
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्तीको अवसरमा उहाँले नेपाली राजनीतिमा पुर्याउनुभएको योगदानको चर्चा गरिएको छ । सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रले सोमबार राजधानीमा गरेको कार्यक्रममा सहभागीहरूले सद्गुणले भरिएका भट्टराई महान् राष्ट्रवादी चिन्तक भएको टिप्पणी गरेका थिए । शालीन व्यक्तित्वसहित दार्शनिक तथा आध्यात्मिक चेत हुनुभएका भट्टराईमा अदम्य साहस तथा दृढ इच्छाशक्ति रहेको उनीहरूको टिप्पणी थियो । भ्रष्टाचारविरोधी एवं निष्ठाको राजनीतिमा सबैभन्दा अब्बल सावित हुनुभएका भट्टराईको विचारलाई कांग्रेसले अनुशरण गर्न नसकेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शीर्षस्थ नेताहरूको योगदानलाई बिर्सिए पार्टी समाप्त हुने बताउनुभयो । कांग्रेसमा उच्च योगदान दिनुभएका शीर्ष नेताहरूको योगदानको वस्तुनिष्ठ समीक्षा हुन नसकेको नेता कोइरालाको भनाइ थियो । उहाँले ठोस अध्ययन अनुसन्धान गरी शीर्ष नेताहरूको योगदान उजागर गर्नु आजको पहिलो आवश्यकता भएको औँल्याउनुभयो ।
भट्टराईबारे अध्ययन अनुसन्धान गर्नुभएका इतिहासविद् प्राध्यापक डा. राजेश गौतमले दुवै पटक नचाहँदा नचाहँदै भट्टराई देशको प्रधानमन्त्री बन्नुभएको प्रसंग उल्लेख गर्नुभयो । ‘पहिलोपटक लौह पुरुष गणेशमान सिंहको करबल तथा दोस्रोपटक पार्टी नेतृत्वप्रतिको चरम असन्तुष्टि चिर्न भट्टराईलाई प्रधानमन्त्री बनाइएको हो’ भट्टराईसँगको संवाद स्मरण गर्दै गौतमले सुनाउनुभयो । आफूले अपमान सहेर भए पनि भट्टराईले पार्टीको आदर्शलाई जीवन्त राखेको उहाँको जिकिर थियो ।
भट्टराईलाई पटक-पटक चुनाव हराउन देशी विदेशी शक्ति नै लागेको भन्दै गौतमले त्यसप्रति पछि विदेशी शक्ति (तत्कालीन भारतीय राजदूत)ले माफी मागेको प्रसंग सुनाउनुभएको थियो । गलत ढंगबाट मुलुकमा राजतन्त्रको अन्त्य भएकोमा भट्टराई असन्तुष्ट रहनुभएको गौतमको भनाइ थियो । इतिहासविद् डा. रमेश ढुंगेलले भट्टराईले सबै प्रकारका सफलता असफलतालाई ‘परमात्माको इच्छा’ को संज्ञा दिने गरेको स्मरण गर्नुभयो । मुलुक सोच्दै नसोची गणतन्त्रमा गएकोमा भट्टराईमा तीव्र असन्तुष्टि रहेको ढुंगेलले बताउनुभयो । विभिन्न प्रतिकूलताका बाबजुद समयमै २०४७ सालको संविधान जारी गरी भट्टराईले ‘असम्भवलाई सम्भव’ पार्ने काम गरेको उहाँको भनाइ थियो ।
भट्टराई जस्ता महान् नेताहरूको सिद्धान्त अनुशरण गर्न नसकेकाले नै मुलुकले अहिले दुर्गतिको सामना गर्नुपरेको ढुंगलले बताउनुभयो । सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रका अध्यक्ष एवं कांग्रेस नेता लोकेश ढकालले केन्द्रका गतिविधिबारे प्रकाश पार्दै पार्टी नेतृत्वले भट्टराई लगायतका नेताको योगदानलाई स्मरण गर्न नसकेको गुनासो गर्नुभयो ।
किसुनजीको जन्म शताब्दी वर्षका अवसरमा गतवर्ष ‘सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्र’ स्थापना गरिएको थियो । ‘किसुनजी आफैँले स्थापना गर्नुभएको पार्टी आफैँ आँसु झारेर किन छोडेर हिँड्नुभयो ? यसको खोजी गरेपछि नै उहाँप्रति सच्चा सम्मान हुनेछ, उहाँले पार्टी छोड्नुभयो, आदर्श छोड्नुभएन, उहाँप्रतिको सम्मानका लागि केन्द्र स्थापना गरिएको हो’, अध्यक्ष ढकालले भन्नुभयो ।
प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा किसुनजी सँगसँगै भई सक्रिय रहँदै आउनुभएका वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल पद र पैसाका लागि लोभ नभएको राजनीतिज्ञका रूपमा आफूले चिनेको बताउनुहुन्छ ।
सोमबार नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ सन्तनेताको स्मरण गरेका छन् । विसं १९८१ साल पुस ८ गते भारतको बनारसमा जन्मिनुभएका भट्टराईको विक्रम संवत् २०६७ साल फागुन २० गते निधन भएको थियो ।
राजनीतिमा निष्ठा र मूल्य-मान्यताप्रतिको प्रतिबद्धताकै कारण उहाँ पञ्चायती शासन व्यवस्थामा १४ वर्ष जेल जीवन बिताउनुभएको थियो । भट्टराईले २०४७ सालको संविधान निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले २००७ सालको राणाविरोधी आन्दोलन, २०४६ सालको जनआन्दोलनलगायत मुलुकको परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
विसं २०४७ साल वैशाख ६ गते गठित अन्तरिम सरकार र २०५६ सालको निर्वाचनपछि नेपाली कांग्रेसले बहुमत ल्याएपछि गरी उहाँले दुईपटक प्रधानमन्त्रीको रूपमा मुलुकलाई नेतृत्व प्रदान गर्नुभएको थियोे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच