
काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज (बिहीबार) देखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज बिहान ८ बजेदेखि परीक्षा सुरु हुने कार्य तालिका यसअघि सार्वजनिक गरेको थियो । पहिलो दिन आज अंग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ । परीक्षामा देशभरका पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदै छन् । एसइईका लागि देशभर दुई हजार ८० परीक्षा केन्द्र तोकिएका छन् ।
यस वर्ष जापानको परीक्षा केन्द्रबाट २९ जना विद्यार्थीले एसइई दिँदै छन् । यस्तै, केन्द्रीय कारागार सुन्धारा र एउटा दैलेख कारागारमा पनि परीक्षा केन्द्र तोकिएका छन् । कारागारका २५, सुधार केन्द्रका २१ र एचआइभी प्रभावित चार विद्यार्थी एसइई दिँदै छन् । विद्यार्थी संख्यामा उल्लेखनीय वृद्धि देखिएको यस वर्षको परीक्षा व्यवस्थापन, निष्पक्षता तथा सुरक्षा संयन्त्र थप प्रभावकारी बनाउने योजना बोर्डले अघि सारेको छ ।
गत वर्ष एसइईमा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्ष भने विद्यार्थी संख्या ४९ हजार २८६ जनाले बढेर पाँच लाख १४ हजार ७१ पुगेको हो । विद्यार्थी संख्यामा आएको वृद्धिले परीक्षा व्यवस्थापनलाई अझ चुनौतीपूर्ण बनाएको छ । बोर्डले देशभरका परीक्षा केन्द्रहरूमा विद्यार्थी संख्याको आधारमा परीक्षा सञ्चालनको व्यवस्था मिलाइएको छ । १५० जनाभन्दा बढी परीक्षार्थी भएका केन्द्रहरूमा अनिवार्य रूपमा सहायक केन्द्राध्यक्ष तोकिएको छ भने प्रत्येक २० जना परीक्षार्थीलाई एकजना निरीक्षक खटाइनेछ । विद्यार्थी संख्या ७५ जनाभन्दा कम भएका केन्द्रहरूमा भने सहायक केन्द्राध्यक्ष नरहने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
यस पटकको एसइईमा केही विशेष केन्द्रहरू निर्धारण गरिएको छ, जसले परीक्षाको पहुँचलाई समावेशी बनाउन महत्वपूर्ण योगदान पुर्याउनेछ । काठमाडौं र दैलेखका कारागार तथा भक्तपुरको बालसुधार गृहमा पनि परीक्षा केन्द्र तोकिएको छ, जहाँ विद्यार्थीहरूले आफ्नो परीक्षामा सहभागी हुन सक्नेछन् । यस्तै, कीर्तिपुरस्थित सफलता एचआइभी शिक्षा सदनबाट चारजना एचआइभी संक्रमित विद्यार्थीले पनि एसइई परीक्षा दिँदै छन् ।
बोर्डले यस वर्ष पनि परीक्षाको नतिजा लेटर ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक गर्ने तयारी गरेको छ । विगत वर्षको एसइई परीक्षामा जम्मा ४८ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । सोही कारण बोर्डले यस वर्ष उत्तीर्ण दर ७० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउनका लागि कडाइका साथ निगरानी गरिने जनाइएको छ । परीक्षा अवधिभर सुरक्षा निकायको सहयोगमा प्रत्येक केन्द्रमा विशेष अनुगमन टोली परिचालन गरिनेछ । परीक्षा केन्द्रभित्र मोबाइल फोन, स्मार्ट घडी जस्ता इलेक्ट्रोनिक उपकरणहरू प्रतिबन्धित गरिएका छन् । परीक्षामा कुनै पनि समस्या देखिएमा सम्बन्धित परीक्षा केन्द्र, शिक्षा कार्यालय वा परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ । परीक्षामा सामेल हुने सबै विद्यार्थीलाई निर्धारित समयभन्दा अगाडि परीक्षा केन्द्रमा उपस्थित हुन अनुरोध गरिएको छ ।
१९ गतेसम्म सञ्चालन हुने परीक्षामा चैत ८ गते अनिवार्य नेपाली तथा गैरनेपाली विद्यार्थीका लागि इलेक्टिभ इंग्लिसको परीक्षा तोकिएको छ । त्यसपछि चैत १० मा गणित, चैत १२ मा विज्ञान तथा प्रविधि, चैत १३ मा सामाजिक अध्ययन, चैत १४ मा ऐच्छिक प्रथम, चैत १५ मा ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुनेछन् ।
सबैभन्दा बढी विद्यार्थी काठमाडौं र कम मनाङबाट
आज (बिहीबार)बाट सुरु भएको एसइई परीक्षामा सबैभन्दा बढी विद्यार्थी काठमाडौंबाट सहभागी छन् । काठमाडौंबाट ३९ हजार ६०० विद्यार्थीले एसइई दिँदै छन् भने सबैभन्दा कम परीक्षार्थी मनाङमा ४३ जना छन् । सरकारले एसइईका लागि प्रत्येक वर्ष २७ करोड ७० लाख रकम छुट्याउने गरेको छ । त्यसमध्ये १७ करोड उत्तरपुस्तिका र प्रश्नपत्र छपाइमा खर्च हुने र अन्य रकम व्यवस्थापन, कापी परीक्षण, जनशक्ति, तयारी लगायतमा खर्च हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । एसइई परीक्षाको सम्पूर्ण जिम्मा बोर्डले नै लिएको छ । परीक्षा केन्द्र तोक्ने र उत्तरपुस्तिका प्रकाशन गर्ने काम मात्र प्रदेश सरकारले पाएको छ ।
नतिजा ९० दिनभित्रै प्रकाशन गरिने
एसइईको नतिजा ९० दिनभित्रै प्रकाशन गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डलले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी असार ७ गतेभित्र निकाल्ने जनाएको हो । बोर्डले यस वर्ष एसइई सुरु नहुँदै नतिजा निकाल्ने मिति तोकेको हो । नतिजा कहिले आँउछ ? भनेर विद्यार्थीलाई अन्योल नहोस् भनेर यस वर्ष नतिजा निकाल्ने मिति तोकिएको कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी गराउनुभयो ।
एसइई परीक्षा प्रक्रियामा मधेस सरकार सामेल नहुने, केन्द्राध्यक्ष छनोटमा असन्तुष्टि
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले एसइई परीक्षा प्रक्रियामा प्रदेश सरकार सामेल नहुने घोषणा गर्नुभएको छ । मुख्यमन्त्री सिंहले पत्रकार सम्मेलन गरेर एसइई परीक्षा प्रक्रियामा सामेल नहुने घोषणा गर्नुभएको हो । उहाँले केन्द्राध्यक्ष चयन प्रक्रिया आफूले भनेअनुसार नगरिएकोमा आपत्ति जनाउनुभएको हो । उहाँले संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्य, समन्वय र सहअस्तित्व भविष्यमा सुदृढ हुने अपेक्षा गर्दै यसपटकको एसइई परीक्षा प्रक्रियामा प्रदेश सरकार सामेल नहुने जानकारी गराउनुभयो । मुख्यमन्त्री सिंहले आठै जिल्लाका एसइई परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको भेला बोलाएर गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन गर्न आदेश दिनुभएको थियो । तर, त्यसविपरीत केन्द्राध्यक्ष छानिएको भन्दै उहाँको असन्तुष्टि थियो । मुख्यमन्त्री सिंहले संघ र प्रदेशको निर्देशनविपरीत केन्द्राध्यक्ष तोकिएको विषयमा गहिरो छानविन गरी त्यसभित्रका अन्तरवस्तु केलाए परीक्षा प्रणालीलाई मयार्दित बनाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रधानमन्त्री ओलीको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि हुने एसइईको परीक्षा दिने विद्यार्थीलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । एसइईको
पूर्व संध्यामा प्रधानमन्त्री ओलीले एक भिडियो सन्देशमार्फत एसइईको तयारीमा बसेका परीक्षार्थीलाई सफलताको शुभकामना दिनुभएको हो । सन्देशमार्फत प्रधानमन्त्रीले भन्नु भएको छ, ‘पहिले पहिले एसइईलाई फलामको ढोका भन्थे, त्यो शब्दले पनि विद्यार्थीमा त्रास पैदा हुन्थ्यो । परीक्षा जीवनका कदम कदममा र मोडमोडमा आइरहने चीज हो । धेरै परीक्षा उतिर्ण गरेर तपाईंहरू यहाँसम्म आउनु भएको छ, भविष्यमा पनि अनेक परीक्षा पार गर्नुपर्ने हुन्छ । त्यसकारण त्रसित नभइ राम्रो तयारी गरेर परीक्षा दिनुहोस् । तपाईँहरुलाई मेरो धेरै धेरै शुभकामना छ ।’ अघिल्लो वर्ष त्यति राम्रो नतिजा हुन नसकेपनि यस वर्ष राम्रो नतिजाको अपेक्षा आफूले गरेको उहाँले बताउनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच