काठमाडौं । चालु आर्थिक वर्ष (आव)को ६ महिनामा अघिल्लो आवको पहिलो ६ महिनाको तुलनामा नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता घट्न पुगेको छ । उद्योग वाणिज्य विभागको तथ्यांकअनुसार अघिल्लो आवको पहिलो ६ महिनाको तुलनामा चालु आवको पहिलो ६ महिनामा १ अर्ब ५५ करोड ९१ लाख बढीले घटेको हो । संख्यात्मकरूपले भने अघिल्लो आवको ६ महिनाको तुलनामा चालु आवको ६ महिनामा उद्योग खोल्ने प्रतिबद्धताको संख्यामा वृद्धि भएको छ ।
तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालमा २० अर्ब ७७ करोड ७३ लाख ६३ हजार ४०० बराबरको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २२ अर्ब ३३ करोड ६५ लाख १७ हजार रुपैयाँ बराबरको यस्तो प्रतिबद्धता आएको थियो ।
पछिल्लो दुई वर्षको तथ्यांकलाई हेर्दा नेपालको पर्यटन क्षेत्रमा वैदेशिक लगानी प्रतिबद्धता सबैभन्दा धेरै आउने गरेको देखिएको छ । चालु आवमा नेपालको पर्यटन क्षेत्रमा १४५ वटा उद्योगमा १२ अर्ब ७६ करोड ५५ लाख रुपैयाँ बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ ।
जुन सो अवधिमा आएको कुल विदेशी लगानी प्रतिबद्धताको ६२ प्रतिशत हो । अघिल्लो आर्थिक वर्षमा पर्यटन क्षेत्रमा यस्तो प्रतिबद्धता कुल लगानीको ३० प्रतिशत आएको थियो ।
त्यस्तै, विदेशी लगानीको दोस्रो रोजाइको क्षेत्र सेवा क्षेत्र देखिएको छ । चालु आवमा नेपालको सेवा क्षेत्रमा कुल विदेशी लगानीको २३ प्रतिशत अर्थात् चार अर्ब ८३ करोड १० लाख रुपैयाँ बढीको आएको देखिएको छ । अघिल्लो आर्थिक वर्षमा सेवा क्षेत्रमा ३३ प्रतिशत लगानीको प्रतिबद्धता आएको थियो । तर, चालु आवमा संख्यात्मक हिसाबले भने विदेशी लगानीको दोस्रो आकर्षण सूचना प्रविधि क्षेत्रमा रहेको देखिएको छ । सो क्षेत्रमा समीक्षा अवधिमा १०६ वटा उद्योगमा लगानीको प्रतिबद्धता आएको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा नेपालमा ३ वटा ठूला उद्योग, ४ वटा मध्यमस्तरका उद्योग र ३१२ वटा साना उद्योग सञ्चालन गर्ने नाममा विदेशी लगानी प्रतिबद्धता आएको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो प्रतिबद्धता क्रमशः ३, १२ र २११ वटा आएको थियो । चालु आर्थिक वर्षको ६ महिनामा नेपालमा वैदेशिक लगानी प्रतिबद्धता जनाउनेले नौ हजार २०६ जनालाई रोजगार दिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
१६ प्रतिशतमात्र विकास खर्च
आधा वर्ष बितिसक्दा पनि सरकारले विकास खर्चको गति बढाउन सकेको छैन । जम्मा १६.१६ प्रतिशतमात्रै विकास खर्च भएको छ । गत वर्ष पनि ६ महिनाको अवधिमा विकास खर्चमा छुट्याएको कुल बजेटको १६ प्रतिशत हाराहारीमात्रै खर्च भएको थियो ।
चालु आवको ६ महिनासम्म सरकारले विकास निर्माणको काममा कुल विनियोजित बजेटमध्ये ५६ अर्ब ९३ करोड ५० लाख रुपैयाँ खर्च गरेको छ । जुन १६.१६ प्रतिशतमात्रै हो । जबकि सरकारले चालु आवमा तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखेको छ । यसअघि सरकारले प्रत्येक वर्ष विकास (पुँजीगत) खर्चमा सुस्तता गरेको भन्दै लक्ष्यभन्दा न्यून खर्च गर्दै आएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच