
काठमाडौं । मोटरसाइकल चालकसहित यात्रुले पनि सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्ने व्यवस्था खारेज भएको १८ वर्षपछि फेरि लागू गरिने भएको छ । सरकारले २०६१ सालदेखि मोटरसाइकलका चालकसहित त्यसमा सवार यात्रुका निम्ति हेल्मेट अनिवार्य गरेको थियो । तर, २०६२-०६३ को जनआन्दोलनपछि गठित सरकारले ‘सम्पूर्ण शाहीकालीन आदेश तथा निर्देश खारेज हुने’ भनी एकमुष्ट निर्णय गरेपछि दुई हेल्मेटको व्यवस्था पनि खारेज भएको थियो । सरकारले संसद्मा दर्ता गरेको सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक- २०८१ मा त्यस्तो व्यवस्था गरेको छ । ‘सडक यातायात सेवालाई सहज, सुरक्षित, भरपर्दो र पहुँचयोग्य बनाई सर्वसाधारण जनतालाई सरल, सुलभ र गुणस्तरीय यातायात सुविधा उपलब्ध गराउन यातायात सेवालाई सुदृढ, सक्षम तथा प्रभावकारी बनाउन वाञ्छनीय भएकाले’ उक्त विधेयक अगाडि बढाइएको प्रस्तावनामा उल्लेख छ । विधेयकको दफा ४२ को उपदफा ३ मा ‘मोटरसाइकल तथा अन्य त्यस्तै दुईपांग्रे सवारी चलाउँदा चालक र त्यस्तो सवारीमा यात्रा गर्ने अन्य यात्रुले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्ने उल्लेख छ । उपदफा ४ मा त्यस्ता सवारी साधनमा यात्रा गर्ने १० वर्षमुनिका वा १३५ सेन्टिमिटरभन्दा कम उचाइ भएका बालबालिकाका लागि छुट्टै सिट (चाइल्ड रिस्ट्रेन्ट) को व्यवस्था गर्ने उल्लेख छ । उपदफा ५ ले त्यस्ता सवारी साधन चलाउँदा बालबालिकालाई अगाडिको सिटमा राख्न नपाइने व्यवस्था गरेको छ । विधेयकले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्तिको विद्यमान व्यवस्थामा परिवर्तन गर्दै सवारी साधनका आधारमा उमेरहद तथा शैक्षिक योग्यतासमेत निर्धारण गरेको छ । दफा १४ मा ‘चालकका लागि अयोग्यता’ शीर्षकमा त्यस्तो व्यवस्था गरिएको हो । उक्त दफामा ठूला सवारी साधनका चालकको उमेर कम्तीमा २३ वर्ष र मझौला तथा सानो (चार पांग्रे) का हकमा पूरा भएको हुनुपर्ने उल्लेख छ । साढे तीन र दुई पांग्रे सवारीसाधन (मोटरसाइकल) चालकका हकमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।
विद्यमान व्यवस्थामा नेपाली नागरिकता प्राप्त गरेको कुनै पनि व्यक्तिले लाइसेन्स लिन पाउने व्यवस्था गरेको छ । उक्त व्यवस्थाअनुसार १६ वर्षकै उमेरदेखि सवारीसाधन चलाउन पाइने सुविधा थियो । व्यावसायिक सवारीसाधन चलाउने चालकले कक्षा ८ उत्तीर्ण नगरेको अवस्थामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नपाइने व्यवस्था गरिएको छ । यद्यपि, विधेयकको दफा २० को उपदफा २ ले ऐन प्रारम्भ हुँदाका बखत सवारी चालक अनुमतिपत्र प्राप्त गरिसकेको भए कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था आकर्षित नहुने उल्लेख छ । दफा २० कै उपदाफ ३ मा त्यस्ता सवारी चालकले प्रत्येक वर्ष मान्यताप्राप्त चिकित्सकबाट स्वास्थ्य परीक्षण गराई त्यसको रिपोर्ट साथमै राख्नुपर्ने व्यवस्था छ ।
पटकपटक असफल नियम
यस्तो नियम आजभन्दा २२ वर्षअघि पनि लागू गरिएको थियो । तर, छोटो समयमै असफल भएको थियो । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम थियो । हेल्टेम लगाएर पछाडि बस्ने व्यक्ति अपराधका घटनामा संलग्न भएको भन्दै यो व्यवस्था हटाइयो । तर, उक्त नियम हटेको ६ वर्षपछि २०६५ मा पुनः उही नियम ब्युँतियो । पछाडि बस्नेले पनि हेल्मेट लगाउनैपर्ने नियम बाध्यकारी गरेपछि ट्राफिक प्रहरीसँगै सरकारले निकै आलोचना खेप्नुपरेको थियो । चौतर्फी आलोचना भएपछि असफल भयो । ती समयमा लाखौँको संख्यामा हेल्मेट पनि बिक्री भयो । तर, केही महिनापछि विस्तारै यो नियम असफल भयो । पछि पनि विभिन्न समयमा यो नियम ल्याउने चर्चा चले । तर, कसैले ल्याउन सकेनन् । २०७६ जेठमा तत्कालीन ट्राफिक प्रहरी महाशाखाले यो नियम पुनः लागू गर्ने बताएको थियो । त्यतिबेला पनि उक्त निर्णयको व्यापक विरोध भयो । कार्यान्वयनमा आउन सकेन । २०७९ माघमा पनि यो नियम लागू गराउन खोजिए पनि सफल हुन सकेन ।
आर्थिक चलखेलको शंका
‘डबल हेल्मेट’ नीति कार्यान्वयनको विषयमा मुख्य गरी उठ्ने सवाल हो, हेल्मेट व्यापारमा हुने आर्थिक चलखेलको पाटो । यससम्बन्धी अधिकारकर्मी र विश्व स्वास्थ्य संगठनले उक्त व्यवस्था तत्काल कार्यान्वयन गर्न जोड दिए पनि हेल्मेट व्यापारबाट हुने आर्थिक चलखेलको पनि सवाल उठेको छ । तर, कमजोर बुझाइका कारण यो पाटोबाट बहस भएर विरोध भएको सरोकारवालाको भनाइ छ । वार्षिक सयौँको ज्यान जानुका साथै हजारौँ अंगभंग हुने र अर्बौँ रकम क्षति हुने अवस्थामा हेल्मेटको सामान्य व्यापारमा बहस अल्झिन नहुने कतिपयको भनाइ छ । नेपाल प्रहरीको तथ्यांकअनुसार मात्रै पनि वार्षिक १२ सयभन्दा बढीको ज्यान दुई पांग्रे सवारी दुर्घटनाबाट हुने गरेको छ । त्यसमध्ये पनि करिब दुईतिहाइ पछाडि बस्ने मानिस रहने गरेका छन् । चालकले मात्र हेल्मेट लगाउने हुँदा पछाडि बस्नेको टाउकोमा गम्भीर चोट लाग्ने गरेको र मृत्युसम्म हुने गरेको प्रहरीको तथ्यांक बताउँछ ।
के छ अन्तर्राष्ट्रिय अभ्यास ?
मलेसियामा दुईवटा हेल्मेट लगाउने कानुन बाध्यकारी भएपछि दुर्घटनाबाट हुने क्षति ३० प्रतिशतले न्यूनीकरण भएको तथ्यांक छ । त्यस्तै, अमेरिकामा २० देखि ३० प्रतिशतले न्यूनीकरण भएको अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनको एक अध्ययनले दुई पांग्रे सवारीमा चालक र पछाडि बस्नले अनिवार्य हेल्मेट लगाउँदा त्यस्ता सवारीबाट हुने दुर्घटनामध्ये ४० प्रतिशत मृत्युदर र ७० प्रतिशत अंगभंग कम हुने अनुमान गरेको छ । सरकारले ऐन अनुसारको व्यवस्था कार्यान्वयनमा ल्याए अनिवार्य रूपमा दुईवटा हेल्मेट आवश्यक रहन्छ । यो व्यावहारिक नरहेको भन्दै एकथरीले बहस थालेका छन् । मोटरसाइकलमा हेल्मेट बोकेर हिँड्न नमिल्ने संरचना रहेकाले यो व्यावहारिक नरहेको तर्क छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच