काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रूपमा रहेको बताउनुभएको छ । नवौँ नानहाई बौद्ध सम्मेलनको काठमाडौं फोरमलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त धागोले हाम्रा दुई राष्ट्रहरूको आध्यात्मिक संस्कृतिलाई बुन्ने र सद्भाव र समझदारीको दिगो बन्धनलाई बढावा दिने बताउनुभएको हो ।
‘नेपाल चीन केवल सीमाभन्दा बढी धेरै विषय आदानप्रदान गर्छन् । हामी हाम्रो इतिहासको अविष्मरणीय कालखण्ड, हाम्रा पहाडहरूको भव्य आलिंगन, हाम्रा नदीहरूको जीवनदायी प्रवाह र हाम्रा संस्कृतिहरूको गहिरो र समृद्धिको बन्धनमा बाँधिएका छौँ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
नेपाल र चीनबीच इतिहासदेखि नै असल मित्रता रही आएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘यो सम्मेलनले मित्रतालाई गहिरो बनाउनेछ, आपसी सिकाइलाई प्रसारित गर्नेछ र नेपाल, चीन र त्यसभन्दा बाहिरका बौद्ध समुदायहरूबीच शान्ति, करुणा र सहयोगका शास्वत मूल्यहरूको वकालत गर्नेछ भन्ने मैले विश्वास लिएको छु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । चीनमा नेपाली शैलीका बौद्ध मन्दिरहरूका वास्तुशिल्प चमत्कारहरू र लुम्बिनीमा झोङ हुआ चिनियाँ बौद्ध मठको भव्यताले यो दिगो सम्बन्धको लागि शास्वत स्मारकहरूको रूपमा खडा रहेको पनि उहाँले बताउनुभयो । नेपालमा बौद्ध अध्ययनका लागि समर्पित ज्ञानको एक प्रकाशस्तम्भ, लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको नानहाई बौद्ध एकेडेमी बीचको सहयोगात्मक संलग्नताले साझेदारी र साझा आकांक्षाको भावनालाई उदाहरण दिएको प्रधानमन्त्री ओलीले जनाउनुभयो ।
‘कुप्रचारको नेतृत्व माओवादीले गर्दै छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले नराम्रो कामको नेतृत्व गरिरहेको आरोप लगाउनुभएको छ । शुक्रबार आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेलामा उहाँले कुप्रचारको नेतृत्व माओवादीले गरिरहेको आरोप लगाउनुभयो । ‘यो माओवादी जुन दिन देशमा पलायो, त्यहाँबाट जाली फटाहा, झुट, बेइमान, मुद्दा हाल्ने के गर्ने, मान्छेहरूलाई दुःख दिने, कुप्रचार गर्ने सबै काम माओवादीको नेतृत्वमा भइरहेको छ । ओलीले प्रचण्ड नेतृत्वमा एमाले र त्यसका अध्यक्ष विरुद्धको कुप्रचारमा सक्रिय रहेको जिकिर गर्नुभयो । ‘प्रचण्ड महोदयले नराम्रा कामको नेतृत्व गरिरहनु भएको छ । उहाँको गिरोह सक्रिय छ । अरू होइन, एमाले र मेराविरुद्ध सक्रिय छ,’ ओलीको दाबी छ ।
उहाँले आफूमाथि लगाइएका आरोप र भ्रम काठमाडौंमा नै बसेर पचाइदिनेसमेत बताउनुभयो । ‘शिवजीले घाँटीमा लिएर कहिले गोसाईंकुण्ड पुग्नुहुन्थ्यो, कहिले कहाँ । काठमाडौं बसीबसी त्यस्ता विष निलिदिन्छु, पचाइदिन्छु । कतै जानुपर्दैन । जसले जे फैलाए पनि खण्डन गरेर जाने हो, झुटलाई पराजित गर्ने हो,’ ओलीले भन्नुभयोे ।
उहाँले भ्रममा नपर्न पनि आग्रह गर्नुभयो । उहाँले प्रचण्डले भ्रष्टाचारीको संरक्षण गरेर आफूविरुद्ध आरोप लगाएको भन्दै आपत्तिसमेत जनाउनुभयो । ‘देशै लुटेर एमाले भ्रष्टाचारी ? केपी ओली भ्रष्टाचारी ? भ्रष्टाचारीको संरक्षक भएर हिँड्ने ?,’ उहाँले भन्नुभयो । कांग्रेस र एमालेबीचको गठबन्धन अनुचित शक्तिहरूलाई बोक्नुपर्ने बाध्यतालाई सखाप पारौँ भन्ने संकल्पका साथ गरिएको सुनाउनुभयो ।
वामदेवद्वारा ओलीको राजीनामा माग
नेकपा एकता अभियानका संयोजक एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मोबाइलमा फोन गरेर राजीनामा माग गर्नुभएको छ । शुक्रबार एक कार्यक्रममा जाँदै गर्दा गौतमले ओलीको मोबाइलमा फोन गरेर राजीनामा माग गर्नुभएको हो । ओलीको मोबाइल उहाँका स्वकीय सचिव राजेश बज्राचार्यले उठाउने गरेको ठानेर गौतमले उहाँमार्फत ओलीको राजीनामा माग गर्नुभयो । तर, गौतमको नम्बरबाट फोन आएको देखेपछि आफैँले उठाएको ओलीले बताउनुभयो ।
पार्टीनिकट जनजाति संगठनले आयोजना गरेको कार्यक्रममा पुगेर ओलीले आफूलाई वामदेवको फोन आएको र राजीनामा माग गरिएको प्रसंग सुनाउनुभयो । ‘अहिले भर्खर म गाडीमा आउँदै थिएँ, वामदेव गौतमजीले फोन गर्नुभयो । अनि के भन्नुभयो भने, ‘मदन भण्डारी कांग्रेसले मारेको हो । मलाई पहिले नै थाहा थियो, म चुप लागेँ । कांग्रेसले मार्छ भन्ने पनि पहिले नै थाहा थियो । पहिले म चुप लागेँ, अहिले बुढो पनि भइसकेँ, अब जेसुकै भए पनि मलाई केही छैन । म कुरा भन्दै छु भनेर मेरै (मेरै स्वरमा छ), अब केपी ओलीले प्रधानमन्त्रीबाट पनि पार्टी अध्यक्षबाट पनि राजीनामा गर्नुपर्छ, यस्तो भनेर पाइन्छ ? भन्देऊ तिम्रो ठूलो बालाई भनेर, कुरा मसँग गर्नुभयो ।’
वामदेवबाट फोन आएको नम्बर देखेपछि मैले उठाएँ, ‘कामरेड के छ हालखबर सोधेँ, सबै ठीक छ भन्नुभयो । कुराको अन्तिममा तिम्रो ठूलो बालाई भन्देऊ, प्रधानमन्त्रीबाट पनि राजीनामा गर्न भन्देऊ, पार्टी अध्यक्षबाट पनि राजीनामा गर्न भन्देऊ । यस्तो अपराध गरेर पनि बस्न पाइन्छ ? भनेर एकछिन वामदेव पड्किनुभयो, हस् हजुर भनेँ मैले, के पड्कने ?’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच