काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवामाथि कमिसन खानलाई डडेलधुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाउनुभएको छ ।
बिहीवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले काँग्रेस सभापति देउवामाथि यस्तो आरोप लगाउनभएको हो । उहाँले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न सकेको जानकारी हुँदाहुँदै पनि विमानस्थल निर्माणका निर्णय गर्नु देशलाई नोक्शानी मात्रै हुने बताउनु भयो ।
उहाँले छिमेकी जिल्लाहरु बैतडी र डोटीका विमानस्थल चल्न नसकिरहेको अवस्थामा डडेलधुरामा पनि विमानस्थल बनाउन खोज्नु ठेक्कामा कमिसन खानु रहेको बताउनु भयो । उहाँले उदयपुर र डडेलधुरामा विमानस्थलको आवश्यकता नरहेको उल्लेख गर्नुभयो । मेरो जिल्लामा पनि मैले विमानस्थल ल्याइदिएँ भनेर जनतालाई भन्न पाउने बाहेक अरु कुनै उद्देश्य नरहेको बताउनु भयो । विमानस्थलहरु चल्न नसकेपछि त्यसको जिम्मेवार निर्णय गर्नेहरुले लिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘एकातर्फ नेपाल वायुसेवा निगम घाटै घाटामा छ भन्ने सुन्छु । अर्कोतर्फ विशाल, विशाल बिल्डिङहरु बनाउँछौँ । यो बिल्डिङ नबनाइ नहुने स्थिति के थियो ? अलि सस्तो मूल्यको बनाएको भए हुँदैन थियो, बनाउनैपर्ने भएपनि । यो अर्बौंअर्ब खर्च गरेर त्यसले के हुन्छ परिणाम ? सरकारले अरु ठाउँमँ पनि त्यही काम गरेको हुनाले हामीले त्यही सिको गरेका हौँ भन्ने होला । हाम्रो बानी पनि त्यही छ । बनाएका विभिन्न संरचनाहरु हेर्ने हो भने मन्त्री क्वार्टर त्यस्तै छ, प्रधानमन्त्री क्वार्टर त्यस्तै छ । जम्मै ठाउँ त्यस्तै छ भने हामीले किन नगर्ने ? आवश्यकता नै नभएका विमानस्थल बनाइरहेका छौँ । विमानस्थलको आवश्यकता छ ? अहिले त्यो विमानस्थल बनाउने निर्णय गर्नेहरु दोषी हुन्छन् की हुँदैनन् ? त्यत्रो विमानस्थल चलिरहेको छैन, लगानी त्यत्तिकै खेर गयो, त्यो नोक्शान भइरहेको छ नेपाल सरकारलाई । त्यसको निम्ति को जिम्मेवार । अहिले पनि त्यो जारी छ । अब जिल्लाको नाम भन्यो थाहा होला फेरि अरु कसैलाई । सुन्नुहोला, शेरबहादुरजीले । ए मेरो जिल्लामा पो आँखा गाड्नुभयो भन्नुहोला । त्यो चल्छ त्यहाँ विमानस्थल ? बैतडीमा चलिरहेको छ ? त्यति नजिकै विमानस्थल त्यहाँ डोटीमा छैन ? के छ त्यसको हालत ? भनेपछि त्यो विमानस्थल बनाउनुपर्ने किन ? उदयपुरमा के आवश्यकता छ ? किन बनाउनु प¥यो । भनेपछि त्यहाँ ठेक्का लाग्छ, ठेक्कामा कमिसन खान पाइन्छ । सिधा त्यो कुरा बाहेक अरु केही पनि होइन । अलि जनतालाई भन्ने मौका पाइन्छ, मेरो जिल्लामा पनि मैले विमानस्थल ल्याइदिएँ । यस्तै कुराहरुले पनि धेरै नोक्शानी भइरहेको छ ।’
अध्यक्ष नेपालले नेपाल वायुसेवा निगम घाटामा छ भन्ने र अर्कोतर्फ आवश्यक नभएका ठूला बिल्डिङहरु किन बनाएको भन्दै प्रश्न गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच