
सर्लाही । सर्लाहीको हरिवनमा मानवसेवा आश्रमद्वारा आयोजित श्रीमद्भागवत् ज्ञान विज्ञान महायज्ञ सुरु भएको छ। हरिवन नगरपालिका–११, सुर्ति विकास खेल मैदानमा बिहीबार आयोजित एक विशेष समारोहबीच महायज्ञको उद्घाटन गरिएको हो।
सहयोगापेक्षी सडक आश्रित व्यक्तिहरूको व्यवस्थापन तथा मानवसेवा आश्रमको सर्लाही शाखाको भवन (मानवीय स्मारक) निर्माण गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो। महायज्ञको उद्घाटन मधेश प्रदेश सभा सदस्य जवाहरलाल कुशाहाले गर्नुभयो।
महायज्ञ समुद्घाटनपूर्व सुखेपोखरीस्थित चतुर्भुजेश्वर शिव मन्दिरबाट कलश यात्रा निकालिएको थियो। महायज्ञ उद्घाटन समारोहमा हरिवन नगरपालिकाले सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नगरपालिका घोषणा गरेको छ। नगरप्रमुख रमेश बुढाथोकीले अब नगरक्षेत्रमा कुनै पनि व्यक्ति असहाय भएर सडकमा बस्नुपर्ने अवस्थाको अन्त्य गरिने प्रतिबद्धता जनाउनुभयो।
हरिवन–९ स्थित मानवसेवा आश्रमको निर्माणाधीन भवन सम्पन्न गर्नका लागि महायज्ञमार्फत ११ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। यसैक्रममा हरिवन नगरपालिकाले ५६ लाख २१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ भने इन्द्रेणी टिमले ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। महायज्ञमा इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलको टिम पनि सहभागी भएको छ।
महायज्ञ फागुन २९ गतेसम्म सञ्चालन हुनेछ। यस अवसरमा भागवत भास्कर कमलनयन गौतमद्वारा कथा वाचन हुनेछ। साथै, हरेक दिन बिहान ५ देखि ७ बजेसम्म योग शिविर, ७ः३० देखि १० बजेसम्म विद्यार्थीमाझ उत्प्रेरणा कार्यक्रम समेत सञ्चालन हुने आयोजक समितिका अध्यक्ष माधव थापाले जानकारी दिनुभयो।
महायज्ञमा सहभागी हुन सर्लाहीलगायत विभिन्न स्थानबाट भक्तजनहरू ओइरिन थालेका छन्। आयोजकहरूले दान संकलन अभियान सफल पार्न सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच