
स्थान भ्रष्टाः न शोभन्ते
कुनै पनि वस्तु व्यक्तिको निश्चित स्थान हुन्छ । प्रकृतिक रूपमा र कृत्रिम रूपमा पनि स्थान तोकिएको हुन्छ । राष्ट्रसञ्चालन गर्नेका लागि त आफ्ना स्थानको परिचय गर्नु अति नै आवश्यक छ । आफू छारामा लडेर स्वर्गको धाक लाउने प्रवृत्तिले अहिलेका राजनीतिकर्मी नराम्रोसँग गाँजिएका छन् । नेपालमा मात्र होइन विश्वमा नै चारित्रिक पतन, आर्थिक प्रलोभन र नयिक विपथनका कुरा संसारको संस्कार बनेको देखिन्छ । स्वास्नी प्रभावशाली भएका नाताले लोग्ने क्षमताले नभ्याउने ठाउँमा आरोहण गर्नु, लोग्नेका प्रभावका कारणले स्वास्नी ठूला पदमा पदासिन हुनु यी सबै चारित्रिक स्खलनका कुरा हुन् ।
यो प्रवृत्ति पनि समाजको आरम्भिक बेलादेखि नै थिए तर अहिले तिनको सघनीकरणमात्र भएको हो आजै आरम्भ भएको चाहिँ होइन । गाई बाँध्ने दाम्लाले कुकुर बाँधियो भने लोकलाज र समाजका प्रचलनमा विपथन आरम्भ हुन्छ । गधाका पिठ्युँमा बोकाउने सिलौटा गाईका ढाडमा लाद्न मिल्दैन । यद्यपि भारतको आसामतिर गोरु र गाई दुवै जोतिन्छन् । खेत जोतेका ठाउँमा गएर हेरे पाँच पाथी चामलको भात पाक्ने खड्कुलो घोप्ट्याएजत्रो फाँचो भएका गाईका हल बनाएर कुटी कुटी जोतेको देखिन्छ । हाम्रै नेपालको डोटी, बैतडी आछाम, डडेल्धुरातिर जाने हो भने सारा काम आइमाईले गर्छन् । घरका लोग्नेमान्छे जाँडरक्सी खाएर दिनभरि तास खेलेर, अर्काका स्वास्नी देउकी र झुमासँग लठारिएर जीवन बिताइरहेका भेटिन्छन् ।
जसरी छँदाखाँदाको मुखको दाँत फुक्लेपछि, हातगोडाका नङ काटेपछि, कपाल काटेपछि र मति बिग्रेका मान्छेलाई ठीक ठाउँमा राख्न नसकेपछि तिनले काहिँ पनि शोभा पाउँदैनन् ती फोहोरमा रूपान्तरित हुन्छन् । ठीक यसैगरी अहिले नेपालका राजनीतिकर्मी फोहोर, नचाहिने तत्वका रूपमा परिणत भएका देखिन्छन् ।
यस प्रकारका ठाउँमा पुगेका केही पूर्वतिरका केटीहरू आजीवन आफूलाई सोच्छन् कि आत्महत्या गर्छन् कि छोडेर हिँड्छन् । पश्चिमका केटी पूर्वमा आए भने पनि कतिपय सामाजिक सांस्कृतिक अवसरमा असजिलो मान्छन् नै । आज म यहा सामाजिक स्थान भ्रंशनको होइन राजनीति भ्रंशनको कुरा गर्दै छु । पहिलो पटक नेपाली कांग्रेसले नै नारीसशक्तीकरण र नारी महीयसिको कुरा गरेको थियो भन्ने कुरो आजका कांग्रेसी नारीले उठाउन सकेको देखिँदैन किनभने चाकडी चाप्लुसी र बृफकेस भए सबै पाइन थाल्यो ।
दन्ता, केशा, नखा नराः
मान्छेका मुखमा रहुन्जेल दाँतको कत्रो ठूलो सम्मान हुन्छ । समग्र मुखशोभा भएर पनि रहेको हुन्छ । दाँतलाई माझ्ने, बलिया बनाउने, टलक्क टल्काएर राख्नेमात्र होइन दन्तोपचारमा समेत अति ध्यान दिएको देखिन्छ । दाँतमा कुनै तलमाथि पर्दा तुरुन्त चिकित्सकनेर गएर सरसल्लाह र उपचारको काम पनि गर्दछौं किनभने सबैभन्दा पहिले अर्काले देख्ने भनेको नै दाँत हो । दाँतले व्यक्तिको व्यक्तित्वलाई सुनमा सुगन्धको काम गर्दछ भन्ने पश्चिमाका भनाइमा पनि आंशिक सत्यबोध रहेको देखिन्छ । देश चलाउने नेताका अनुहार र चरित्रमा देशको चरित्र झल्कन्छ । केश पाल्ने र फाल्ने दुई प्रकारको चलन अति प्राचीन समयदेखि नै पूर्वपश्चिम दुवैतिर चल्दै आएको इतिहास देखिन्छ ।
पौरस्त्य जगत्का नारीको चुल्ठो नै शिखा मानिने भएका कारणले पूर्वका नारीले कपाल शरीरका कुनै पनि रौं काट्दैनथे । लामो कालो बाक्लो कपाल नारीको सौन्दर्यवद्र्धक तत्व मानिन्छ । अचेल त केशमा अनेकौं प्रकारका सुगन्धित द्रव मर्दन गर्ने, अनेक रङ रङाउने समेत प्रचलन छ । यौवनका खुटिकला उक्लँदै गरेकी एउटी केटीको केशप्रसाधनसामग्री एक दिनको पाँच हजार रुपैयाँसम्म लाग्ने गरेको मैले भेटेको छु । बालकृष्ण समका घरमा जति मुखप्रसाधनद्रव नेपालमा त्यो बेला अरू कसैका पनि घरमा खर्च हुँदैन रे भन्थे । हात गोडाका औंलामा हुने नङको पनि आफ्नै प्रकारको महिमा रहेको देखिन्छ । लगभग ९९ प्रतिशत नारी सानैदेखि नङ रङ्गाउने, लामो बनाएर पाल्ने गर्दथे ।
योगप्रसाद उपाध्याय गृहमन्त्री भएका बेला उनले केटीलाई सुरक्षित रहन लामा नङ पाल जिस्क्याउन आउने केटाको मुख चिथोर या त नङमा खोर्सानीको धुलो लुकाएर राख र त्यस्ता केटाका आँखामा हाल्देओ भने भनेर पत्रपत्रिकामा उनको घोर निन्दा भएको थियो । उहाँ अनुपामकै मान्छे हुनुहुन्थ्यो आफैं गृहमन्त्री, आफैँ किसुनजीको चुनाव प्रचार समितिको संयोजक, आफैं मतदाता रहनुभएको रहेनछ । मतदान गर्न बुथमा गएपछि पो चाल पाएको खबर पत्रिकामा छापिएको थियो । हो, यसरी मानवीय चिन्तन, सोच, चरित्र र केही गरौं भन्ने भावनाका ठाउँमा म, मेरो, मेरा भन्ने भावनाको बाढी बग्दा मान्छे कसिंगरमा रूपान्तरण हुन्छ ।
जसरी छँदाखाँदाको मुखको दाँत फुक्लेपछि, हातगोडाका नङ काटेपछि, कपाल काटेपछि र मति बिग्रेका मान्छेलाई ठीक ठाउँमा राख्न नसकेपछि तिनले काहिँ पनि शोभा पाउँदैनन् ती फोहोरमा रूपान्तरित हुन्छन् । ठीक यसैगरी अहिले नेपालका राजनीतिकर्मी फोहोर, नचाहिने तत्वका रूपमा परिणत भएका देखिन्छन् । सामान्य किसान मजदुर, विद्यार्थी, प्राध्यापक, वकिल, पेशागत कुनै पनि क्षेत्र र तहका मान्छेले स्याबास भन्ने चरित्र भएको कुनै पनि राजनीतिकर्मी आजको नेपालमा छैनन् यो किन भयो ? के सारा नेपालीको रुचि बिग्रियो ? यो पक्कै होइन भनेर लाटाले पनि भन्छ । कुराउनी अति नै मीठो र पवित्र खाद्य हो त्यो कुहृयो भने सारै नराम्ररी गनाउँछ ।
राजनीतिमा लागेको मान्छे पनि समाजसेवा र समाजकै आदर्श चरित्रको आफैँ उदाहरण बनेर समाजलाई देखाउन मैदानमा आएको व्यक्तिका रूपमा उसलाई समाजले हेर्न चाहेको हुन्छ, त्यस रूपमा आफ्नो समर्थित व्यक्तिलाई नपाउँदा सबैतिर हेर्छ । सबैतिर त्यस्तै देखेपछि निराश भएर नकारात्मक दृष्टि र सोचको विकास हुनपुग्छ समग्र राष्ट्र आज यही मनोवैज्ञानिक अवस्थाबाट गुज्रेको देखिन्छ । कुलपतिका हैसियतले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा कुलपति खड्गप्रसाद शर्मा ओलीले बोलेका कुरालाई पनि स्थान र मतिभ्रष्ट भएको प्रमाणका रूपमा लिन सकिन्छ ।
इति विज्ञाय मतिमान् स्वस्थानं नपरित्यजेत्
दल या पार्टी भनेको पनि मिल्दो विचार, आचरण र चिन्तन भएका मानव समूहको संगमस्थल हो । यसमा समानता, स्वतन्त्रता र योग्यताको कदर गर्ने नीति अख्तियार गरेको हुन्छ । योग्यताको कदर भएन, चारित्रिक पवित्रता र अपवित्रताको मूल्यांकन भएन भने दलमा विकृति आउँछ । संगठन असंगठित बन्दै जान थाल्छ । विरोध र समर्थनको समान कदर गर्नका निमित्त प्रजातन्त्रमा विरोधको अवसर विधानले नै प्रत्याभूत गराएको हुन्छ । प्रजातन्त्र भनेको विधि र मर्यादाका दृष्टिले समानता, स्वतन्त्रता, निर्भय र विश्वभ्रातृता हो । यसो भएको हुनाले विज्ञजन या बुद्धिमान् मान्छेले यो कुरो बुझेर आफ्नो संस्कार, कुलपरम्परा र मर्यादामा आँच आउने खालका कुनै पनि काम गर्दैन । यसरी हेर्दा अहिले जसरी डा.शेखर कोइराला देशका पहाड, तराई, हिमालका गाउँगाउँ र बस्तीबस्तीमा पुगेका देखिन्छन् ।
तिनले भने कांग्रेसको प्रागितिहासको मर्यादा र विराटनगरे कोइराला जो पिताजी कृष्णप्रसादका सन्तानका रूपमा चिनिँदै र देखापर्दै आएका छन् तिनीहरूमध्ये अब्बल दर्जाका कोइराला बनेर निक्लेलान् जस्तो अभिलक्षण देखाएका छन् । भारतीय राष्ट्रिय कांग्रेसका नेहरू परिवारमा आएको अहंबोधलाई अटलविहारी बाजपेयीले धूलीसात गराएका थिए भने लग्भग शासन सत्ता सम्हाल्ने शक्तिका दृष्टिले नेपाली कांग्रेस पनि नेपालमा भारतीय राष्ट्रिय कांग्रेसकै अवस्थामा पुगेको वर्तमान बेलामा आफ्नो मौलिक पहिचान र परिचय बनाउँदै डा.शेखर कोइराला बाङ्ला भाषाका नोबेल पुरस्कार विजेता रवीन्द्रनाथ ठाकुर झैँ एक्लै हिँड्न लागेका छन् । उनले भनेका थिए ‘अकेला चलो रे’ जसरी कपडा घस्टिएर मैलन्छ पातलिन्छ अनि अर्को नयाँ कपडा सिलाएर हामी लाउँछौं त्यसैगरी जब कुनै मूल्यमान्यता, आचार विचारमा शिथिलता आउन लाग्छ अनि बुद्धिमान् मान्छे त्यसका ठाउँमा नवप्रवर्तनका लागि प्रयत्नशील बन्छ ।
अहिलेका कांग्रेसमा डा.शेखरको प्रयास त्यतैतिर अभिकेन्द्रित भएको देखिएको छ । नेपाली बौद्धिक समुदाय पनि कम अनुदार छैन । हिजो राजा महेन्द्रको जयगान गाएर नथाक्ने पछि बपिी र गणेशमानको जयगानका धुन गुन्गुनाउँदै हिँड्थे र सामुन्ने पर्दा धनुष्टंकार अभिवादन पनि गर्न भ्याउँथे । कोशी गण्डक बेचुवा भनेर महेन्द्रले सिकाएको नारामा रमाउने हाम्रेडानन्द आज खाम्रेशानन्दका वैशाखी बनेका छन् । हाम गर्न पाउँदा आनन्द मान्ने जीवमा परिणत भएका छन् देव्रेमुड्कीहरू भने खान पाउँदा गुहेकीरालाई पनि ईश्वर मान्न लागेका छन् । हिजो जसलाई हामी कांग्रेस भनेर चिन्थ्यौँ तिनीहरू । खाम्रेशानन्द र हाम्रेडानन्द दुवैमा आमूल परिवर्तनको आवश्यक्ता देखिएको छ ।
अहिले दारा र नंग्रा भएका कुलमा जन्मे पनि कांग्रेसको गन्ध आउने थोत्रो टालो फेटा बाँधेर राजनीतिक पद पड्काउन पिटिक्क लाज नमान्ने जमातले भरिन लागेको छ कोइरालाले सिर्जना गरेको देश चलाउने संयन्त्र कांग्रेस । आजसम्मै पनि कृष्णप्रसाद कोइरालाका बुहारी, नातिने बुहारी भने यसरी बेशर्म बनेर मैदानमा देखिएका छैनन् ।
चौध हजार विद्यार्थीलाई दीक्षा दिन गएका कुलपति र सहकुलपतिका भाषण सुन्दा गोठाला खेतालालाई बारीका आलीमा बसेर तालुकदार तथा तालुकदार्नीले उपदेश दिएको जस्तो लाग्थ्यो । न दर्शन, न ज्ञान, न व्यवहार, न त राष्ट्र निर्माणका लागि कुनै योजना र सन्देश हाय रे मेरो देश !!! यस प्रकारका रित्ता दिमागले हाँकेका मुलुकका युवक युवतीको हालत के होला ? बालकृष्ण सम, वैरागी काँइला, कर्ण सिंहका भाषण पढेर गएका भए पनि एक दुई शब्द त गहकिला पर्थे होला हाय रे हलीबुद्धि । दीक्षान्त दिन कुलपति गए पनि अन्तर्राष्ट्रिय विद्वान्बाट दीक्षान्त भाषण गराउने प्रतिज्ञा गराउने चलन पनि मेरिटोक्रेसी बोकेर आएका बरालले कता लगेर बराले छन् ?
ताकेको फल मुठीभित्र नपरी हट्दैन शूरो नर
कृष्णप्रसाद कोइरालाका साइँला छोरा, दिव्या कोइरालाका माइँला छोरा केशवप्रसाद कोइराला जसले राजनीति, कृषिनीति र गृहनीतिलाई एकत्रित गराएर एउटा मानक तयार गरेको थियो । शरीरको छायाँ जसरी शरीरसँगै रहन्छ त्यसैगरी आफूलाई पतिका इच्छा र चाहनामा समर्पित गर्ने नारीरत्नमध्येकी एक थिइन् नोना कोइराला पनि । सुशीला, नोना र रोशा कृष्णप्रसाद कोइरालाका बुहारीका रूपमा भित्रिएका महासरस्वती, महालक्ष्मी र शैलपुत्रीका रूपमा आएका थिए । जसले कहिल्यै पनि राजनीतिक पदको आकांक्षा गरेनन् । राजनीतिको जूवा काँधबाट ओर्लन पनि दिएनन् र राजनीतिका कारणले पाउने पदको पनि अभिलासा कहिल्यै यिनले राखेनन् ।
अहिले दारा र नंग्रा भएका कुलमा जन्मे पनि कांग्रेसको गन्ध आउने थोत्रो टालो फेटा बाँधेर राजनीतिक पद पड्काउन पिटिक्क लाज नमान्ने जमातले भरिन लागेको छ कोइरालाले सिर्जना गरेको देश चलाउने संयन्त्र कांग्रेस । आजसम्मै पनि कृष्णप्रसाद कोइरालाका बुहारी, नातिने बुहारी भने यसरी बेशर्म बनेर मैदानमा देखिएका छैनन् । देशभरिका तमाम कार्यकर्ताले दिएको आमा, भाउजू भन्ने सम्मानलाई खास्टो ओढे झैँ ओढेर प्रजातान्त्रिक आन्दोलनका विरुद्ध मडारिएका काला बादलका विरुद्ध चट्टान बनेर उभिएका नारीमध्ये एउटीका छोरा हुन् डा.शेखर । उनलाई त्यो संस्कारले पनि हीनगतिविधि गर्न दिँदैन तर पनि शुभेच्छुकले चाकडी, चाप्लुसी होइन सजग सतर्क गराई नै रहनुपर्दछ ।
यति भयो भनेमात्रै १५औं महाधिवेशनले लक्ष्य प्राप्त गर्न सक्नेछ । चुनावमा जित हार हुन्छ । मूल कुरो हो कांग्रेस कांग्रेस जस्तो बनेर आउनुपर्छ । कांग्रेस हिमाल, तराई र पहाडका तमाम तह र तप्काको शरण्यकेन्द्र बन्नुपर्छ जसरी बीपीले बनाएका थिए । नेहरूले बनाएका थिए । भुट्टो र शेख मुजिबुर्रहमानले बनाएका थिए । पछिल्लाले त्यही बनाएर राख्न नसक्दाको परिणाम हामीले देखेकै छौं । हो, त्यसरी काम गर्नेलाई नेता मान्छौं, हामी नेता बन्दैनौं भ्रष्टलाई नेता मान्दैनौँ भनेर जनता जाग्नुपर्छ । कालो हृययं निरवधिः विपुला च पृथ्वीः । समय सीमाविहीन छ र पृथ्वी पनि अत्यन्त नै चौडा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच