अलिबाबा ग्रुपका संस्थापक चिनियाँ खर्बपति ज्याक काठमाडौंमा

Read Time = 2 mins

काठमाडौं । चिनियाँ खर्बपति ज्याक मा काठमाडौं आउनुभएको छ । विश्वचर्चित व्यापारिक कम्पनी अलिबाबाका संस्थापक ज्याक विशेष चार्टर्ड विमानमार्फत मंगलबार दिउँसो काठमाडौं अवतरण गर्नुभएको हो ।

उहाँ काठमाडौंमा अवतरण भएको पुष्टि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले गर्नुभएको छ । अधिकारीका अनुसार उहाँले भिजिट भिसा लिनुभएको छ । ज्याकले विमानस्थल अध्यागमनमा आफू चीनबाट नेपाल आएको विवरण टिपाउनुभएको छ । तर, उहाँको नेपाल बसाइको कार्यक्रमबारे केही खुलाइएको छैन ।

सरकार र निजीक्षेत्रले पनि उहाँसँगको भेट कार्यक्रमबारे केही पुष्टि गरेका छैनन् । ज्याक पछिल्लो समयमा जापानमा बस्दै आउनुभएको छ । उहाँ एसियाकै धनाढ्य व्यक्तिमध्ये एक हुनुहुन्छ । ज्याकको खास नाम मा यूङ् हो । व्यावसायिक रूपमा उहाँ ज्याक मा को नामबाट प्रसिद्ध हुनुहुन्छ ।

चीनको हृवाङझाउमा जन्मिनुभएका ज्याक माले शिक्षण पेशा छाडेपछि सन् १९९९ मा अलिबाबा ग्रुप स्थापना गर्नुभएको थियो । १८ जना साथीबाट जम्मा गरेको ६० हजार डलरले अलिबाबा ग्रुप स्थापना भएको थियो । जसले साना तथा मझौला चिनियाँ व्यवसायीका लागि इन्टरनेट बजार उपलब्ध गराउने काम गथ्र्यो । ‘चीनको अमेजन’को रूपमा चिनिएको उक्त कम्पनीको हाल एक खर्ब डलरभन्दा माथिको बजार मूल्य पुगिसकेको छ ।

ज्याक मा पछिल्लो समय व्यवसायसँगै प्रेरणादायी मन्तव्य दिने उद्यमीको रूपमा पनि चिनिनुभएको छ । उहाँले विभिन्न शहरमा युवालाई दिएका प्रवचन विश्वभर चर्चामा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?