नेकपा महासचिव विप्लव झापामा, यस्ताे छ चारदिने कार्यसुची

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 6 mins

झापा । चारदिनको व्यस्त कार्यसूचीसहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द "विप्लव"  झापा आउनु भएकाे छ । शनिबार साँझ चन्द्रगढी विमानस्थल भद्रपुर उत्रिनु भएका विप्लव आज बिहान मेचीपारीको नेपाली भूमि महेशपुर पुग्नुभयाे । उहाँका साथमा पार्टीका नेता, कार्यकर्ता त्यहाँ पुगेको जिल्ला पार्टीले जनाएको छ ।

विप्लवलाई विमानस्थलमा किराँत-लिम्बुवान इञ्चार्ज दीपेश राई (दिपेश सी) लगायतले स्वागत गरेका थिए । विप्लव राति बिर्तामोडमा बसेको र बिहान महेशपुर जानुभएकाे हाे । जुन अतिक्रमित नेपाली भूमि हो ।

विप्लवले आज, भोलि र पर्सी (३, ४ र ५ गते ) झापा तथा इलामका विभिन्न  स्थानमा "अग्रगामी प्रवृति"  सँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम छ । उहाँले कम्युनिस्ट विचारधारा, अन्य राजनीतिक दल र वितृष्णामा रहेका विभिन्न राजनीतिक व्यक्तिसँग भेटघाट गर्नुहुनेछ । समाजवादी मोर्चाका नेतासँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेकाे छ ।

देशको विद्यमान समस्याको निकाससँग जोड्न विप्लवले झापालाई पहिलो प्राथमिकतामा राखेको र उहाँ झापा आएको बुझिएको  छ । उहाँले झापामा सबै पक्षसँग छलफल चलाउने र नयाँ रणनीतिक योजना तय गर्ने पार्टीले जनाएको छ । विप्लवले आज गौरादहमा पुराना वामपन्थीसँग छलफल गर्नुहुनेछ ।

विप्लव भोलि इलामको चुलाचुली जानुहुने कार्यक्रम छन् । उहाँले त्यहाँ माओवादी शसस्त्रयुद्धका घाइते योद्धा र पूर्वजनमुक्ति सेना आबद्धसँग छलफल गर्नुहुनेछ । भावना र अवस्था बुझ्न विप्लवले उनीहरूसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको हो  ।

भोलि नै विप्लव बिर्तामोडमा आयोजित सहिद र बेपत्ता परिवारसँगको अन्तरसंवादमा सहभागी हुनुहुनेछ । अपरान्ह  विप्लव समाजवादी मोर्चाका नेतासँगको छलफल सरिक हुने कार्यक्रम छ । उनीहरू बीचको छलफल  मोर्चाको आगामी कार्यक्रम र रणनीतिका विषय केन्द्रित हुने बताइएको छ ।

पर्सी विप्लवले सुकुम्बासी समस्या खेपिरहेका व्यक्ति र समूहसँग भेटेर बस्तुस्थिति बुझ्ने कार्यक्रम छ । झापाको सुकुम्बासी समस्या अन्यत्रको भन्दा जटिल छ । उहाँले सोही दिन झापाका उद्याेगी व्यसायीसँग भेटघाट र छलफल गर्ने कार्यक्रम छ । साम्यवादी चेतबाट समाजवाद स्थापनाका लागि झापाको कार्यक्रम रणनीतिक महत्त्वको र उपयोगी  हुने सो पार्टीले दाबी गरेको छ । राजनीतिबाट वितृष्णा पैदा भएका कम्युनिस्ट र अन्य विचार समूहका व्यक्तिसँग विप्लवले छलफ्ल कार्यक्रम रहेको छ ।

चैत १२ झापाबाट सुरु हुने समाजवाद स्थापना : अबको यात्रा कार्यक्रमको तयारीको विषयमा छलफल चलाउन विप्लव झापा आएको बुझिएको छ । चैत ६ गते बिर्तामोडमा पत्रकार सम्मेलन मार्फत समसामयिक राजनीतिक अवस्थाका बारेमा आफ्नो धारणा सार्वजनिक गरेर विप्लव फर्कने जनाइएको छ । यद्यपि, यी कार्यक्रमका बारेमा सो पार्टीमा आन्तरिक सर्कुलर भएपनि सार्वजनिक भने गरिएको छैन ।

यसअघि कांग्रेसले केचना - सगरमाथा जागरण अभियान र नेकपा माओवादी केन्द्रले तराई - मधेस जागरण अभियान झापाबाट नै सुरु गरेका थिए । दुबै पार्टीले ती कार्यक्रमको शुभारम्भका  लागि मुलुककै होचो भूभाग केचना रोजेपनि नेकपाले आफ्नो कार्यक्रमको शुभारम्भ स्थान तय गरिसकेको छैन । मेची - महाकाली अबको यात्राको उद्देश्य समाजवाद भएको सो पार्टीले जनाएको छ ।

विप्लवको झापा केन्द्रित कार्यक्रमलाई  वर्तमान राजनीतिक अन्यौलको अन्त्य र प्रतिगमनकारी षड्यन्त्रलाई  निरुत्साहित गर्ने अभियानका रूपमा अर्थ्याएको छ । सो पार्टीले  झापाको क्रान्तिकारी कम्युनिस्ट चेतलाई अग्रगामी निकाससँग जोड्ने उद्देश्यले विप्लव झापा आएको जनाएको छ ।

वैज्ञानिक समाजवादको वकालत गरिरहेको सो पार्टीका नेताले आफू साम्यवादी भएको जनाउ दिन आफ्नो नामको पछाडि सी लेख्ने अभ्यास गरिरहेका छन् । पार्टी केन्द्रीय सदस्य सुमन पौडेल ( सुमनसिंहसी ) अर्जुनसी, दिपेशसीलगायतका नेता पार्टी महासचिव विप्लवसँगसँगै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?