तपाईंले एकताका चिया र मःम खाँदै गरेका रोचक तस्बिरहरू सामाजिक सञ्जालमा पक्कै देख्नुभयो होला । ‘सालको पात टपरी’ बोलको गीत आफ्नै आवाजमा सुनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक २५ गते फेसबुकमा स्टाटस लेख्नुभयो, ‘मलाई अचम्म लाग्यो, टिकटक हेर्दै जाँदा आफ्नै आवाजको जस्तो गीत सुनियो । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगगरी यसरी आफ्नो स्वरमा गीत बनाउने प्रविधि पनि आइसक्यो । प्रविधिको विकास हुनु राम्रो हो ।’
उहाँले सामाजिक सञ्जालका प्रयोगकर्तालाई सचेत पार्दै लेख्नुभयो, ‘तर आफूले बोल्दै नबोलेका कुराहरू पनि यसरी आइरहेका छन् कि जस्तो पो लाग्दै छ । प्रविधिले सजिलो मात्र होइन, दुरुपयोगको चुनौती पनि थप्छ ।’
त्यस्तै ‘डिप फेक’ प्रविधिको दुरुपयोग गरेर नायिकाको अश्लील भिडियो सार्वजनिक भइरहेका छन्, जसकारण नायिकाको चरित्रमै प्रश्न उठ्ने गरेको छ । यस्ता भिडियोबाट बलिउडका नायिका काजोल अग्रवाल, कट्रिना कैफ र रश्मिका मन्दनालगायत कलाकार प्रविधिको सिकार भएका छन् र कानुनी कारबाही गर्नसमेत लागि परेका समाचारहरू पनि पढेकै छौँ ।
एआईले के-के गर्न सक्छ ?
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एक कृत्रिम बुद्धि हो । सरल भाषामा भन्नुपर्दा तपाईं हामीले दिएको कुरा मान्ने, बुझ्ने, स्थान, अनुहार चिन्ने र आफैँ सोचविचार गर्नसक्ने कृत्रिम बुद्धि नै एआई हो । यो मानिसको निर्देशन बुझ्ने, सोअनुसार काम गर्ने, मानिसलाई चिन्ने, गाडी आफैँ हाँक्ने, कुनै खेल निकै सोचविचार गरेर खेल्नेलगायत काम गर्नसक्ने मानव निर्मित कम्प्युटर प्रोग्राम हो । मानिसमा भएको क्षमतालाई ‘प्रोग्रामिङ’ मार्फत मेसिनमा नक्कल गरिसकेपछि जब यसले मानिसले जस्तै सोच्न र क्रियाकलाप गर्न थाल्छ, तब त्यसलाई आर्टिफिसियल इन्टेलिजेन्स भनिन्छ ।
एआई एक कृत्रिम बुद्धि हो । सरल भाषामा भन्नुपर्दा तपाईं हामीले दिएको कुरा मान्ने, बुझ्ने, स्थान, अनुहार चिन्ने र आफैँ सोचविचार गर्नसक्ने कृत्रिम बुद्धि नै एआई हो ।
यस्तो कृत्रिम बुद्धिले मानिसलाई विभिन्न ज्ञान, सीपका क्षेत्रमा सहयोग गर्छ । एआईले मेसिनलाई सोच्न सक्ने र आफैँ निर्णय लिनसक्ने बनाउँछ । यो मानिसले बनाएको भए पनि मानिसभन्दा निकै गुणा तेज मानिएको छ । एआईमा आफैँ सिक्नसक्ने क्षमता हुन्छ, यो ‘डिप लर्निङ’मा आधारित हुने गर्दछ ।
अहिले एआईको प्रयोग धेरै ठाउँमा भइरहेको छ । विश्वका ठूला प्रविधि कम्पनी गुगल, माइक्रोसफ्ट, युट्युब, फेसबुक, एप्पललगायत कम्पनीले एआईको प्रयोग गरिरहेका छन् । जस्तो कुनै विषयमा एउटा निबन्ध लेख भन्नासाथ निबन्ध तयार हुने, यस्तो यस्तो प्रयोग गरेर दृश्य भएको चित्र बनाऊ भनेर आदेश दिँदा चित्र बनाएर दिने, मानवीय भाषा बुझ्ने र अनुवाद गर्नसक्ने, आदेश बुझेर तत्काल केही सेकेण्डमै भिडियो तयार गर्ने लगायतका काम एआईमार्फत भइरहेका छन् । यसले मानव समाजमा सकारात्मक र नकारात्मक दुवै किसिमले परिवर्तन ल्याएको छ ।
एआईले हाम्रो जीवन र काम गर्ने तरिकामा परिवर्तन ल्याएको मात्र छैन भविष्यमा शिक्षा, स्वास्थ्य, यातायात, विज्ञान, कला, मनोरञ्जनलगायत हरेक क्षेत्रमा उलेख्य रूपमा रूपान्तरण गर्ने पक्का नै छ । अहिले विश्वमा प्रचलित च्याटजिपिटी, डाल-ई, बार्ड र अल्फाकोड जस्ता एआई सफ्टवेयरले सिर्जना गरेका लेख, रचना, निबन्ध, कविता, चुट्किलादेखि कम्प्युटर कोड, रेखाचित्र, तस्बिर, चित्र र कलाकृति मान्छेका रचनासँग मेल खाने देखिन्छ ।
अहिलेका स्मार्टफोनमा एआई प्रविधिको प्रयोग हुन थालेको छ । मोबाइलमा हुने फेस रिकग्निसन, थम प्रिन्ट स्क्यानरलगायत सुविधा एआई नै हो । मोबाइल गेममा पनि एआईको प्रयोग भइरहेको छ । जसमा कुनै साथीबिना एपको अनेकौँ भर्चुअल खेलाडीसँग गेम खेल्न सक्छौँ ।
केही समयअघि सुजन चापागाईंको फूल गीत नारायण गोपालको आवाजमा भएको सुनियो । स्वर्गीय गायक नारायण गोपालले यो गीत गाउन कसरी सक्नुभयो ? यो पनि एआईको एक अंग जेनेरेटिभ एआईको कमाल हो । यस्तो जेनेरेटिभ एआई टुलले गीत गाउने शैली, आवाजको पिचलगायत पहिचान गरेर तपाईंको आवाजलाई कुनै चर्चित गायक वा सेलिब्रिटीको आवाजमा बदल्न सक्छ ।
मेसिन लर्निङ र डिप लर्निङमा के छ फरक ?
यी दुवै शब्दावली एक-अर्काका परिपूरक भए पनि यसबीच निकै फरक छ । डिप लर्निङ, मेसिन लर्निङकै एउटा हिस्सा हो । मेसिन लर्निङमा प्रोग्रामरले डाटा फिड गर्छन् । सामान्य भाषामा भन्नुपर्दा मसिनको पढाइ मेसिन लर्निङ हो । डिजिटल डिभाइसले अंक, अक्षर, तस्बिर, आवाज जस्ता डाटा प्राप्त गर्दा यो के हो भनेर बुझ्ने क्षमता नै मेसिन लर्निङ हो ।
एआईले कतिको जागिर खोसेको छ भनिरहँदा यसले जागिर पनि दिइरहेको छ । अहिले नयाँ पुस्ताले यसको प्रयोग गरेर केही नयाँ गर्ने हो भने जागिरबाट विमुख हुनुपर्ने छैन ।
एआईको मेरुदण्ड डिप लर्निङ प्रयोग गरेर विश्वमा थुप्रै एआई प्रविधिका टुल विकास भएका छन् । डिप लर्निङ मानव मस्तिष्कको आधारमा तयार गरिएको एउटा मोडेल हो । यसले मेसिन लर्निङमा भएका कमजोरीलाई समाधान गर्छ । अहिले हामीले दैनिक जीवनमा प्रयोग गरिरहेका विभिन्न एप्लिकेसन, भाषा अनुवाद, फेस रिकग्निसन, अटो रिप्लाईलगायत विभिन्न एआई टुल डिप लर्निङका उपज हुन् ।
एआईबाट अवसर पनि छ
अहिले विश्वमा प्रम्ट इञ्जिनियरिङको खुबै चर्चा भएको सुनिन्छ । एआईसँग कुरा गर्ने वा कुरा बुझाउने प्रक्रिया नै प्रम्ट इञ्जिनियरिङ हो । यस्तो प्रम्ट भनेको एआईलाई प्रयोगकर्ताले दिने निर्देशन हो । यो एक लाइन, दुई लाइन, एक पेज, दुई पेज जति पनि हुनसक्छ । सजिलो भाषामा भन्नुपर्दा यो भनेको एआईसँग कुरा गरेर आउटपुट निकाल्ने कार्य हो । विश्वमा अहिले प्रम्ट इञ्जिनियरिङको माग धेरै बढेको छ । विशेषगरी ग्राफिक डिजाइनिङमा विश्वभरि लाखौँको संख्यामा यस्ता प्रम्ट इञ्जिनियरका लागि रोजगारी खुलिरहेको छ । जे भए पनि काम लिनलाई एआईसँग कुरा गर्ने मान्छे त चाहियो नि । त्यसैले प्रम्ट इञ्जिनियरको माग विश्व बजारमा ठूलो रहेको छ ।
एआईले कतिको जागिर खोसेको छ भनिरहँदा यसले जागिर पनि दिइरहेको छ । अहिले नयाँ पुस्ताले यसको प्रयोग गरेर केही नयाँ गर्ने हो भने जागिरबाट विमुख हुनुपर्ने छैन । एउटा कुरा जोडिहाल्न मन लाग्यो कुनै बेला गाडी आउँदा भरियाले हाम्रो रोजगारी खायो भन्थे होला तर त्यसलाई एउटै डब्बामा हालेर हेर्न मिल्दैन । रोजगारी खोस्नेले सँगसँगै थप रोजगारी पनि सृजना गरेको हुन्छ ।
यति भन्दै गर्दा अल्बर्ट आइन्स्टाइनपछि सर्वाधिक तीक्ष्ण मानिएका स्टिफन हकिङदेखि व्यवसायी एलन मस्क र माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्ससम्मले भविष्यमा मानिसले सुपर-स्मार्ट मेसिन अर्थात् रोबटबाट कडा चुनौती झेल्नुपर्ने चेतावनी पनि नदिएका होइनन् । तर, यसलाई कसरी प्रयोग गर्ने ? भन्ने नीति विश्व समुदायले लिनैपर्छ, जोखिम सबै आयामहरूमा हुने गर्दछ ।
यसैकारण वैज्ञानिकसमेत रहेका मस्कजस्ता व्यवसायी ‘ओपन एआई’ जस्ता परियोजनामा लगानी गरिरहेका छन् । यसको उद्देश्य अन्धाधुन्दा रोबट उत्पादन र प्रयोगको साटो मानव सहयोगी बुद्धिमान मेसिन निर्माण गर्नु हो । (लेखक ढुंगाना फ्रन्ट एण्ड डेभलपर तथा युआई, युएक्स डिजाइनर हुनुहुन्छ ।)
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच