काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका कांग्रेसले क्लिनस्विप गरेको छ । दुई वडाध्यक्षसँगै मेयर पदका उम्मेदवार कांग्रेसका कृष्णमान डंगोलले जित हात पार्नुभएको छ । एमालेले तेस्रो स्थानमा चित्त बुझाउनुपरेको छ । दोस्रो स्थानमा माओवादी उक्लिएको छ ।
कीर्तिपुरको मेयर पदका लागि एमालेका सुरेन्द्र मानन्धर र माओवादीका शिवशरण महर्जन प्रतिस्पर्धामा हुनुहुन्थ्यो । यस्तै, स्वतन्त्र उम्मेदवार राजमान महर्जन हुनुहुन्थ्यो । कांग्रेसका कृष्णमानले पाँच हजार ३३४ मत ल्याउँदा माओवादीका शिवशरण महर्जनले चार हजार ५५५ मत प्राप्त गर्नुभएको छ । एमालेका सुरेन्द्रले चार हजार ३३७ मत मात्र पाउनुभयो ।
२०७९ को निर्वाचनमा कीर्तिपुर नगरपालिका प्रमुखमा कांग्रेसकै राजकुमार नकर्मी नौ हजार ४३ मत पाएर विजयी हुनुभएको थियो । एमालेका केशरत्न बज्राचार्यले त्यतिखेर पाँच हजार ५०७ मत ल्याउनुभएको थियो । कांग्रेस र एमालेका दुवै उम्मेदवारले पहिलाको तुलनामा अहिले कम मत पाएका छन् । अघिल्लो चुनावमा माओवादीका शिवशरण महर्जन नै उम्मेदवार हुनुहुन्थयो र उहाँले चार हजार ९० मत पाउनुभएको थियो । अहिले उहाँले जित हासिल गर्न नसके पनि मत संख्या बढाउनुभएको छ र एमाले उम्मेदवारलाई उछिन्नुभएको छ ।
दुवै वडाध्यक्षमा कांग्रेस
काठमाडौंको कीर्तिपुर नगरपालिका-१ मा कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मत पाई निर्वाचित हुनुभभयो भने एमालेका हर्ष महर्जनले ४९८ मत मात्रै पाउनुभयो । अघिल्लो चुनावमा यस वडामा कांग्रेसका हीरालाल महर्जन निर्वाचित हुनुभएको थियो । त्यतिखेर एमालेका हर्ष महर्जन नै उहाँसँग पराजित हुनुभएको थियो । कीर्तिपुरकै वडा नं ४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी हुनुभएको छ । उहाँले ७४२ मत पाउँदा स्वतन्त्र उम्मेदवार पविता खड्का (अधिकारी) ले ४९५ मत पाउनुभयो । अघिल्लो चुनावमा यस वडाको अध्यक्षमा श्यामकुमार अधिकारी स्वतन्त्र उम्मेदवारका रूपमा विजयी हुनुभएको थियो । उहाँले एक हजार ३८० मत पाउनुभएको थियो । त्यतिखेर कांग्रेसका राजेन्द्र बानियाँ दोस्रो स्थानमा हुनुहुन्थ्यो । उहाँले एक हजार ५७ मत पाउनुभएको थियो भने एमालेका ईश्वरकुमार बाँस्कोटाले जम्मा २३६ मत पाउनुभएको थियो ।
माओवादीको अप्रत्याशित जित
आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले अप्रत्याशित परिणाम ल्याएको छ । दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि विपक्षी कित्तामा पुगेको माओवादी केन्द्र यो निर्वाचनको नतिजाले हौसिएको छ । आधार इलाका मानिने रोल्पा, रुकुम र जाजरकोटका केही वडा गुमाएको माओवादीले कांग्रेसको गढ मानिने मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जितेको छ । स्थानीय तह निर्वाचन–२०७९ मा विजय हासिल गरेका अधिकांश वडाको नेतृत्व गुमाए पनि अन्य पार्टीले जितेका वडा खोसेर माओवादी केन्द्रले आफ्नो सिट संख्या कायम राख्न सफल भएको छ । ४१ स्थानमा भएको उपनिर्वाचनमा कांग्रेस–एमाले नै प्रतिस्पर्धी हुने अनुमान गरिए पनि माओवादी केन्द्र सशक्त ढंगले अगाडि आएको देखिएको छ । यो परिणामले ०६४ साल दोहोरिने भन्दै माओवादी वृत्तमा खुसियाली छाएको छ ।
२०७९ सालको निर्वाचनमा कांग्रेसले शानदार ढंगले जितेको मोरङको ग्रामथान गाउँपालिकामा उपनिर्वाचनबाट परिणाम उल्ट्याएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वबाट ०६४ साल फर्किएको दाबी गर्नुभएको छ । आफ्ना पार्टीका उम्मेदवार नमोनारायण माझी कांग्रेसभन्दा १६३६ मतको अन्तरले विजयी भएपछि उत्साहित हुनुभएका प्रचण्डले टेलिफोनमार्फत गरेको कुराकारीबारे जानकारी दिँदै सोही क्षेत्रका माओवादीका सांसद अमनलाल मोदीले भन्नुभयो, ‘अध्यक्षले बधाई दिनुभयो । ०६४ पूर्वबाट फर्कियो भन्नुभएको छ । जनता कसैको ठेक्का होइन । यो कुरा कांग्रेस–एमालेले पनि बुझ्नुपर्छ ।’
उपनिर्वाचनले माओवादीलाई फाइदा
नेकपा माओवादी केन्द्रलाई उपनिर्वाचनबाट फाइदा भएको छ । माओवादीले कांग्रेसको गढ मानिने मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जितेको छ । त्यस्तै, जाजरकोटको नलगाढ नगरपालिका उपमेयर पनि जितेको छ । माओवादीले यसअघि कांग्रेस र एमालेले जितेका केही वडामा जित निकालेर ६ वडाध्यक्षसहित अहिलेसम्मको परिणाममा एमालेभन्दा एक वडा बढी जितेको छ । यसअघि माओवादीले जितेका ६ वडामा उपनिर्वाचन भएको थियो । माओवादीले यसपटक आफूले जितेका चार वडा गुमाउँदा कांग्रेस र एमालेले जितेका पाँच वडा खोस्न सफल भएको छ । यस हिसाबले माओवादीलाई उपनिर्वाचनले घाटाभन्दा फाइदा नै देखिएको छ । माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले उपनिर्वाचनको परिणामलाई समग्रमा हेर्दा माओवादीको उकालो यात्रा सुरु भएको देखाएको दाबी गर्दै भन्नुभयो, ‘यो निर्वाचनले राम्रो संकेत देखिएको समग्रमा हेर्दा, हाम्रो विस्तारै उकालो यात्रा सुरु भएको यो परिणामले देखिएको छ । हामी ४४ क्षेत्रमा उपनिर्वाचनको अन्तिम नतिजा आउँदासम्म दोस्रो हुने त सुनिश्चित भइसक्यो ।’
कांग्रेसले जित जोगाउन सकेन
नेपाली कांग्रेसले उपनिर्वाचनमा स्थानीय तह निर्वाचन २०७९ मा जितेका स्थानसमेत जोगाउन असफल भएको छ । कांग्रेसले यसअघि जितेका दुई गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र एक नगरपालिका उपमेयर जितेको ठाउँमा यसपटक गुमाएको छ । २०७९ मा जितेमध्ये कांग्रेसले मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष गुमाएको छ । त्यस्तै, दैलेखको महाबु गाउँपालिका अध्यक्षसमेत गुमाएको कांग्रेसले जाजरकोटको नलगाढ नगरपालिका उपमेयर र बाजुराको स्वामीकार्तिक गाउँपालिका उपाध्यक्ष पनि गुमाएको छ । वडातर्फ पनि कांग्रेसले जितेका १९ वडामा उपनिर्वाचन भएको थियो । तर, कांग्रेसले जम्मा १८ स्थान जितेको छ । उपचुनाव भएका ४४ मध्ये कांग्रेसले जितेको २७ स्थानमा रिक्त भएको थियो । उपचुनाव भएका क्षेत्रहरूमा यसअघि माओवादीले जितेका आठ र एमालेले जितेका सात स्थान रिक्त थिए । पछिल्लो परिणाममा एमालेले आठ पदमा र माओवादीले सात स्थानमा जित निकालेका छन् । जाजरकोटको नलगाडको उपमेयर पनि कांग्रेसले गुमाएको छ । यसअघि कांग्रेसले जितेको दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पनि कांग्रेसले गुमाएको छ । काठमाडौं महानगरपालिका-१६ पनि कांग्रेसले गुमाएको छ । स्थानीय तह निर्वाचन २०७९ मा जितेको वडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठले विजयी भएकी छन् । उपनिर्वाचनको नतिजामा असन्तुष्टि जनाउँदै कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भन्नुभयो,‘४४ मध्ये २१÷२२ क्षेत्रमा जित्ने स्थिति थियो, कतिपय हामीले जितेका ठाउँमा हारेका छौँ, कतिपय हारेका ठाउँमा जितेका छौँ । हामीले ७० प्रतिशत जित आफ्नो पक्षमा पार्छौँ भन्ने थियो । हामी पूर्णरूपमा सन्तुष्ट छैनौँ ।’
वडाध्यक्षमा एमालेको कमजोर प्रदर्शन
नेकपा एमालेले स्थानीय तह उपनिर्वाचनमा एउटा गाउँपालिका अध्यक्ष र एक उपाध्यक्ष बोनस जित निकाल्दा केही वडा गुमाएको छ । अध्यक्ष र उपाध्यक्ष एक÷एक पद थप्दा वडातर्फ भने एमालेको प्रदर्शन कमजोर देखिएको छ । एमालेले महाबु गाउँपालिका अध्यक्ष र स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष जितेको छ । एमालेले यसअघि जितेका सात वडामा उपचुनाव भएको थियो । तर, एमालेले उपचुनावमा पाँच वडाध्यक्ष मात्र जितेको छ । सिट संख्याको आधारमा उपनिर्वाचनको नतिजाबारे विश्लेषण गर्न नहुने तर्क गर्दै एमालेका सचिव गोकर्ण विष्टले भन्नुभयो, ‘अहिलेसम्म निर्वाचनमा परिणाम आएको क्षेत्रको सिट संख्या हेरेर मात्रै हुँदैन । खसेको मतको पार्टीलाई कति प्राप्त भएको छ ? भन्ने अध्ययन गरेर मात्रै पार्टीले विश्लेषण गर्छ ।’ माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पनि रौतहटको गढीमाई नरपालिका रौतहटमा एउटा वडाध्यक्ष जितेर बिउ जोगाएको छ । जसपा नेपालले सप्तरीको डाक्नेश्वरी १ र ४ को गरी दुई वडाध्यक्ष जितेको छ । नेमकिपाले कालिकोटको तिलागुफा-४ मा एउटा वडाध्यक्ष जित्न सफल हुँदा झापा कन्काई-६ स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओलीले जित हात पारेका छन् ।
रास्वपालाई सान्त्वना
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं-१६ मा जित हात पारेर स्थानीय तहमा खाता खोलेको छ । पार्टी सभापति रवि लामिछानेको गिरफ्तारीलाई लिएर पार्टीका आन्तरिक गतिविधिहरू ठप्प जस्तै भएको बेला हासिल गरेको जितले रास्वपा उत्साही देखिएको छ । सभापति लामिछानेको गिरफ्तारी र पार्टीप्रति सबैतिरबाट आक्रमण भइरहेका बेला काठमाडौं-१६ को नतिजाले सिंगो पार्टी पंक्तिलाई सान्त्वना मिलेको रास्वपाले जनाएको छ । स्थानीय तह निर्वाचनको पहिलो इन्ट्रीमै काठमाडौंको महत्वपूर्ण वडामा भएको जितलाई रास्वपा नेताहरूले अर्थपूर्ण भनेका छन् । रास्वपा उम्मेदवार श्रेष्ठले २९०२ मत ल्याइन् । एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० र कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत ल्याए । २०७९ सालको निर्वाचनमा कांग्रेस उम्मेदवार मुकुन्द रिजाल निर्वाचित हुनुभएको थियो ।
ग्रामथानमा हारलगत्तै कांग्रेसमा किचलो सुरु
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा हारलगत्तै कोशी कांग्रेसमा किचलो सुरु भएको छ । कांग्रेसको प्रदेश सम्मेलनलाई प्रभावित पार्न डा. शेखर कोइराला पक्षले समानान्तर भेला गर्ने भएपछि कोशी कांग्रेसमा किचलो देखिएको हो । उपनिर्वाचनको नतिजा धमाधम आइरहँदा कांग्रेस कोशीभित्र गुटगत गतिविधि र असन्तोष देखिएको हो । पार्टीको संस्थापन र संस्थापन इतर पक्षबीचको टकरावबीच केही दिनको फरकमा विराटनगरमा दुई ठूला भेला हुँदै छन् । कांग्रेस कोशी प्रदेश कार्यसमितिले मंसिर २२ मा पहिलो प्रदेश सम्मेलन गर्ने तयारीमा जुटेको छ । पार्टी सभापति शेरबहादुर देउवासहितका पदाधिकारीलाई उपस्थित गराएर सम्मेलन गर्ने तयारी अन्तिम चरणमा पुगेका बेला डा. कोइराला पक्षले विराटनगरमै मंसिर १८ गते अर्को भेला गर्दै छ । कोइराला पक्षको भेलालाई रोक्न केन्द्रीय कार्यालयले कोशी प्रदेशमा सर्कुलर पठाएको छ । जसकारण कांग्रेस कोशीभित्रको गुटगत विवाद छताछुल्ल हुन पुगेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच