
-निरोज कोइराला
विराटनगर । राजनैतिक दलका नेता कार्यकर्ताले खेलाडीबाट अनुशासन सिक्नु आवश्यक रहेको नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बताउनु भएको छ ।
विराट गोल्डकपको उद्घाटन समारोहलाई प्रमुख अतिथिकारुपमा सम्बोधन गर्दैै नेता कोइरालाले राजनीतिमा अनुशासनहीनता बढ्दै गएकोमा चिन्ता समेत व्यक्त गर्नुभयो । ‘अहिले जुनसुकै पार्टी भित्र अनुशासनहीनता बढ्दै गएको छ,’ संघीय सांसद समेत रहनु भएका कोइरालाले भन्नुभयो, ‘अनुशासन कस्तो हुनुपर्छ ? अनुशासनमा बसेर मेहनत गर्दा कस्तो सफलता प्राप्त हुन्छ भन्ने कुरा नेता कार्यकर्ताहरुले खेलाडीबाट सिक्नुपर्दछ ।’
नेता कोइरालाले राज्यले खेलकुद क्षेत्रमा गर्दै आएको लगानी बढाउनु पर्नेमा जोड दिनु हुदै खेलकुदमा लगानी बढाएर विद्यालयस्तर देखि नै विभिन्न खेलकुद गर्ने हो भने स्वास्थ्य क्षेत्रमा हुँदै आएको खर्च घट्ने समेत दावी गर्नुभयो । ‘जीवनशैली र खानपानका कारण अनि नियमित व्यायामको अभावले गर्दा अहिले मानिसमा अनेकौं किसिमका रोगहरु लाग्दै गएको छ । रोग लागेपछि उपचार गर्नै पर्यो । उपचार गर्दा लाखौं खर्च हुन्छ,’ नेता कोइरालाले भन्नुभयो, ‘यदि खेलकुदमा लगानी बढाएर खेलकुदका गतिविधि बढाउन सकियो भने मान्छे स्वस्थ
हुन्छन् । जसबाट स्वास्थ्य उपचारमा हुँदै आएको खर्च घट्छ । अझ उपचारका नाममा कडोरौं रुपैयाँ हरेक वर्ष विदेशिने गरेको छ । त्यो पनि रोकिन्छ ।’
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्वास्थ्यका लागि मात्रै होइन आपसी सम्बन्ध र भाइचाराका लागि पनि खेलकुद अति आवश्यक रहेको बताउनुभयो । खेलकुदले देशको नामलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सहयोग गर्ने मेयर कोइरालाको भनाई थियो । ‘हाम्रा थुप्रै खेलाडीहरुले अन्तर्राष्ट्रिय पदक प्राप्त गरी देशको नामलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याएका छन् । खेलकुदका माध्यमबाट आर्थिक र आणविकरुपमा जस्तोसुकै शक्तिशाली र धनी मुलुकलाई पनि परास्त गर्न सकिन्छ,’ कोइरालाले भन्नुभयो । मेयर कोइरालाले धर्म र राजनीतिले विभाजित मन र मस्तिष्कलाई खेलकुदले जोड्ने बताउनुभयो । राष्ट्रको नाम र प्रतिष्ठाका लागि खेल्ने खेलाडीहरुले राज्यबाट भने जति सम्मान पाउन नसकेको उहाँको गुनासो थियो । खेलकुदलाई पर्यटनसित जोडेर आर्थिक उपार्जनमा लाग्नुपर्नेमा समेत मेयर कोइरालाको धारणा छ ।
कार्यक्रममा विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाही, आयोजक समितिका संयोजक नविन रिजाल, प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष विन्द्या कार्की लगायतले खेलकुदका माध्यमबाट देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने धारणा राख्नुभयो । रमपम चाउचाउले मुख्य प्रायोजन गरेको प्रतियोगितामा नेपाल र भारतका १० वटा टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता यही फागुन २८ गते सम्पन्न हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच