बाँदर नियन्त्रणका लागि गाउँपालिकासमक्ष हारगुहार

हिमालय टाइम्स
Read Time = 5 mins

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाका किसानले बाँदर लगायतका वन्यजन्तु नियन्त्रणको माग गरेका छन् । बाँदर, मृग, दुम्सी लगायतका वन्यजन्तुले खेतबारीका बालीनाली सखाप पारेको भन्दै जन्तेढुंगा गाउँपालिका-५ चिसापानी खुटाका किसानले नियन्त्रणको माग गरेका हुन् ।

साविकको चिसापानी-१ देखि ६ सम्मका किसानको समुहले गाउँपालिका पुगेर गाउँपालिका अध्यक्ष अरुणादेबी राई र उपाध्यक्ष खेमबहादुर खड्कालाई ज्ञापनपत्र बुझाउँदै बाँदर लगायतका जंगली जनावरको आतंक नियन्त्रणको माग गरेका छन् ।

सावा खोला किनारमा रहेको देउराली चुनिया सामुदायिक वनबाट निस्कने बाँदर, मृग र दुम्सीले गहुँ, मकै, कोदो, अलैंची, आलु, धान, करेला, सुन्तला, कागती, केरा लगायतका बालीनाली सखाप बनाइदिएपछि स्थानीय सरकारलाई गुहार्नुपरेको खुटाका किसान भुवन कार्कीले बताउनुभयाे । बाँदर नियन्त्रणको माग गर्दै खुटाका दुई तीन सय किसान गाउँपालिका पुगेका थिए । ज्ञापनपत्रमै करिब सय जनाको हस्ताक्षर समेटिएको छ ।

६ वडा रहेको जन्तेढुंगा गाउँपालिकाका सबै वडामा बाँदरको समस्या छ । त्यसमा पनि नदी तथा खोलाको किनार आसपासका बेँसी क्षेत्र र जंगल आसपासमा बाँदरको समस्या बढि छ । बाँदरले टुसाउँदै गरेको अन्नबालीदेखि पाकेर भित्र्याउन लागिएको अवस्थाका मकै, कोदो, आलु, फलफुल, अम्रिसो लगायतका बोटबिरुवा बिनास पार्ने गरेका छन् ।

एकै पटकमा डेढ-दुई सयको हुलमा आउने बाँदरले वर्षेनी मकैको सुत्ला च्यात्ने, घोगा नष्ट गर्ने, गहुँ, कोदोको बिउ उखेल्ने, अलैंची, आलु, धान, करेला, सुन्तला, कागती, केरा नष्ट गर्दा किसानले हैरानी खेप्नु परेको छ ।

बाँदरले  अन्नबाली, फलफुल र तरकारी सखाप बनाएपछि कृषि उत्पादनमा ह्रास आउँदा निम्तिने भोकमरीका कारण बसाई सर्नुपर्ने अवस्था आएको किसानको गुनासो छ । गाउँलेले मिलेर धपाए पनि केही दिनमै फर्किने बाँदरले घरभित्र भण्डारण गरेको अन्न तथा आँगनको थाँक्रोमा राखिएको मकैको झुत्ता नै उठाएर लैजाने गरेको छ । बाँदरले फल्न, फुल्न र पाक्न लागेको बालीनालीमा असर पुर्‍याउँदाको परिणाम उत्पादन घट्दा कतिपय गाउँ बजारबाट किनेर ल्याइएको अन्नमा निर्भर रहनुपर्ने बाध्यता सिर्जना भएको कार्कीले बताउनुभयाे ।

जन्तेढुंगा गाउँपालिका-२ बोपुङका किसानले पनि २०७५ भदौमा गाउँपालिका पुगेर बाँदर नियन्त्रणका लागि स्थानीय सरकारलाई गुहारेका थिए । २०७५ बैसाखदेखि भदौकोबीचमा जन्तेढुंगा गाउँपालिका-१ देबिस्थान, जन्तेढुंगा गाउँपालिका-४ डम्बर्खु शिवालय, जन्तेढुंगा गाउँपालिका-६ दिप्लुङ लगायतका किसानले पनि बाँदरको समस्या नियन्त्रणका लागि ज्ञापनपत्र बुझाएका थिए ।

बाँदर धपाउनका लागि हतियार चलाउन पाउनुपर्ने वा गाउँपालिकाबाटै बाँदर धपाउने हेरालु राख्ने व्यवस्था मिलाउनुपर्नेदेखि बाँदरले पुर्‍याएको क्षति बराबरको क्षतिपुर्ती पाउनुपर्ने वा अन्यत्रै बसाईं सार्नुपर्ने किसानको माग छ । तर, बाँदरको समस्या नियन्त्रणका लागि ठोस विधि र उपाय अभावमा किसानको माग पूरा हुन सकेको छैन ।

पहिला-पहिला बन्दुक पड्काएर बाँदर धपाउने गरिएकामा पछिल्लो समय त्यसमा रोक लगाइएपछि बाँदर आतंक बढ्दैगएको हो । बाँदर नियन्त्रणका लागि कतिपय ठाउँमा धराप र पासो समेत थाप्ने गरेको पाइएको छ । बाँदर लाग्ने क्षेत्रमा खेतबारीको डिलमा टहरा बनाएर बस्ने, भुक्ने कुकुर बाँध्ने वा थोत्रो लुगाको मानव आकृति बनाएर राख्ने प्रचलन यथावत छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?