स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा सुधारका घेषणा र प्रयासहरू गर्नुभएको छ । उहाँबाट केही नयाँ घोषणा भएका छन् । प्रदीप पौडेल युवा मन्त्रीहरूमध्येको एक हुनुहुन्छ र उहाँमा केही गरौं भन्ने भावना पाइन्छ । त्यसको पुष्टि उहाँले गर्नुभएका केही प्रयासबाट भएको छ । नेपाली कांग्रेस पार्टीकै अर्का प्रभावशाली नेता जो हाल पार्टीको महामन्त्रीसमेत हुनुहुन्छ गगन थापा उहाँले आफू स्वास्थ्य मन्त्री भएका बेला स्वास्थ्य बीमाको थालनी गर्नुभएको थियो, त्यसैगरी उहाँका उत्तराधिकारी जस्तो बनेर स्वास्थ्य मन्त्री बन्न पुग्नुभएका नेता पौडेलले पनि सोही पद चिहृनलाई पच्छ्याउँदै हुनुहुन्छ । दुबै एउटै पार्टीका र दुबैको जिम्मेवारीमा स्वास्थ्य मन्त्रालय परेको छ । प्रयासहरू पनि समान खालका छन् ।
स्वास्थ्य बीमाको महत्व त्यसबेला नागरिकहरूले राम्ररी बुझेका थिएनन् । सबैले बीमा गरे पनि त्यसको लाभ बीमा गर्ने सबैले लिन नसक्ने भएको हुँदा यसलाई आवश्यकीय र उपयोगी मान्न सकेका थिएनन् । यो अरूका लागि गरिदिएको जस्तो देखिन्थ्यो । बिरामी नपरेका व्यक्तिहरूले अर्कालाई बीमा गरिदिएको र यसका लागि आफ्नो पैसा खर्च भएको ठान्ने गरेका थिए तर जो बिरामी पर्छ त्यसले यसको महत्व बुझ्ने गरेका छन् । थोरै पैसा तिरेर बीमा गर्नाले त्यसबाट धेरै लाभ लिन सकिने खालको व्यवस्था हो यो । विरोधी र विपक्षीहरूले जति नै विरोध गरे पनि बीमा प्रणाली नागरिकहरूका लागि उपयोगी भएको तथ्य त्यसपछिका दिनमा पुष्टि हुँदै आएको छ ।
नेता र नेतृत्वको विरोध हुनु अस्वाभाविक होइन । हालका दिनमा रास्वपाका सभापति रवि लामिछाने पक्राउ पर्नु भएपछिको विरोध प्रदर्शनहरूमा सबैभन्दा विरोध प्रधानमन्त्री केपी शर्मा ओलीकै भइरहेको छ । पोखरामा भएको खुकुरी प्रदर्शन र उहाँका विरुद्धका नाराहरू सामान्य होइनन् तर त्यसलाई राजनीति गर्नेहरूले सामान्य मान्नुपर्छ । त्यसरी नै गगन थापा पनि बढी नै विरोध हुने नेतामा पर्नुहुन्छ । हालका दिनसम्ममा वर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेलको विरोध भएको सुन्नमा आएको छैन । पूर्ववर्ती केही युवा मन्त्रीहरूमा भएको केही गर्ने हुटहुटी र प्रयास जस्तै उहाँबाट पनि त्यस्ता प्रयास हुँदै आएका छन् । जसबाट राम्रा कामहरूको सुरुवात गरिन्छ तिनको प्रशंसा र नराम्रा काम गर्नेहरूको आलोचना हुनु स्वाभाविक हुन्छ ।
यही क्रममा वर्तमान स्वास्थ्य मन्त्रीबाट पनि यस्ता केही प्रयास भएका छन् । अस्पतालमा एक पटक बिग्रिएका कुनै पनि उपकरण फेरि मर्मत गर्ने गरिँदैन । यो अस्पतालको मात्र प्रवृत्ति होइन सम्पूर्ण सरकारी कार्यलयहरूकै साझा प्रवृत्ति हो । उपकरणहरू बिग्रिएपछि त्यसको मर्मत गर्नुभन्दा नयाँ किन्दा त्यहाँका उच्चपदमा बसेका जिम्मेवार व्यक्तिहरूले बढी कमिसन खान पाउने भएका कारण नयाँ किन्नमै तिनको जोडबल रहने गर्छ । यस्तो गलत परम्परा विकसित भइरहेको अवस्थामा स्वास्थ्य मन्त्री पौडेलले त्यस्ता पुराना उपकरणहरूको मर्मत सम्भार गरेर प्रयोग गर्न निर्देशन दिनुभएको छ भने त्यसको जिम्मा राष्ट्रिय आविस्कार केन्द्रलाई दिने निर्णय हुनु आफैंमा सकारात्मक त छँदैछ । साथसाथै एक साथ दुईवटा काम हुनेभएका छन् ।
एकातिर त्यसरी बन्ने सम्भावना भएका उपकरणहरू थोत्रिएर रहनुपर्ने अवस्था अब बाँकी रहँदैन भने अर्कातिर राष्ट्रिय आविस्कार केन्द्रप्रतिको विश्वास पनि बढ्न जान्छ । वर्षौंदेखि थन्किएका उपकरण राष्ट्रिय आविस्कार केन्द्रका प्राविधिकहरूले तुरुन्तै बनाइदिएका समाचारहरू सार्वजनिक भइरहेका छन् । कर्मवीर र सम्पूर्ण सुखसुविधा त्यागेर आविस्कार केन्द्रलाई सम्पूर्ण समय दिँदै आएका र केही गर्न सकिन्छ भन्ने मान्यता राखेर अगाडि बढिरहनुभएका महावीर पुन जस्ता व्यक्तिप्रतिको विश्वास हो । यसबाट कमिसनको गिद्देदृष्टि दिने परम्परा तोडिने कुरामा विश्वस्त बन्न सकिन्छ ।
संघीय अस्पतालमा दुई सिफ्टमा ओपिडी सञ्चालन गर्नुपर्ने, सातै प्रदेशमा क्यान्सर उपचार सुरु गरिने, १४ वर्षमुनिका बालबालिको क्यान्सरको उपचार निःशुल्क गरिने १६ लाख किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप उपलब्ध गराइने, राष्ट्रिय खेलाडीहरूको निःशुल्क स्वास्थ्य परीक्षणको व्यववस्था मिलाइने जस्ता अनेकौं स्वास्थ्य प्रबन्ध मिलाउने काम हुने भएको छ ।
यसका साथै सातै प्रदेशमा जलनको उपचार निःशुल्क गरिने र मृत्युपश्चात अंग दान गर्नेको परिवारलाई दुई लाख दिने जस्ता निर्णय भएका छन् । स्वास्थ्य क्षेत्रमा भएका यस्ता निर्णय अत्यन्त सकारात्मक छन् । मानिसको मृत्युपछि अन्तिम संस्कारसँग खेरजाने अंगहरूबाट अन्य धेरै मानिसलाई सबलांग बनाउन सकिने विज्ञानको वरदानलाई निरुत्साहित गर्नुभन्दा त्यसबाट अन्य व्यक्तिहरूलाई सहयोग पु¥याउनु बुद्धिमत्ता हो । यही मान्यताबाट स्वास्थ्य मन्त्रालयले हालै केही सुधारका प्रयास गरेको छ । यसमा वर्तमान स्वास्थ्य मन्त्री पौडेलको महत्वपूर्ण भूमिका रहेने नै भयो ।
यसमा जसजसको संलग्नता र योगदान रहेको छ निश्चिय पनि उहाँहरू सबै धन्यवादका पात्र हुनुहुन्छ । स्वास्थ्य नै धन हो भनिन्छ । मानिसको स्वास्थ्यमै समस्या भएका खण्डमा उसको मनोविज्ञान कमजोर हुनेमात्र होइन धनको समेत खर्च हुनजान्छ । पछिल्लो समयमा शिक्षा, स्वास्थ्य जस्ता कुरालाई नागरिकहरूको मौलिक हक र आधारभूत विषयभित्र समेटिएको छ । अमूल्य कुराको अधिकारको उपभोग गर्न नगरिकहरूले पाउनुपर्ने हुन्छ । हाम्रामा सिद्धान्तमा धेरै कुरा पारित गरिने तर व्यवहारमा तिनको प्राप्ति कम हुनेगरेको अवस्थामा स्वास्थ्य मन्त्रालयबाट भएका यस्ता निर्णयहरूको सक्रियताका साथ कार्यान्वयनको अपेक्षा पनि जनस्तरबाट गरिने नै छ, त्यो भोलि देखिने परिणाम हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच