
म्याग्दी । रोगले केराको बोट सुक्न थालेपछि म्याग्दीमा केरा खेती गरेका किसान चिन्तित बनेका छन् । जिल्लाको बेनी नगरपालिका, रघुगंगा र मंगला गाउँपालिकाका विभिन्न गाउँहरुमा गरिएको केरा खेतीमा रोग देखिएको हो ।
पसाउन ठिक्क परेका हजारी जातको केराको पात र बोट नै सुक्न थालेको छ । केराको बोट पहेँलो हुँदै जाने, भित्रको गुवो कुहिने, पसाउने प्रक्रिया पनि रोकिँदै, बोट सुक्दै जाने रोग देखिएको किसानहरुले बताएका छन् ।
“हिउँदमा पानी नपरेपछि केराका बोट खडेरीले खाएझैँ सुक्न थालेका छन्” पश्चिम म्याग्दीको मंगला गाउँपालिका ३ का किसान टेकबहादुर खड्काले भन्नुभयो “के भएर यस्तो भएको हो पत्ता लाउनै सकिएको छैन, खडेरीले खाएको जस्तो बोट सुकेका छन्,गुबो झरेको छ,कोसा पसाएको छैन ।” खड्काले चार रोपनी क्षेत्रफलमा सात सय केराका बोट लगाउनु भएको छ ।
त्यसैगरी विगत पाँच वर्षदेखि केरा खेती गर्दै आउनुभएका बेनी नगरपालिका २ बगरफाँटका खिमबहादुर कार्कीले पनि केरामा नयाँ किसिमको रोग देखिएको बताउनुभयो । “छ वर्षदेखि केरा खेती गरिरहेको छु, अहिलेको जस्तो बोट नै सुकेको मैले देखेको थिइन्,” उहाँले भन्नुभयो ।
कृषि प्राविधिकहरुले पनि रोग पहिचान गर्न नसकेको उहाँले बताउनुभयो । केरा फल्ने बेला रोगले हैरानी दिएको किसानको गुनासो रहेको छ ।
जिल्लाका खबरा,बगरफाँट,राखु,अर्मन,पिपलबोट लगाएतका ठाउँका कृषकले केरा खेतीबाट राम्रो आम्दानी गर्दै आएकोमा अहिले केराको बोटै सुक्ने रोग देखिएपछि आम्दानी घट्ने भएको छ ।
विगत १४ वर्षदेखि केरा खेती गर्दै आउनुभएका बेनी नगरपालिका २ खबराका चन्द्रबहादुर कार्कीले केरा विक्री गरेर वार्षिक रु सात लाख भन्दा बढी आम्दानी गर्दै आउनुभएकोमा यस वर्ष रोगका कारण आम्दानी घट्ने बताउनुभयो ।
त्यसैगरी आफूले धान फल्ने खेत मासेर केरा खेती गर्नुभएका बगरफाँटका दुर्गाबहादुर थापाले पहिला पहिला सामान्य किसीमको रोग देखिने गरेको र औषधी प्रयोग गरेपछि ठीक हुने गरेकोमा यस वर्ष केराका बोट नै बगैंचामा सुक्दै गएका बताउनुभयो । औषधी प्रयोग गर्दा पनि समस्या समाधान नभएपछि यस वर्ष आम्दानी घट्ने उहाँको भनाइ छ ।
त्यसैगरी उत्तरी म्याग्दीका किसानका बगानमा पनि केराका बोट सुक्ने समस्या बढ्दै गएको छ । रिसिङचौतारी र हिस्तानका किसानले लगाएका केरा पनि नपसाउँदै सुक्न थालेका छन् । “हाम्रो पनि केरा सुकेका छन्, के भएको हो खै,” राखु रिसिङचौतारीका किसान पदम भण्डारीले भन्नुभयो ।
म्याग्दीमा पछिल्लो पाँच वर्षमा केरा खेती गर्ने किसान दोब्बरले बढेका छन् भने खेती गर्ने क्षेत्रफल पनि दोब्बर भएको पाइएको छ । उत्पादन भने तेब्बर बढी वृद्धि भएको छ । यस वर्ष भने रोगले केराको बगैंचा नै सखाप पार्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच