महाशिवरात्रिकाे अवसरमा अर्घाखाँचीको दुर्गाफाटमा खुल्ला भजन प्रतियोगिताकाे आयाेजना

अविजित पन्थी
Read Time = 4 mins

अर्घाखाँची । महाशिवरात्रि पर्वको विशेष अवसरमा भोलि अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको दुर्गाफाटमा खुल्ला भजन प्रतियोगिता आयोजना हुने भएको छ । लायन्स क्लब पाणिनी अर्घाखाँचीको आयोजनामा हुन लागेको यस प्रतियोगितामा जिल्लाभरका विभिन्न धार्मिक समूह, भजनमण्डली तथा संस्कृतिकर्मीहरूको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्नेलाई क्रमशः ३३,३३३ रुपैयाँ, २२,२२२ रुपैयाँ, ११,१११ रुपैयाँ तथा ५,५५५ रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने लायन्स क्लब पाणिनीका अध्यक्ष अर्जुन पोख्रेलले जानकारी दिनुभएको छ ।

महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्व हो, जसमा भगवान शिवको विशेष आराधना गरिन्छ । यस अवसरमा अर्घाखाँची जिल्लाको दुर्गाफाटस्थित दुर्वावेश्वर गुफा क्षेत्रलाई प्रचारप्रसार गर्दै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ । आयोजककाअनुसार प्रतियोगिताले धार्मिक पर्यटन प्रवर्द्धनका साथै स्थानीय समुदायमा धार्मिक एकता तथा सांस्कृतिक उत्थानमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको मूल्याङ्कन संगीत तथा धार्मिक क्षेत्रमा अनुभव भएका निर्णायकहरूले गर्नेछन् । प्रतियोगितालाई जिल्लाका प्रमुख धार्मिक तथा सांस्कृतिक कार्यक्रमका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ । स्थानीय समाजसेवी, धार्मिक अभियन्ता तथा स्थानीय बासिन्दाहरूले प्रतियोगितालाई स्वागत गर्दै यसलाई धार्मिक पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण अवसरको रूपमा लिएका छन् । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक पक्षले जनाएको छ ।

पछिल्लो समय धार्मिक तथा सांस्कृतिक गतिविधिहरूप्रति युवापुस्ताको आकर्षण घट्दै गइरहेको अवस्थामा यस्तो प्रतियोगिताले युवालाई धार्मिक तथा सांस्कृतिक जगेर्नातर्फ प्रेरित गर्ने विश्वास गरिएको छ । लायन्स क्लब पाणिनीका अध्यक्ष पोख्रेलकाअनुसार भजन प्रतियोगिता सञ्चालन गर्ने उद्देश्य धार्मिक परम्परालाई सशक्त बनाउनु हो । धार्मिक चेतनाको विकास गर्दै नयाँ पुस्तामा अध्यात्मिक मूल्य र मान्यताको प्रवर्द्धन गर्न यस प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

भोलि आयोजना गरिने भजन प्रतियोगिता अर्घाखाँची जिल्लाको धार्मिक तथा सांस्कृतिक पहिचान उजागर गर्ने उत्कृष्ट अवसर बन्ने विश्वास गरिएको छ। आयोजकहरूले स्थानीयवासी तथा धार्मिक पर्यटकहरूलाई प्रतियोगितामा उत्साहपूर्वक सहभागी हुन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?