
काठमाडौं । नेपालजस्तो बहुजातीय र बहुसांस्कृतिक समाजमा समानताको संवैधानिक प्रत्याभूति भए पनि व्यवहारमा दलित समुदाय अझै पनि विभेद, उत्पीडन र अपमानको चपेटामा परेको यथार्थ हरेक दिन उजागर भइरहेकै छ । धार्मिक, सांस्कृतिक र सामाजिक आयोजनाका नाममा समेत उनीहरूलाई दोहोरो विभेदको सामना गर्न बाध्य बनाउने घटनाहरूले हाम्रो समाजको वास्तविकता देखाइरहेका छन् । सिराहाको औरही गाउँपालिकामा विष्णु महायज्ञको मण्डप बनाउने भन्दै एक दलित परिवारको बासस्थान भत्काएर जबरजस्ती उठीबास गराइएको पछिल्लो घटनाले यस प्रकारको जातीय अन्याय अझै पनि कति गहिरो छ भन्ने कुरा पुनः पुष्टि गरेको छ ।
सिराहा जिल्लाको औरही गाउँपालिकामा आयोजित हुन लागेको विष्णु महायज्ञको मण्डप निर्माणका नाममा भएको दलित परिवारको घर भत्काउने घटनाले अहिले व्यापक विवाद र आलोचना उत्पन्न गरेको छ । जातीय विभेद र मानव अधिकार उल्लंघनको गम्भीर आरोप लागेपछि घटनालाई साम्य पार्न विभिन्न प्रयासहरू भइरहेको देखिन्छ । औरही गाउँपालिका-५ निवासी दीपक मरिक (डोम)को घर भत्काइएको घटनापछि त्यसलाई वैधानिक देखाउन र आलोचना थाम्नका लागि गाउँपालिका अध्यक्ष शिवजी यादव सक्रिय प्रयासमा लाग्नुभएको छ । अध्यक्ष यादव महायज्ञ आयोजक समितिका कार्यकारिणी अध्यक्षसमेत हुनुहुन्छ । घर भत्काएपछि यादवले पीडित परिवारलाई बयान फेर्न लगाउने र कागजी प्रमाण तयार पार्ने जस्ता प्रयासहरू गरिरहनु भएको छ । उहाँले दीपक मरिकसँग मिति परिवर्तन गरी जबरजस्ती हस्ताक्षर गराएर मञ्जुरीनामा लिएको कागजात सार्वजनिक गर्नुभएको छ । तर, दीपकले उक्त कागज नयाँ घर बनाउनेसम्बन्धी दस्तावेज भन्दै चैत ६ गते हस्ताक्षर गर्न लगाइएको बताउनुभएको छ । पालिका अध्यक्ष यादवले नयाँ ठाउँमा घर बनाइदिएर मात्र पुरानो घर भत्काइएको दाबी गरे पनि पीडित परिवारले पुरानो घरकै सामग्री (काठ, बाँस, जस्ता) नयाँ टहरो बनाउन प्रयोग गरिएको बताएकोे छ । अध्यक्ष यादवले कृषि बजार स्थापनाको लागि पटक-पटक सूचना दिएर सहमतिमा घर हटाइएको दाबी गरे पनि सोही क्षेत्रमा रहेका गैरदलित समुदायका घर भने यथावत छन् ।
घटनापछि पालिका अध्यक्षकै पक्षले दीपक मरिककी पत्नी अनितालाई नयाँ ठाउँमा सरेको र महायज्ञस्थलमा सुँगुर र बंगुरका कारण समस्या भएको भनेर बोल्न लगाएर भिडियोसमेत सार्वजनिक गर्नुभएको छ । तर, दीपकका अनुसार उनीहरूलाई सफाइकर्मीको जागिरबाट निकाल्ने धम्की दिएर त्यो भिडियो बनाइएको हो । दीपक र उहाँकी पत्नी दुवै जना पालिकाको सफाइ सेवामा कार्यरत हुनुहुन्छ र उहाँहरूको मासिक तलब नै परिवार पाल्ने मुख्य आधार हो । जागिर गुम्ने डरका कारण उनीहरूले खुलेर विरोध गर्न सकिरहेका छैनन् ।
उक्त जग्गा ऐलानी हो । मधेस प्रदेश सरकारले दुई वर्षअघि मात्र जनता आवास कार्यक्रमअन्तर्गत दीपक मरिकको परिवारलाई घर बनाइदिएको थियो । अहिले उनीहरूलाई गल्फुधार क्षेत्रमा दुई धुरको सानो उचाइमा बाँसको टहरोमा बस्न बाध्य बनाइएको छ । त्यस क्षेत्रमा खानेपानी र बिजुलीको समेत सुविधा छैन । राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कबुली पासवानले यस घटनालाई जातीय छुवाछुतको उदाहरण बताउँदै दोषीमाथि कारबाहीको माग गर्नुभएको छ ।
पालिका अध्यक्ष यादवले घटनामा यदि जातीय विभेद पुष्टि भए आफू कारबाही भोग्न तयार रहेको बताउनुभएको छ । साथै, उहाँले महायज्ञ समापनपछि पक्की घर बनाइदिने र चापाकल जडान गरेर खानेपानीको व्यवस्था गर्ने वाचा पनि गर्नुभएको छ । दीपक मरिकका बुबा मोहिता डोमको परिवार झण्डै २५ वर्षअघि सिराहा नगरपालिका–१९, सन्हैठाबाट सरेर गल्फुधार पुगेको थियो । पछि त्यहाँको जग्गा खाली गर्न भनिएपछि झण्डै १० वर्षअघि औरहीमा बसाइँ सरेका थिए । सुरुमा जहाँ उनीहरूको घर थियो, त्यहीँ सिनो फालिने स्थल थियो, तर हुलाकी सडक बनेपछि त्यहाँको क्षेत्र विस्तारै महँगो बन्दै गयो । अहिले कृषि बजार स्थापनाको नाममा फेरि दलित परिवारलाई हटाइएको छ ।
यस घटनाको अनुगमन राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयले सुरु गरिसकेको छ । आयोगका प्रदेश प्रमुख बुद्धनारायण सहनीले प्रेस नोटमार्फत घटनाबारे छानविनको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभएको छ ।
दलित अभियन्ताको अर्धनग्न प्रदर्शन
अन्तर्राष्ट्रिय जातीय विभेद विरुद्धको दिवसका अवसरमा शुक्रबार बानेश्वरमा दलित अभियन्ताहरूले अर्धनग्न प्रदर्शन गरेका छन् । ‘दलितलाई खै’ भनी लेखिएको नारासहित अर्धनग्न बनेर प्रदर्शनमा सहभागी भएकाहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि केहीबेर तनावको स्थिति बनेको थियो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच निषेधित क्षेत्रमा केहीबेर धकेलाधकेल भएको हो । उनीहरूले सिराहामा दलितको घरमा डोजर चलाएको विषयको पनि सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच