तीन दशकको निरन्तर यात्राले हिमालय टाइम्सलाई आजको समयमा ल्याइपुर्याएको छ । नेपाली परिवेशमा पत्रकारितालाई व्यावसायिकताको साथमा अविचलितरूपमा निष्कलंक भएर चलाउन सक्ने थोरै प्रकाशन गृहहरूमा यो पनि एक हो । आर्थिक व्यावसायिकताका धेरै तिक्डमहरूमा पछि परेर पनि लोककल्याणकारी राज्य व्यवस्थाको साथमा सर्वसाधारणहरूको उन्नत जीवनयापनलगायतका विषयहरूमा सदा तत्पर एक दैनिक पत्रिकाका रूपमा हिमालय टाइम्सलाई लिने गरिएको छ । लोकतन्त्रमा पत्रकारिताले चौथो अंगका रूपमा काम गर्ने स्थान एवं अधिकार पाएको हुन्छ ।
जनताको पक्षमा सदा वकालत गर्ने र न्यायसंगत किसिमले हुन नसकेका यावत् विषयहरूमा खरोरूपमा उत्रन सक्नु नै मिडियाको पहिलो र अन्तिम धर्मका रूपमा लिने गरिन्छ । नेपालको पछिल्लो प्रजातान्त्रिक समय र यस समयमा भएका यावत् पक्षहरूमा के कसरी राजनीति तथा मुलुकका संस्थाहरूले काम गरिरहेका छन् र हुनुपर्ने कुराहरू के-के हुन् भन्ने कुरामा मूलधारको पत्रकारिताभित्रका केही मूर्धन्य भन्न रुचाउने प्रकाशनहरूले एकाध समयमा बाटो बिराएको भए तापनि जनताको आधारभूत अधिकार तथा लोकतन्त्रको हकमा भने सदा सर्वदा तत्पर रहेको देखिन्छ ।
राज्यको चौथो अंगका रूपमा मान्यता प्राप्त पत्रकारिता जगत्ले सदैव नागरिकहरूको स्वतन्त्रताको पक्षमा वकालत गर्नु पहिलो धर्मभित्र पर्ने विषयवस्तु हो । यस मानेमा निजी क्षेत्रको पत्रकारिताको सुरुवातसँगै हिमालय टाइम्सले पनि राजनीतिक विषयवस्तुसँग सम्बन्धित सबै किसिमका समाचारहरूमा नागरिकको हक अधिकार र स्वतन्त्रता पहिलो प्राथमिकताका रूपमा अघि सारेको पाइन्छ ।
कुनै पनि क्षेत्रको व्यावसायिकतामा निखारपन नभएको हाम्रोजस्तो बजारमा स्वच्छ छविका साथमा सीमित स्रोतसाधन र निष्ठाको भरमा अनवरतरूपमा प्रजातन्त्र, स्वतन्त्रता, मानव अधिकार, व्यावसायिक समृद्धि तथा व्यक्तिको नैसर्गिक अधिकारहरूका बारेमा सदा वकालत गर्नु समान्य विषय हुँदै होइन । यसै पनि २०४६ सालको प्रजातन्त्रको पुनस्र्थापनापछिको समयमा नेपाल पश्चिमा एवं पूर्वीय राजनीतिक तथा स्वार्थसिद्ध गर्ने समूह तथा दलालहरूको क्रीडास्थलजस्तो भएको भान हुन थालेको छ । यस काममा केही नाम चलेका र राम्रो पहिचान भएका मिडिया गृहहरूको पनि नाम नजोडिएको पनि होइन तर यसको पछाडि केही बाध्यता र केही रहर एवं अर्थोपार्जनका सजिला कथाहरू पनि रहेका जस्ता देखिन्छन् ।
भारतीय एवं पश्चिमाहरूको नेतृत्व अमेरिकी संस्थाहरूले गरेको जस्तो देखिन्छ भने चिनियाँ एवं रसियनहरू वा कम्युनिष्टहरूको नेतृत्वको जिम्मा कसैले पनि लिने गरेको पाइँदैन तर पनि नेपाली पत्रकारिता यो दुईपक्षीय रोगबाट मुक्त भने हुन सकेको छैन । यसका अलावा आन्तरिकरूपमा पनि पत्रकारिता जगत् पूर्णरूपमा विभक्त र अस्तव्यस्तरूपमा अघि बढेको जस्तो देखिन्छ । भनाइको तात्पर्य विशुद्ध व्यावसायिक पत्रकारिताको माध्यमले समाजको आँखाका रूपमा आफूलाई उभ्याएर जिउन सक्ने थोरै प्रकाशन गृहहरूमध्येमा हिमालय टाइम्स पनि पर्ने गरेको छ ।
राज्यको चौथो अंगका रूपमा मान्यता प्राप्त पत्रकारिता जगत् सदैव नागरिकहरूको स्वतन्त्रताको पक्षमा वकालत गर्नु पहिलो धर्मभित्र पर्ने विषयवस्तु हो । यस मानेमा निजी क्षेत्रको पत्रकारिताको सुरुवातसँगै यस प्रकाशन गृहले पनि राजनीतिक विषयवस्तुसँग सम्बन्धित सबै किसिमका समाचारहरूमा नागरिकको हक अधिकार र स्वतन्त्रता पहिलो प्राथमिकताका रूपमा अघि सारेको पाइन्छ । त्यसैगरी नागरिकसँग सम्बन्धित यावत् मुद्दाहरूमा सदा अग्रणी भूमिकामा खरो भएर उत्रिएको पाइन्छ । संविधान निर्माण एवं नागरिकका मौलिक हक अधिकारका विषयवस्तुहरूमा आधारित रहेर जुन स्तरमा वकालत गर्नुपर्ने थियो सो कुरामा हिमालय दैनिकले आफ्नो धर्म निर्वाह गरेको पाइन्छ ।
२०६३ सालको अन्तरिम संविधान वा हाल कायम रहेको गणतान्त्रिक संविधानको विषयमा किन नहोस् आन्तरिक एवं बाहृय जगत्बाट समर्थन जुटाउने तथा आममानिसहरूको नागरिक तथा मानव अधिकारको संरक्षणका निमित्त अत्यन्तै इमानदारिताका साथमा यो प्रकाशनले आफ्नो धर्म निर्वाह गरेको छ । स्वतन्त्रताबिनाको पत्रकारिता र सत्यबिनाको व्यावसायिकतामा कुनै पनि समाज तथा समुदायको आजका दिनसम्म पनि झुकाव भएको पाइँदैन । यस कुराको राम्रो उदाहरण हुन सफल हिमालय टाइम्स पनि हो ।
प्रजातन्त्रपछि शहरी तथा अर्धशहरी क्षेत्रहरूमा खाजाघरहरू, पार्लर तथा केही माथिल्ला स्तरका होटल तथा रिसोर्टहरू खुल्न थाले । मानिसहरू रोजगारका निमित्त आन्तरिक बजारहरूमा एवं मुग्लानमात्र नभएर तेस्रो मुलुकतिर पनि जान थाले । सीपयुक्त हुन नसके पनि कच्चा नै भए पनि नेपाली श्रमको बिक्री हुन थाल्यो । वस्तु तथा सेवाहरूको उत्पादन धेरै हुन सकेन तर पनि व्यापारिक गतिविधिहरूको जग भने बसेर गयो । आज चोक, गल्ली, शहर, अर्धशहरी क्षेत्रहरूमा व्यापारिक महलहरूको सुरुवात हुनुमा नेपालले अंगिकार गरेको खुला बजार अर्थनीति र यसको सकारात्मकताको प्रभाव हो ।
राजनीतिक परिवर्तनको साथमा मुलुकको आर्थिक क्षेत्रमा सकारात्मक परिवर्तन र समृद्धिको जग मजबुत नहुँदासम्म सर्वसाधारणको जीवनस्तरमा परिवर्तन हुँदैन भन्ने मूल मर्ममा टेकेर हिमालय टाइम्स सदा सर्वदा स्वतन्त्रता, समृृद्धि र स्वाभिमानसहितको प्रजातान्त्रिक विधि, प्रक्रिया र संस्थागत विकासको पक्षमा उभिने गरेको छ ।
यस मानेमा हिमालय टाइम्स सदा सर्वदा खुला बजारको पक्षधर हुँदै आएको छ । लगानी विस्तार, उत्पादनमा बढोत्तरी, रोजगार सिर्जना नाफा हुँदै पुनः नयाँ परियोजनाहरूमा लगानीजस्तो चक्रीय आर्थिक क्रियाकलापहरूले समाजमा उपलब्ध भएका वा हुने गरेका स्रोतसाधनहरूको परिचालनका लागि आवश्यक न्यूनतम वातावरण तथा नीतिगत व्यवस्थाहरूको हकमा पनि यसबारे दैनिक वकालत गर्दै आइरहेको छ ।
यी यस्ता किसिमका कामहरूका निमित्त आवश्यक रकमको जोहो गर्नका लागि आवश्यक वित्तीय संस्थाहरूको जग बसाउने तथा संस्थागतरूपमा काम गर्ने क्रमको पनि सुरुवात यही कालबाट भएको हो । सीमित संख्याका सरकारी बैंकहरूमा निजी क्षेत्रको पनि आगमन भयो । सीमित वाणिज्य बैंकहरूको अभावलाई पूरा गर्नका निमित्त ठूलो संख्याका निजी क्षेत्रका बैंकहरू खुले । वाणिज्य बैंकहरूको संख्या ३० पुग्यो । विकास बैंकहरूको संख्या दुई सयको हाराहारीमा पुग्यो । वित्त कम्पनीको संख्या पनि ६० भन्दा माथि पुगेको थियो भने लघुवित्तहरू पनि सोही हाराहारीमा रहेका थिए ।
राष्ट्र बैंकको नीतिअनुरूप मर्ज तथा एकअर्कामा मिल्ने मिलाउने नीतिअनुरूप हाल वाणिज्य बैंकहरू १९ वटा, विकास बैंकहरू १७, वित्त कम्पनी पनि १७ एवं लघुवित्तहरूको संख्या भने ५७ कायम रहेको छ । वित्तीय क्षेत्रको संख्यात्मक विस्तारमात्र नभएर गुणात्मकतामा पनि उच्च स्तरको सुधार भएर गयो । यी यावत् संस्थागत तथा संरचनात्मक कामहरूका कारण मुलुकभित्र नै धेरै साना तथा मझौला किसिमका आर्थिक तथा व्यावसायिक कामहरूको सुरुवात यही समयदेखि हुन गएको हो ।
लगानी रकमको सस्तो ब्याजदरमा जोहो भएकाले मुलुकभरि कृषिमा डेरी, उद्योगमा दुनोट एवं सेवाक्षेत्रमा यातायातजस्ता क्षेत्रहरूमा ठूलो सकारात्मक बदलाव ल्याउन सकेको हो । यसले गाउँ र शहरबीचको दूरीमात्र कम गरेन मानिसहरूका बीचको भावना, सीप, क्षमता तथा उत्पादनलाई पनि आवश्यकताका आधारमा गाउँबाट शहर र शहरबाट गाउँमा पुग्नमा ठूलो मद्दत गर्न पुगेको सबैले महसुस गरेको तथ्य हो । अन्त्यमा, राजनीतिक परिवर्तनका साथमा मुलुकको आर्थिक क्षेत्रमा सकारात्मक परिवर्तन र समृद्धिको जग मजबुत नहुँदासम्म सर्वसाधारणको जीवनस्तरमा परिवर्तन हुँदैन भन्ने मूल मर्ममा टेकेर हिमालय टाइम्स सदा सर्वदा स्वतन्त्रता, समृृद्धि र स्वाभिमानसहितको प्रजातान्त्रिक विधि, प्रक्रिया र संस्थागत विकासको पक्षमा उभिने गरेको छ । (लेखक दाहाल हिमालय टाइम्सको स्तम्भकार हुनुहुन्छ ।)
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच