीय साहित्य सिर्जना हुन नसक्ने कारणाले गर्दा सहित्य नै आलोच्य बन्न जान्छ कि भन्ने भय उहाँमा छ । साहित्यिक क्षेत्रमा केही कमजोरी छन्, तिनलाई सुधार गर्न सकिन्छ । यसबारे आचार्यको धारणा यस्तो पाइयो, ‘स्तरीय साहित्यलाई प्रोत्साहन गर्नुपर्छ । सबै प्रदेश र स्थानीय सरकारले साहित्यको प्रवद्र्धन गर्नुपर्छ । साहित्यिकारका कृति किनिदिनुपर्छ, पुस्तकालय व्यवस्था हुनुपर्छ । साहित्यिक संघसंस्था राजनीतिबाट अलग रहनुपर्दछ । यसका लागि आवश्यक कानुनको व्यवस्था गरिनुपर्छ ।’
आचार्य सरकारी कर्मचारी त्यसमा पनि उहाँको अध्ययन र जागिर साहित्य क्षेत्रभन्दा पृथक । तैपनि उहाँ साहित्यमा लाग्नुभयो र आफ्नो उचाइ बढाउनुभयो । साहित्यमा लागेर आफू केही अगाडि बढेको अनुभूति उहाँलाई भएको छ । यो सबैलाई लाग्ने कुरा हो । उहाँलाई पनि यस्तै लाग्छ । उहाँलाई साहित्य र जागिरले एकअर्कालाई बाधा पुर्याएको जस्तो लाग्दैन । बरू एक अर्कालाई सहयोग पुर्याएको ठान्नुहुन्छ । यी दुई क्षेत्र अन्तर्सम्बन्धित, सहयोगी र परिपूरक भएको जस्तो उहाँलाई लाग्छ । साहित्यकार भएकोमा उहाँलाई गौरव लाग्छ र आफू गौरवान्वित भएको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘यो अत्यन्त असल बाटो हो । यस बाटामा लागेर निरन्तर अगाडि बढ्न र साहित्यले गरेको पदप्रदर्शबाट लाभान्वित बन्न पाउँदा म हर्षित छु ।’ जीवनको साठी निकटको वयसन्धिमा हुनुहुन्छ आचार्य । यसलाई एउटा लामै यात्रा मान्नुपर्छ । पछाडि फर्किएर हेर्दा चाहिँ कहाँ आइपुगेको पाउनुहुन्छ ? भनेर सोध्दा उहाँ भन्नुहुन्छ, ‘साहित्यिक हिसाबले धेरै अगाडि पुगेको छैन । लेखन यात्राको मध्यतिर छु म तर अब पछिल्लो यात्रा चाहिँ यसभन्दा फराकिलोे भएर जानुपर्छ भन्ने लाग्छ ।’
वर्तमान नेपाली साहित्यिक बजारमा साहित्यको गुणस्तर खस्किँदै गएको र सङ्ख्यात्मक वृद्धि चाहिँ भइरहेको जस्तो देखिन्छ उहाँलाई पनि यसतर्फ ध्यानाकर्षण गर्दा उहाँ यस्तै आसयको विचार व्यक्त गर्नुहुन्छ । ‘पक्कै हो । हतारमा परिष्कृत नभएका रचना प्रकाशित गर्ने, सामान्य रचना जम्मा गरेर ठूलो रूप दिने गरिन्छ ।’ उहाँले लामो समय सरकारी सेवा गर्नुभयो । इमानदार कर्मचारी बनेर उच्च पदमा पनि पुग्नुभयो । साहित्यबाट पनि एउटा उचाइ कायम गर्नुभयो ।
यसबापत उहाँले धेरै मानसम्मान र पुरस्कारहरू पनि पाउनुभयो । उहाँ २०५३ सालमा सिन्धुमिलन कविता प्रतियोगितामा प्रथम हुनुभयो भने निजामती कर्मचारी निबन्ध र कविता प्रतियोगितामा पनि पुरस्कृत हुनुभयो । यसैगरी उहाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको साहित्यिक कार्यक्रमबाट भानुभक्त काव्य पुरस्कार प्राप्त गर्नुभयो । उहाँले २०७३ सालको राष्ट्रिय कविता महोत्सवमा तृतीय पुस्कार प्राप्त गर्नुभयो । २०७७ सालमा संस्कृति मन्त्रालयले आयोजना गरेको प्रतियोगितामा सहभागी भई उहाँले एक लाख रुपैयाँ राशिको महाकवि देवकोटा पुरस्कार प्राप्त गर्नुभयो । यी सबैबाट कवि त्रिलोचन आचार्यको साहित्यप्रतिको समर्पण प्रष्ट हुन्छ ।
हालका दिनहरूमा आफ्नो पहुँच पुर्याएर पुरस्कार लिन चाहनेहरूका कारण सही किसिमले पाउनेहरू प्रति पनि त्यसरी नै पाएका होलान् भन्ने सोच राखिन्छ । कतिपय ठाउँमा चाहिँ केही किृतिका कारण पुरस्कारको गरिमा घटेको छ भन्ने धारणा कवि आचार्यको पनि रहेको छ । उहाँ सहसचिव पदमा पुगेर हालै सेवानिवृत्त बन्नुभएको छ । नायव महालेखा परीक्षक अर्थात् यो पद राजपात्राङ्कित प्रथम श्रेणी हो । उहाँको सेवा जनतासँग सिधैँ जोडिनुपर्ने खालको होइन । जनसम्पर्क हुने ठाउँहरूका केही कर्मचारीहरूका कारण निजामती सेवा क्षेत्र केही आलोच्य बनिरहेको छ ।
सामाजलाई ज्ञान आर्जन हुने खालका सिर्जना गर्नुपर्छ भन्ने उहाँको मान्यता छ । विकृति र विसङ्गतिप्रति औंला ठड्याउने काम साहित्यकारको हो । साहित्यकार सधैँ प्रतिपक्षी हो । त्यसैले जुनसुकै क्षेत्रका विसङ्गतिविरुद्ध सबैभन्दा पहिले प्रतिक्रिया साहित्यकारहरूबाट आउनुपर्छ ।
यससम्बन्धी उहाँको धारणा यस्तो रहृयो, ‘निजामती प्रशासन चाहिँ सरकारको स्थायी सरकार हो । नदेखिने आन्तरिक पाटो बढी र जनतासँग सम्पर्क हुने बाहृय पाटा कम छन् । जनतासँग जोडिएर काम गर्ने केही मानिसहरूले आलोचना हुने काम गरे भने सिङ्गो निजामती प्रशासन आक्षेपित हुन्छ । वर्तमान पारदर्शी समाजमा सानो कमीकमजोरी पनि प्रकाशमा आउने हुँदा आलोचनाका पाटाहरू बढिरहेका छन् । यिनम सुधार गर्नुपर्छ । निजामती प्रशासनमा देखिएका विकृति विसङ्गतिलाई निजामती प्रशासनमा व्यवस्था भएबमोजिम आचरणमा कडाइ गर्नुपर्छ ।’
समाजका बहुसङ्ख्यक मानिसलाई नैतिक शिक्षाको आवश्यकता छ भन्ने उहाँलाई लाग्छ । निजामती प्रशासनमा राम्रा काम गर्ने राम्रो विचार भएका राम्रा मान्छे पनि छन् । तिनकै कारण निजामती सेवाको गरिमा र आकर्षण कायम रहन सकेको छ । यो सेवा वास्तवमा राम्रा काम गर्नकै लागि स्थापना गरिएको हो, कर्मचारी पनि राम्रा काम गर्नकै लागि राखिएका हुन् । तिनले आफ्ना दायित्वका काम गर्दा चर्चा गरिएन चुकेकाको कुरामात्र चर्चामा आए । कर राजस्वको उल्लङ्घन सम्झिइयो । त्यसैले यसको आलोचना भएको हो भन्ने उहाँलाई लाग्छ ।
उहाँले निजामती कर्मचारीबाट साहित्य सिर्जना गरी पुरस्कृत, सम्मानित भएको र सेवा र लेखनबाट आफू प्रोत्साहित भएरहेको आभास गर्नुभएको छ । २०७७ सालमा कर्मचारीबाट जनसेवाश्री तृतीय पदक महामहिम राष्ट्रपतिबाट प्राप्त गरेको क्षणको सम्झना गर्न चाहनुहुन्छ । उहाँका ‘समयलाई सम्बोधन’ कवितासङ्ग्रह, ‘धर्ती र म’ खण्डकाव्यको स्नातक र स्नातकोत्तर तहमा शोध भएको छ । ‘त्रिलोचन आचार्य : व्यक्तित्व र कृतित्व’ शीर्षकमा पनि स्नातकोत्तर तहमा शोध गरिएको छ, यी सबै कार्य उहाँको सफलता र आत्मसन्तुष्टिमै पर्छन् ।
आफूभन्दा अनुज पुस्तालाई केही सल्लाह र सुझाब दिनुनुहुन्छ । साधनामा निरन्तर लागिरहनुपर्छ । अध्ययन र लेखन भनेको लागिरहनुपर्ने काम हो । भावना स्वतन्त्र रूपमा प्रस्तुत गनुपर्ने माध्यम हो उहाँ भन्नुहुन्छ । आफूले रचना गरेपछि त्यसलाई के के न गरेँ भन्नुभन्दा त्यसको मूल्याङ्कन गर्न समाजलाई छोडिदिनुपर्छ वा पाठकले नै मूल्याङ्कन गरुन् भनेर छोडिदिनुपर्छ, त्यसको नतिजा वा प्रतिक्रियाको प्रतीक्षा गर्नुपर्छ । आफ्नो रचनाका माध्यमबाट प्रभाव पारेर मान्यता र परस्कार खोज्नेतिर लाग्नुहुँदैन भन्ने सुझाब छ । वास्तविकता, राष्ट्रियता, प्रेम, र प्रकृति चित्रणतिर ध्यान दिनुपर्छ ।
उहाँको विचारमा सामाजलाई ज्ञानार्जन हुनेखालका सिर्जना गर्नुपर्छ भन्ने उहाँको मान्यता छ । विकृति, विसङ्गतिप्रति औंला ठड्याउने काम साहित्यकारको हो । साहित्यकार सधैँ प्रतिपक्षी हो । त्यसैले जुनसुकै क्षेत्रका विसङ्गतिविरुद्ध सबैभन्दा पहिले प्रतिक्रिया साहित्यकारहरूबाट आउनुपर्छ । साहित्यकारले यही जिम्मेवारी पूरा गर्नुपर्छ ।
त्रिलोचन आचार्य सरकारी सेवाबाट भरखरै सेवानिवृत्त हुनुभएको छ अर्थात् सेवा निवृत्तको उमेर निजामती सेवा नियमावलीले ५८ वर्ष तोकेको छ । यस अर्थमा उहाँको लामो जीवन अझै सिर्जनमय बन्ने अपेक्षा गर्नु अस्वाभाविक होइन । बरू जागिरलाई दिइने समयसमेत अबका दिनहरूमा सिर्जनामै लाग्ने विश्वास गर्न सकिन्छ । आचार्यको लेखन अझै माझिएर जाओस् र अनेकौं कृति सिर्जना हुन सकून् । साहित्यकार त्रिलोचन आचार्यलाई हार्दिक शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच