‘बन्न चाहेको त संगीतकर्मी नै हो तर समयले सञ्चारकर्मी पनि बनायो’

गीता अधिकारी
Read Time = 8 mins

सरोज कोइराला बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । उहाँ गायक, संगीतकार, उद्घोषक र सञ्चारकर्ममा आफूलाई सक्रिय गराउँदै आउनुभएको छ । झापा स्थायी घर हुनुभएका कोइराला काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन पस्किरहनुभएको छ । सञ्चारकर्मीका रूपमा आफूलाई अब्बलरूपमा प्रस्तुत गर्दै आउनुभएका उहाँको बाल्यकालको सपना भने गायक बन्ने थियो । रेडियो र टेलिभिजनमा सञ्चारकर्मीका रूपमा दिनहुँ प्रस्तुत हुनुहुने उहाँ गीत संगीत क्षेत्रमा पनि त्यत्तिकै सक्रिय हुनुहुन्छ । थुप्रै गीतमा संगीत भर्नुभएका उहाँले थुप्रै कर्णप्रिय गीत गाउनुभएको छ । उहाँका धेरै गीतले अवार्ड पनि चुम्न सफल भएका छन् ।

 म सञ्चारकर्मी भनेर चिन्नेका लागि सञ्चारकर्मी र संगीतकर्मी भनेर चिन्नेका लागि संगीतकर्मी हुँ । दुवै ढंगले चिन्ने पनि हुनुहुन्छ । कतिपयले कुनै एक ढंगले पनि चिन्नुहुन्छ ।

अलि राम्रा गीतमात्र गर्न रुचाउनुहुने उहाँका अहिलेसम्म तीन दर्जनजति गीत श्रोता/दर्शकमाझ आएका छन् । स्वर र संगीत हाराहारीमा नै छन् उहाँका । ‘अरू यादहरू’, ‘सान्नानी’, ‘यो आँखाको पानीलाई’, ‘टुटेको तारा’, ‘समयले जुरायो’, ‘एक चिम्टी सिन्दुर’, ‘एउटा माझी’, ‘क्या बात’, ‘माया केवल माया’ जस्ता गीत मन पराइएका छन् । आफू बन्न चाहेको संगीतकर्मी नै भए पनि समयले सञ्चारकर्मी पनि बनाएको बताउनुहुने सरोज कोइरालासँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः–

यतिबेला केमा व्यस्त हुनुहुन्छ ?

म संगीत र सञ्चार क्षेत्रमै छु । सञ्चारकर्मीका रूपमा दैनिक ड्युटी र बाँकी रहेको समयमा संगीत साधना र सिर्जनामै समय बित्छ ।

नयाँ केही आउँदै छ कि ?

केही समयअघिमात्रै मेरो संगीतमा ‘एउटा माझी’ गीत सार्वजनिक भएको छ । यसमा पुष्पा खनालको शब्द र नरेन्द्र प्यासी दाइको स्वर छ । म आफैं सन्तुष्ट भएको कम्पोज हो यो । अब चाँडै ‘ढल्केरै हो’ गीत आउँदैछ । यसमा सुजता केसी र मेरो स्वर छ । सुनिल कोइरालाको शब्दमा म आफैंले संगीत भरेको हुँ । अडियो फाइनल भइसक्यो । अब भिडियोसहित चाँडै सार्वजनिक हुनेछ ।

गीत संगीत क्षेत्रमा कसरी आउनुभयो ?

म झापाको सुरुंगामा हुने देउसीभैलोमा सानै उमेरदेखि मादल बजाउँथेँ । किशोरावस्थामा झापामा गुञ्जने जनवादी गीतहरूले मलाई आकर्षित गर्थे । गुनगुनाउँदा गुनगुनाउँदै गाउन थालेंछु । अलि बुझ्ने भएपछि गायक बन्नकै लागि काठमाडौं जाने योजना बनाउन थालेँ । वास्तवमा म काठमाडौं गाउनकै लागि आएको थिएँ । साधना कला केन्द्रमा ५८ सालदेखि लगातार तीन वर्ष क्लास लिएँ । आरआर क्याम्पसबाट संगीतमा स्नातक तह (बिम्युज) गरेँ । ७० सालसम्म एल्बम नै निकाल्ने चलन बाँकी थियो । त्यही बेला गीति एल्बम ‘सगुन’ निकालेर संगीत क्षेत्रमा औपचारिकरूपमा प्रवेश गरँे । त्यसअघि पनि फाट्टफुट्ट एक– दुईवटा गीतचाहिँ गाइसकेको थिएँ । पछि सोलो संगीत र सोलो स्वरमा दोस्रो एल्बम ‘आकृति’ निकालँे । संगीत गर्न थालेपछि चाहिँ संगीत क्षेत्रमा खाली बस्नुपरेको छैन । गीतहरू गरिरहेको छु ।

आफूलाई सञ्चारकर्मी कि संगीतकार भन्न रुचाउनुहुन्छ ?

म बन्न चाहेको त संगीतकर्मी नै हो । तर, समयले सञ्चारकर्मी पनि बनायो । मर्मले संगीतकर्मी, धर्मले सञ्चारकर्मी हो कि ? तर, मलाई सञ्चारकर्मी साथीहरूले पनि संगीतकर्मीकै रूपमा लिनुहुन्छ । बरु संगीतकर्मीहरूले चाहिँ सञ्चारकर्मीका रूपमा हेरेको पाउँछु । मलाई यी दुवै क्षेत्र प्रिय छन् । म सञ्चारकर्मी भनेर चिन्नेका लागि सञ्चारकर्मी र संगीतकर्मी भनेर चिन्नेका लागि संगीतकर्मी हुँ । दुवै ढंगले चिन्ने पनि हुनुहुन्छ । कतिपयले कुनै एक ढंगले पनि चिन्नुहुन्छ ।

अहिलेसम्म कतिजति सिर्जना आए तपाईंका ? केही गीतको नाम लिनुपर्दा ?

संगीत क्षेत्रमा लामो संघर्ष भए पनि गीतको संख्या त्यति धेरै छैनन् । धेरै समय त मैले संगीत सिक्नमै बिताएँ । फेरि अलि राम्रा गीतमात्र गर्न रुचाउँछु । अहिलेसम्म मेरा तीन दर्जनजति गीत होलान् । स्वर र संगीत हाराहारीमै छन् । ‘अरू यादहरू, सान्नानी, यो आँखाको पानीलाई, टुटेको तारा, समयले जुरायो, एक चिम्टी सिन्दुर, एउटा माझी, क्या बात, माया केवल माया’ लगायतका गीत छन् ।

अहिलेको सांगीतिक बजारलाई कसरी हेर्नुभएको छ, यहाँले ?

अहिले मन्दी छ । कोरोनाकालमा समेत मसँग आठ, १० वटाजति गीतका काम हुन्थे । अहिले दुई, तीनवटामा सीमित छन् । फेरि अलि चल्तीखाले गीत बढी जान्छ । भ्युजको जमाना छ । साधना र सिर्जना अलि ओझेलमा परेको अवस्था छ ।

सरोज कोइराला को हो ?

संगीत र सञ्चारको पुजारी । धेरै केही नजानेको तर सिक्न खोज्ने साधारण मानिस । देशभक्त, इमान्दार नेपाली नागरिक ।

कुनै पनि गीत धेरैको रोजाइमा पर्नका लागि मुख्य के कुरा चाहिन्छ जस्तो लाग्छ ?

खासमा शब्द, संगीत र स्वरको बेजोड संयोजन चाहिन्छ । तर, आजकल प्रचारप्रसार र बजारको मनोविज्ञान पनि हेर्नुपर्छ ।

संगीत के हो तपाईंको विचारमा ?

संसारमा सबैभन्दा सरल चिज । तर, संसारको सबैभन्दा जटिल विषय । खासमा विद्यार्थीहरू विज्ञानलाई जटिल विषय मान्छन् । यो मामलामा विज्ञान संगीतको छेउमा पनि आउँदैन । संसारको सबैभन्दा जटिल विषय हो संगीत ।

फुर्सदमा के गर्न मनपर्छ ?

साथीभाइसँग व्यावसायिक काममै हुन्छु । फुर्सदमा घरमा बस्न मन पराउँछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
2 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?