पोखरा । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदका माध्यमबाट मुलुकको समृद्धि र सशक्त समाज निर्माणमा योगदान पुग्ने बताउनुभएको छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा आइतबारदेखि पोखराको फेवातालमा सुरु भएको ‘दोस्रो ड्रागन बोट रेस फेस्टिभल’को उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
ड्रागन बोट रेस फेस्टिभलले पोखराको खेल तथा पर्यटन क्षेत्रको विकास गर्नुका साथै नेपाल र चीनका नागरिकहरूका बीचमा रहेको सुमधुर सम्बन्धलाई थप मजबुद बनाउने उहाँको भनाइ थियो ।
नेपालको प्रमुख पर्यटकीय साझेदार राष्ट्रका रूपमा चीन रहेको उल्लेख गर्दै मन्त्री चौधरीले यस प्रतियोगिताका माध्यमबाट पोखरासहित नेपालको पर्यटन प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गर्नुभयो ।
नेपालका लागि चिनियाँ राजदूत छन सोङले सुन्दर पोखराको फेवातालमा आयोजित ड्रागन बोट रेस फेस्टिभल दुई देशको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो ।
चिनियाँ नगारिकका लागि पोखरा प्रमुख गन्तव्यका रूपमा रहेको भन्दै उहाँले यस वर्षको ड्रागन बोट रेसमा अघिल्लो वर्षको तुलनामा खेलाडीको सहभागिता तेब्बरले वृद्धि भएको जानकारी दिनुभयो । महोत्सवले पोखरालाई चिन्न र बुझ्न अझै सहयोग पुग्ने उहाँको भनाइ थियो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रकृति, कला र संस्कृतिले सम्पन्न पोखरा पर्यटन राजधानी रहेकाले बृहत् पोखराको अवधारणाका साथ यहाँको पर्यटकीय विकासमा विविध गतिविधि सञ्चालन गर्न थालिएको बताउनुभयो । पोखराको पर्यटन प्रवद्र्धन र विकासमा यस किसिमका खेलकुदका गतिविधिले सहयोग पुर्याउने उहाँको भनाइ थियो ।
क्रस कन्ट्री, ड्रागन बोटलगायत खेलका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई अझै बलियो बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । सन् २०२५ लाई पोखरा भ्रमण वर्षका रूपमा मनाइने बताउँदै नगरप्रमुख आचार्यले चीनका विभिन्न शहरबाट पोखरामा सिधा उडान सञ्चालनका लागि चिनियाँ सरकारलाई आग्रह पनि गर्नुभयो ।
नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल
पोखरामा दोस्रो संस्करणको ‘नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको छ । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा आइतबार सुरु भएको फेस्टिभलमा नेपाल, चीन र सिंगापुरका खेलाडी सहभागी भएका छन् । प्रतियोगिता आज (सोमबार)सम्म सञ्चालन हुनेछ ।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको प्रतियोगितामा २० टोली सहभागी छन् । प्रतियोगितामा चीनका आठ, सिंगापुरको एक तथा बाँकी ११ टोली नेपालका विभिन्न ठाउँबाट सहभागी भएका छन् ।
प्रतियोगितामा ५०० सय र २०० मिटर दौडका विजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपविजेतालाई दुई हजार डलर र तृतीय हुने टोलीलाई एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागिताका लागि चीनको छेन्दुबाट विमान चार्टर्ड गरी १२९ खेलाडी यही पुस ११ गते पोखरा आएका थिए । गत वर्ष चीनले प्रतियोगिताका लागि आठ डुंगा दिएकोमा यस वर्ष पनि थप आठ डुंगा दिएको छ । चीनमा लोकप्रिय रहेको ऐतिहासिक ड्रागन बोर्ड रेस गत वर्षदेखि पोखरामा औपचारिक प्रतियोगिताका रूपमा आयोजना गर्न थालिएको हो । गत वर्ष पोखराको फेवातालमा अन्तर्राष्ट्रिय र वेगनासतालमा राष्ट्रियस्तरका प्रतियोगिता भएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच