
अर्घाखाँची । अर्घाखाँची-मालारानी गाउँपालिकाको गाउँसभाको फागुन ४ गते आयोजित १८औं अधिवेशनको दोस्रो बैठकले पालिकाको छ वटा महत्वपूर्ण विषयहरुमाथी छलफल गरि निर्णयार्थ प्रस्तुत भइ सर्वसम्मत रुपमा पारित गरेको छ।
सभाले आर्थिक र विनियोजन विधेयकको संसोधन प्रस्तावमाथी छलफल गरी आर्थिक र प्रशासनिक नीतिमा महत्वपूर्ण परिवर्तनका लागि आधार तयार गरी सर्बसम्मत पारित गरेको छ।
गाउँसभाको पहिलो बैठकमा शून्य समयको उपयोग गरि सभाका सदस्यहरूले उठाएका समसामयिक सवालको जवाफ प्रस्तुत गरिएको थियो जसले सदस्यहरूबीच स्पष्टता र पारदर्शिता कायम राख्न सहयोग पुर्यायो। यसले आगामी छलफलहरूका लागि सकारात्मक वातावरण सृजना गरेको थियो।
पहिलो बैठकपछि थप छलफलका लागि विधायन समितिमा पठाइएको आर्थिक विधेयकको संशोधन प्रस्ताव माथि समितिले विस्तृत छलफल गरी तयार गरेको प्रतिवेदनलाई निर्णयार्थ प्रस्तुत गरेको थियो। त्यसै गरि विनियोजन विधेयकमा गरिएको संशोधन प्रस्तावलाई पनि विधायन समितिबाट प्रतिवेदन तयार पारेर निर्णयार्थ प्रस्तुत गरिएको थियो। यसमा प्रस्तुत प्रस्तावलाई सभाका सदस्यहरूले गहिरो अध्ययन र छलफलपछि सर्वसम्मत पारित गरेका छन्। यसले बजेट विनियोजन प्रक्रियामा सुधार र दिगो विकास सुनिश्चित गर्ने महत्वपूर्ण कदमको रूपमा लिइएको छ।
आर्थिक समिति संयोजकमार्फत सभाध्यक्षले आर्थिक ऐन २०८१ मा गरिने संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेपछि छलफल तथा सुझावहरूको आदानप्रदानपछि प्रस्तावलाई सर्वसम्मत पारित गरियो। यस संशोधनले गाउँपालिकाको आर्थिक व्यवस्थापनलाई थप सुदृढ र आधुनिक बनाउने उद्देश्य राखिएकाले सदस्यहरूले यसमा पूर्ण समर्थन जनाएका थिए।
उपाध्यक्षमार्फत सभाध्यक्षले विनियोजन ऐन २०८१ मा गरिने संशोधन प्रस्तावलाई पनि सभा समक्ष प्रस्तुत गरे। यस प्रस्तावलाई सभाबाट सर्वसम्मत स्वीकृति प्राप्त भयो, जसले बजेटको विनियोजन र खर्चका प्रक्रियामा आवश्यक सुधार ल्याउने कामलाई गति दिने अपेक्षा गरिएको छ।
बैठकको अन्तिम कार्यसूचीको रूपमा मालारानी गाउँपालिकाको वडा नं. ७ का संस्थापक तथा निवर्तमान वडा सदस्य स्व. श्री जीत बहादुर खड्काको हालै भएको असामयिक निधन प्रति गहिरो दु:ख प्रकट गर्दै शोक प्रस्ताव पेश गरिएको थियो। उपस्थित सदस्यहरूले यस प्रस्तावलाई सर्वसम्मत पारित गरे।
गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले गाउँसभाबाट पारित कार्यसूचीहरू मालारानीको समग्र विकासका लागि महत्वपूर्ण रहेको बताउनुभयो। आर्थिक ऐन र विनियोजन ऐनमा गरिएको संशोधनले स्रोत साधनको उचित व्यवस्थापन सुनिश्चित गर्ने उल्लेख गर्दै उहाँले जनताको अपेक्षाअनुसार पारदर्शी प्रशासन सञ्चालन गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो।
प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले विनियोजन प्रक्रियामा सुधार ल्याउन गरिएका संशोधनहरूले बजेट खर्च प्रणालीलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले यसले योजना कार्यान्वयनमा सहजता ल्याउँदै आर्थिक पारदर्शिता बढाउने बताउनुभयो। साथै, प्रशासनिक सुधारसम्बन्धी निर्णयहरूले कार्यसम्पादन प्रक्रियालाई चुस्त बनाउने अपेक्षा गरिएको उल्लेख गर्नुभयो।
गाउँपालिकाकी उपाध्यक्ष दीपा पोखरेलले गाउँसभाबाट पारित विधेयक तथा ऐन संशोधन प्रस्तावहरू विकासका दृष्टिले महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले नीति निर्माणमा जनताको मागलाई प्राथमिकता दिइएको उल्लेख गर्दै पारित निर्णयहरूले मालारानी गाउँपालिकालाई आर्थिक र सामाजिक रूपमा सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
गाउँसभामा पारित निर्णयहरूले मालारानी गाउँपालिकाको नीति निर्माण, बजेट विनियोजन, र प्रशासनिक सुधारलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ। पारदर्शिता र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिँदै अघि बढ्ने गाउँपालिकाको प्रतिबद्धता बैठकमा स्पष्ट देखिएको थियो। आगामी दिनहरूमा पारित विधेयक तथा ऐनहरू कार्यान्वयन चरणमा प्रवेश गरेपछि विकासका क्षेत्रमा ठोस उपलब्धि हासिल हुने विश्वास गरिएको छ। यसैबीच, अर्को सूचना नआएसम्मका लागि गाउँसभा बैठक स्थगित गरिएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच