काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइरहँदा नेता डा. शेखर कोइराला भने पार्टी संस्थापनलाई चुनौती दिँदै १५औँ महाधिवेशनको तयारीमा हुनुहुन्छ । यसबाट कांग्रेसमा दुई धारबीचको विवाद प्रष्ट रूपमा देखिएको छ । सभापति देउवाले मंसिर २४ गते सोमबार बिहान ९ बजे बूढानीलकण्ठस्थित निवासमा बस्नेगरी कार्यसम्पादन समिति बैठक बोलाउनुभएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको हो । केन्द्रीय कार्यसम्पादन समिति बैठकमा मंसिर १६ मा भएको स्थानीय तह उपनिर्वाचन समीक्षा र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।
कार्यसम्पादन समिति बैठक आहृवान गर्नुअघि कांग्रेसले मंसिर २२ गतेको प्रदेश सम्मेलन अगाडि कुनै कार्यक्रम नराखिएको सर्कुलर सभापतिहरूलाई पठाएको थियो । तर, शेखर समूहले कोशी प्रदेशस्तरीय पालिका सभापतिहरूको कार्यक्रम राखेरै छाड्यो । विरोधबीच गत बुधबार कार्यक्रम समापन पनि ग¥यो । शेखर समूहले ‘प्रथम ऐतिहासिक कोशी प्रदेशस्तरीय पालिका सभापति प्रशिक्षण कार्यक्रम-२०८१’ गरेको हो । त्यहाँ कोशी प्रदेशका १३७ पालिका सभापति तथा देशका महानगर सभापतिहरूलाई बोलाइएको थियो ।
भेलाको आयोजक मोरङका १७ पालिका समिति भनिएको थियो । यसबाट शेखर समूहले प्रदेश सम्मेलन अगाडि नै १५औँ महाधिवेशनको तयारीमा जुटेको सन्देश दिएको छ । इतर पक्ष भए पनि पार्टी नेतृत्वकै शैलीमा प्रशिक्षण कार्यक्रम राखिएको हो । कार्यक्रमलाई डा.शेखर कोइरालाले सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा शेखरले महाधिवेशन समयमा गर्नेगरी संस्थापनले तयारी नगरेको भन्दै चर्को आलोचना गर्नुभयो । नेतृत्वले समयमै महाधिवेशन नगर्ने रणनीति बनाएको दाबी गर्नुभएका कोइरालाले भेलालाई सम्बोधन गर्दै भन्नुभएको थियो, ‘नियमित हिसाबले २०८३ मंसिरमा महाधिवेशन हुनुपर्छ । अहिलेसम्मका गतिविधिले महाधिवेशन हुनेमा आशंका छ । क्रियाशील सदस्यताको विषयमा भइरहेको अलमलले नै महाधिवेशन समयमा हुँदैन भन्ने देखाएको छ ।’ शेखरले पार्टी संस्थापनले कार्यक्रम नराख्न गरेको सर्कुलरलाई धम्कीको संज्ञासमेत दिनुभएको थियो ।
यता, कांग्रेसले बोलाएको कार्यसम्पादन समिति बैठकमा स्थानीय तह उपनिर्वाचनको समीक्षा, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको बिआरआई फ्रेमवर्क सम्झौताबारे विशेष छलफल हुने बताइएको छ । सोही कार्यसम्पादन समिति बैठकबाट बिआरआई फ्रेमवर्क सम्झौताबारे पार्टीको आधिकारिक धारणा तय गरिने एक पदाधिकारीले जानकारी दिएका छन् । केन्द्रीय समिति बस्न नसक्ने अवस्थामा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक राख्ने गर्छ । कार्यसम्पादन समितिले गरेका निर्णयहरू केन्द्रीय समितिले अनुमोदन गर्नेपर्ने पार्टी विधानमा उल्लेख छ । कार्यसम्पादन समितिमा वर्तमान पदाधिकारी, पूर्वपदाधिकारी र सभापतिले मनोनित गरेका केही केन्द्रीय सदस्यहरू छन् ।
पार्टी उत्तराधिकारीबारे देउवाको जवाफ- ‘उत्तराधिकारी घोषणा गरेर कहाँ हुन्छ ?’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा उत्तराधिकारी आफूले घोषणा गरेर नहुने स्पष्ट पार्नुभएको छ । कोशी प्रदेश सम्मेलनका लागि विराटनगर पुग्नुभएका सभापति देउवाले तपाईंको उत्तराधिकारी गगन थापा हो ? भनी पत्रकारले सोधेको प्रश्नमा भन्नुभयो, ‘उत्तराधिकारी कहाँ घोषणा गरेर हुन्छ ? तपाईंहरू जहाँ पायो, त्यहीँ घोषणा गर्नुहुन्छ, त्यसो नगर्नुस् ।’ उहाँले संविधान संशोधनको काम अगाडि बढिरहेको जानकारी दिँदै राजनीतिक दलहरूबीच सहमतिका आधारमा मात्र संविधान संशोधन गरिने स्पष्ट पार्नुभयो । संविधान संशोधनको प्रसंगमा सभापति देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन गर्न सकिने उल्लेख गर्दै भन्नुभयो, ‘उपराष्ट्रपतिको भूमिका छैन । उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिन्छ कि भन्ने कुरा हो ।’
नेता शेखर कोइराला पक्षले विराटनगरमा गरेको भेलाका बारेमा सोधिएको प्रश्नमा देउवाले आफूलाई जानकारी नभएको प्रतिक्रिया दिनुभयो । पार्टीको १५औँ महाधिवेशन समयमै हुने दाबी गर्दै देउवाले भन्नुभयो, ‘महाधिवेशन तोकिएकै समयमा हुन्छ । यो विषयमा अनावश्यक हल्ला गर्नु आवश्यक छैन ।’ गृहमन्त्रीसमेत रहनुभएका कांग्रेस नेता रमेश लेखकले वर्तमान सत्ता गठबन्धन २०८४ सालसम्मै कायम रहने दाबी गर्नुभयो ।
बिआरआई सम्झौताबारे देउवाले गरे ओलीको प्रशंसा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) फ्रेमवर्कमा हस्ताक्षर गराएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिनुभएको छ । सभापति देउवाले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बिआरआईमा ऋण नलिने गरी सम्झौता भएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिनुभएको हो । सुनसरीको धरान जाने क्रममा शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूलाई बधाई छ । ऋण लिएको छैन भनेपछि बुझ्नुस्, ऋण लिएकै छैन ।’ पूर्व–अर्थमन्त्रीसमेत रहनुभएका पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले पनि बिआरआई सम्झौतामा कुनै ऋण नभएको पुष्टि गर्दै भन्नुभयो, ‘ऋण फाइनान्स भनिएको छ, जसको अर्थ अनुदान हुन सक्छ । सम्झौतामा अनुदानकै लागि विशेष प्रावधान छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच