
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र लोकतान्त्रिक प्रणाली बाहेकका विषयमा हेरफेर हुनसक्ने कुरालाई सामान्य मान्नुपर्ने बताउनुभएको छ । शनिबार प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’को लोकार्पण समारोहलाई सम्बोधन गर्दै लोकतन्त्र र लोकतान्त्रिक प्रणालीबाहेक संरचनागत पक्षहरू बढी सुधार हेरफेर हुनसक्ने बताउनुभयो । उहाँले सातवटा प्रदेश नौवटा हुनसक्ने र सातवटा प्रदेश पाँचवटा हुनसक्ने पनि बताउनुभयो । नागरिकको आवश्यकता हेरेर प्रदेश घटबढ गर्न सकिने उहाँको भनाइ थियो । उहाँले देश, विकास र जनताको आवश्यकताअनुसार सुधार हुने कुरालाई रुवावासी गर्न जरुरी नरहेको जिकिर गर्नुभयो । उहाँले अब राजनीतिक परिवर्तन गर्नुपर्ने, प्रणाली नै हेरफेर गर्न आवश्यक नरहेको भन्दै सुधारहरू गर्ने कुरालाई सामान्य रूपमा लिनुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा पनि हेरफेर र सुधार हुनसक्दछ तर अझ त्यसका संरचनागत पक्षहरू बढी सुधार हेरफेर हुन सक्दछन् । सातवटा प्रदेश नौवटा पनि हुनसक्छ, सातवटा प्रदेश पाँचवटा पनि हुनसक्छ ।
त्यसो भयो भने पनि कुनै रुवावासी गर्नुपर्ने अवश्यक छैन । ६ वटा पनि हुनसक्छ । त्यो देशलाई आवश्यकता, विकासलाई आवश्यकता, जनतालाई आवश्यकता कस्तो हुन्छ, त्यसअनुसार गर्ने कुरा हो । त्यस्तो लोकतन्त्र भनेजस्तो, गणतन्त्र भनेको जस्तो, लोकतान्त्रिक गणतन्त्र भनेको जस्तो आधारभूत कुरा त्यो होइन । जे होस् मैले आफूले आफ्नै जिन्दगीमा जुन सुरुमा माग गरेको थिएँ, आन्दोलनमा लाग्दा, २०२३ सालदेखि । २०२२ सालबाट आन्दोलनमा लाग्दा मैले त्यो माग गरेको थिएँ । लोकतान्त्रिक गणतन्त्र फेरि आफ्नै जीवनमा ल्याएर छोडियो । अब त्यस्तो ठूलो केही राजनीतिक परिवर्तन गर्नुपर्ने, प्रणाली नै हेरफेर गर्नुपर्ने केही छैन, रिफर्महरू गर्नुपर्ने हुनसक्छ । सुधारहरू गर्नुपर्ने हुनसक्छ । सुधार गर्दै अघि बढ्छौँ ।’ ओलीले आफ्नो दुईवटा नागरिकता छ भन्दै प्रचार गर्नेहरूलाई जवाफ फर्काउनुभयो । भूमिगत कालमा नागरिकता फ्ँयाकेर हिँडेको र फर्केर आउँदा नभेटेपछि अर्को बनाउनुपरेको बताउनुभयो ।
राधिका नभएको भए म अहिलेसम्म बाँच्न सम्भव थिएन : ओली
प्रधानमन्त्री ओलीले श्रीमती राधिका नहुने हो भने अहिलेसम्म आफू बाँच्न सम्भव नरहेको बताउनुभएको छ । पत्नी राधिकाको किताब ‘करुणा’को लोकार्पण समारोहमा प्रधानमन्त्री ओलीले राधिका नभएको भए आफू बाँच्न पनि सम्भव नभएको बताउनुभएको हो । ‘जब म बिरामी हुन थालेँ । त्यसपछि उनले मेरो जन्मदिन भव्यताका साथ मनाइदिन्छन् । राधिका नहुने हो भने म अहिलेमसम्म बाँच्न सम्भव थिएन । वास्तवमै थिएन । आँगनको माथिल्लोपट्टि मठ बनाएर हरेक बिहान-बेलुका हुर्काएर तुलसीजस्तै बाँचेको मान्छे हुँ म । जंगलको तीतेपातेजस्तो होइन, जतनले बाँचेको मान्छे हुँ । आज ७३ पुगेँ । भोलि ७४ लाग्छु,’ उहाँले भन्नुभयो । उहाँले आफूलाई बचाउन सजिलो नभएको बताउनुभयो, ‘मलाई बचाउन सजिलो छैन, अलिक गाह्रो नै छ,’ उहाँले थप्नुभयो । पत्नी राधिका शाक्यका इच्छा, आकांक्षाबारे खुलेर चर्चा गर्नुभएको हो । पत्नी राधिकाले आफूसँग भएका विभिन्न मागहरूबारे खुलासा गर्नुभएको हो । उहाँले ‘करुणा’ उपन्यास, कथा वा कहानी केही भए पनि सत्यमा आधारित लेखोट भएको बताउनुभयो । उहाँले पत्नी राधिकाको किताबलाई केही नमिसिएको २४ क्यारेटजस्तै भएको प्रष्ट पार्नुभयो । उहाँले पत्नी राधिकाको पनि भित्रभित्रै केही इच्छा, आकांक्षा रहेको र उक्त कुरा किताब पढेर आफूले थाहा पाएको बताउनुभयो । उहाँले पत्नी राधिकाको जन्मदिनमा फूल दिन नपाए पनि आफ्नोे जन्मदिन भव्यताका साथ मनाइदिने गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले भक्तपुरको बालकोटमा रहेको घर आफ्नो बलबुँताले बनाएको नभई श्रीमती राधिका शाक्यको कमाइबाट बनाएको बताउनुभयो । उहाँले उक्त घर पनि नेपाल ट्रष्टलाई दान गरिसकेको बताउनुभयो । उहाँले आफूजति श्रीमतीसँग खुसी मानिस अर्को सायदै हुने बताउनुभयो ।
प्रधानमन्त्री जस्तो सक्रिय व्यक्ति सायदै होलान् : शाक्य
प्रथम महिला राधिका शाक्यले आफ्ना श्रीमान् प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गर्दै मिहिनेती र कर्मठ व्यक्ति भएको बताउनुभएको छ । शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण गर्न शनिबार आयोजित कार्यक्रममा शाक्यले कतिपयले ओलीलाई अल्छी भन्ने गरेको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नभएको बताउनुभयो । ‘उहाँलाई मन नपराउनेहरूले भन्छन्- उहाँ एक अल्छी व्यक्ति हो, एउटा सिन्को पनि सार्दैनन् । मैले पनि यस्ता कुरा सुनेकी छु । तर, म भन्न चाहन्छु- उहाँ धेरै काम गर्ने व्यक्ति हो । हिजो बिहानदेखि आज बिहान ४ बजेसम्म उहाँ निरन्तर काममा व्यस्त हुनुहुन्थ्यो । अब उहाँलाई सक्रिय भन्ने कि निष्क्रिय ? मेरो विचारमा उहाँजस्तो सक्रिय व्यक्ति सायदै विश्वमै होला,’ शाक्यले भन्नुभयो । ओलीलाई केही ठूलै नेता भन्नेहरूले भैँसी गोठालो र गोठालोको छोरा भनेर हेपेर अन्तर्वार्ता दिएको स्मरण गर्दै शाक्यले एउटा भैँसी गोठालोसँग विहे गरेकामा आफूलाई गर्व लागेको भनेर त्यतिबेलै लेखेको बताउनुभयो । प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेकपा एमालेका उपसचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र बौद्ध भिक्षुणी एवं गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक लोकार्पण गर्नुभयो । प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यको ३७औँ वैवाहिक वर्षगाँठका अवसरमा शनिबार प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहको हलमा उक्त पुस्तक लोकार्पण गरिएको हो ।
लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाइ र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको संघर्ष, कठिनाइ, सफलता र समाजसेवाका विषय समेटिएको बताउनुभयो । पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका विविध उकालीओराली तथा नेकपा एमालेका तत्कालीन नेता ओलीसँग विवाह सम्बन्धमा बाँधिएपछिका अनेक यात्राहरूबारे उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच