
विमल भौकाजी
नेपाली साहित्यमा त्यति परिचित नाम होइन- भानुप्रकाश जोशी । यद्यपि, राजधानीभित्र हुने साहित्यिक गोष्ठी-समारोहहरूमा देखिइरहने अनुहार हो उनको । यस अर्थमा, भन्न सकिन्छ-साहित्यनुरागी मात्रै हुनुले पनि साहित्यको विकासक्रमलाई अघि बढाउन निकै मद्दत गर्छ । त्यसो त, भानुप्रकाशको प्रत्यक्षतः कार्यक्रमहरूमा सहभागिता मात्रै देखिए तापनि उनको नदेखिएको वा उनी आफैंद्वारा नदेखाइएको रूप भनेको उनको स्रष्टा-व्यक्तित्व हो ।
यो सत्य हो, मान्छेभित्र रहेको असाधारण प्रतिभा देखिन समय लाग्छ तर त्यसको सङ्केत जुनसुकै समयमा पनि देख्न सकिन्छ । यही अवधारणामुताबिक भानुभित्र लुप्त प्रतिभाको सङ्केत स्कुले-कालदेखि नै देखिएको थियो भने प्रत्यक्षतः बेला-बखतमा उनीद्वारा सिर्जित रचनाहरूले त्यसलाई पुष्टि गर्ने गरेका थिए । अन्ततः खुला रूपमा उनीभित्रको प्रतिभा एउटा किताबमा अनुवाद भएर भर्खरै देखापर्यो । कवितासङ्ग्रहको नाममा आएको पुस्तकको नाम रहेको छ- ‘श्वेताम्बरा’ । तर, कवितासङ्ग्रह भनिए पनि यसभित्र मुक्तक, हाइकु, गजल, गीति-कविता, बालगीतसमेत समेटिएका छन् । आयतनको हिसाबले यो पुस्तक सानो छ, जम्मा ७० पृष्ठको । तर, पनि यसमा ३९ थान रचनाहरू अटाइएका छन् ।
प्रायः सबै कविताको शैली छन्दात्मक छ । गद्य कविताहरूमा पनि करिब-करिब अनुप्रास मिलाउन खोजे जस्तो उही शैली देखिन्छ । वास्तवमा, कविता लेख्ने शैली कविहरूको एकैखाले हुन्छ भन्न सकिन्न, हुनैपर्छ भन्ने पनि छैन । यस अर्थमा, भानुप्रकाशले लेख्ने कवितामा पनि उनको आफ्नैपन छ ।
पाठ्यक्रममा रहेका पुस्तकभित्र समेटिएका लेखक-कविहरूका कविता पढेर हुर्किएका उनी त्यसबेलादेखि नै साहित्यिक वातावरणबाट प्रभावित थिए, उनले पुस्तकमै भनेका छन् । ‘श्वेताम्बरा’ भित्र समाविष्ट उनका रचनाहरूले पनि यो तथ्यको पुष्टि गर्छन् । पछि आएर त उनले विभिन्न साहित्यिक समारोहकै प्रयोजनार्थ निश्चित् रचनाहरू सिर्जना गर्न लागे ।
‘गजलको माहौलमा म त रमाएँ
कविताको लहरमा म त हराएँ
रिस, राग, द्वेष, क्लेश सबै हरायो (ए)
मनको मैलो धोइपखाली म त रमाएँ ।’
बन्दीपुरमा जन्मिएका भानुप्रकाशको साहित्यिक इतिहास रमाइलो छ । आफ्नो जन्मस्थानको विद्यालयमै अध्ययन गर्थे । उनले पनि सामान्यतः अरूहरूले जस्तै पाठ्यक्रममा नेपाली साहित्यका धुरन्धर कविहरू- आदिकवि भानुभक्त आचार्य, युवाकवि मोतीराम भट्ट, महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्यालका कविता पढ्ने गर्थे । एक दिन अचानक स्थानीय कवि-गीतकार प्रेमविनोद नन्दनद्वारा लिखित ‘अञ्जली’ नामक पुस्तक हात परेपछि भने सम्भवतः उनीभित्रको साहित्यिक चेत पनि जुर्मुरायो । त्यसपछि नारायणघाटमा आएर पढ्न लागेपछि, स्कुलमा नेपाली विषय पढाउने गुरुको अग्रसरतामा कविता लेख्न लगाइएर प्रत्येक शुक्रवार कविता गोष्ठी हुन लाग्यो ।
आजभन्दा ५० वर्षअघिको कुरा थियो त्यो । र, वाचित तिनै कविताहरूको सङ्कलन गरेर एउटा सङ्ग्रह नै प्रकाशित गरिएपछि भानुको साहित्यक मनले गोरेटो पहिल्यायो । यही क्रममा कलेज पढ्दा आनन्ददेव भट्टजस्ता लेखकको मातहत साहित्यिक वातावरणमा रम्न पाएपछि उनले विद्यार्थी साथीहरूसँग मिलेर ‘प्रकाश पुञ्ज’ नामक मुखपत्र प्रकाशन गरे ।
अब रोकिएन उनको साहित्यिक यात्रा । लेख्नका साथसाथै त्यसभन्दा बढी अन्य लेखकहरूलाई समेत प्रोत्साहन हेतु उनी साहित्यिक सङ्कलनहरू प्रकाशित गर्न उद्दत भए । यही समयबीच एउटा रोमाञ्चकारी घटना के छ भने त्यसबेला प्रकाशित सम्पूर्ण सङ्ग्रहहरू उनका अभिभावकले कतिपयलाई आगो लगाइदिए भने कतिपय खाल्डोमा पुरिदिए । कारण थियो तत्कालीन प्रशासनको डर । आज उनका साथ त्यो इतिहासको झझल्को मात्रै छ, उनका साथ त्यतिखेरका कुनै पनि सङ्कलित सङ्ग्रह छैनन् । त्यो समयमा लेखेको एउटा रचनाको सानो अंश यस्तो छ-
‘ए नारी !
तिमी अबला रे !
पुरुषको कठपुतली रे !
तर तिमी यीमध्ये
एक पनि होइनौ ।...
समाजमा तरबार नचाएर
यसैको चमकमा जिउनुपर्छ
जिउन सक्नुपर्छ ।’
‘श्वेताम्बरा’मा समाविष्ट उपर्युक्त कविता र अन्य केही कविताबाहेक यसमा सबै कविताहरू ६० को दशकपछि लेखिएका छन् । सामान्यतः यी कविताहरूमा पढ्दा उनले लेख्ने कविताको शैलीलाई स्पष्टै बुझ्न सकिन्छ । प्रायः सबै कविताको शैली छन्दात्मक छ । गद्य कविताहरूमा पनि करिब–करिब अनुप्रास मिलाउन खोजे जस्तो उही शैली देखिन्छ । वास्तवमा, कविता लेख्ने शैली कविहरूको एकैखाले हुन्छ भन्न सकिन्न, हुनैपर्छ भन्ने पनि छैन । यस अर्थमा, भानुप्रकाशले लेख्ने कवितामा पनि उनको आफ्नैपन छ ।
त्यसो त, प्रकाशित हुनअघि यी कविताहरूको राम्रो अध्ययन गरेर पुनः केही संशोधन गर्न सकिने ठाउँ देखिन्छ । कवि-उमेरको हिसाबले पुस्तक प्रकाशन हुन पक्कै ढिलो भएकै हो तर प्रकाशित भइसकेपछिको यो किताबको रूप हेर्दा हतारिएर निकालिएको स्पष्ट देखिन्छ । धेरै ठाउँ कवितामा ‘प्रुफ मिस्टेक’ देखिन्छन् । कवि-लेखकको व्याकरण वा शुद्धाशुद्धि सबै सही हुन्छ भन्ने छैन, भएमा उत्तम त हुन्छ नै । तर, यो सङ्ग्रहको सन्दर्भमा कम्तिमा सामान्य सम्पादन गर्न जान्नेलेमात्रै हेरिदिएका भए पनि यत्तिका अशुद्ध हुने थिएन । केही अशुद्धताहरू हेरौँ- पाई रहूँ, भरी, ईश्वर, शीर, धर्का धर्कि, जीवन, दुखि, खुसि, सँधै आदि ।
पुस्तक भनेको लेखकको लागि आफ्नो शरीरको एउटा महत्वपूर्ण अङ्गबराबर हुन्छ । यस दृष्टिकोणले भन्नुपर्दा, प्रकाशित किताब बिग्रनु भनेको हुँदाहुँदैको आफ्नो शरीरको कुनै सग्लो अङ्ग अपाहिज हुनुजस्तै हो । यसलाई ख्याल राखेर, अब आइन्दा पुस्तक प्रकाशन गर्नुअघि कवि भानुप्रकाशलाई सचेत रहन म आग्रह गर्दछु । यो किन पनि भने, भाषिक अशुद्धताले कविताको मर्मलाई नै बिटुल्याउन सक्छ । समग्रमा, सङ्ग्रहभित्रका कविताहरू रसिला छन् ।
आफ्नै पुस्तक को समिक्षा विद्वान मित्र विमल भौकाजी ले लेख्नु भएको पढेँ । हर्ष ले प्रफुल्लित भएँ । धेरै धेरै धन्यबाद छ मित्र र हिमालय टाइम्स लाइ ।