सर्लाही । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकाभित्र सञ्चालनमा रहेका १९ अवैध स्वास्थ्य संस्था तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ। निजी स्वास्थ्य संस्थाको अनुगमन गर्न शनिबार साँझ लालबन्दी आइपुग्नुभएका मुख्यमन्त्री सिंहले रातभर लालबन्दी र नवलपुरका २३ स्वास्थ्य संस्थाको अनुगमन गर्नुभएको थियो ।
अनुगमनका क्रममा सेवा सञ्चालन अनुमति पत्र नभएका र मापदण्ड विपरीत सञ्चालन भइरहेका १९ स्वास्थ्य संस्थालाई बन्द गर्न निर्देशन दिइएको हो । जाँच गरिएका २३ मध्ये दुईवटा अस्पतालसँग मात्र आवश्यक कागजात दुरुस्त रहेको तथा दुई अस्पताल नवीकरण गर्नुपर्ने अवस्थामा रहेको मुख्यमन्त्री सिंहले जानकारी दिनुभयो ।
यसअघि पनि मुख्यमन्त्री सिंहले लालबन्दी नगरपालिकाको नवलपुर क्षेत्रमा अवैध स्वास्थ्य संस्थाको अनुगमन गर्नुभएको थियो । तर, आफूले बन्द गर्न निर्देशन दिएको केही अस्पताल पुनः सञ्चालनमा आएको गुनासो आएपछि यसपटक प्रदेश प्रहरी प्रमुख (डीआईजी) लाई प्रहरी परिचालन गरी निगरानी गर्न निर्देशन दिएको उहाँले लालबन्दीमा सञ्चारकर्मीसँग बताउनुभयो । मुख्यमन्त्री सिंहका अनुसार शनिबार लालबन्दी र बर्दिवासका स्वास्थ्य संस्थाको अनुगमन गर्नु अघि शुक्रबारसम्म प्रदेशभर ७५ अवैध स्वास्थ्य संस्था बन्द गराइएको छ । केही स्थानमा स्थानीय तहले अधिकार क्षेत्रबाहिर गएर अल्पकालीन सञ्चालन अनुमति दिइरहेको पाइएकाले यस्ता गतिविधि नगर्न पनि आग्रह गरिएको छ ।
मुख्यमन्त्री सिंहले प्रदेश सरकारले बारम्बार अनुगमन गर्न नसक्ने भएकाले अब स्थानीय प्रहरीमार्फत निरन्तर निगरानी सुरु गरिसकिएको बताउनुभयो । उहाँले केही साताअघि सर्लाही सदरमुकाम मलङ्गवामा अनुगमन गरी बन्द गर्न निर्देशन दिएका निजी अस्पताल पुनः खुलेयाम सञ्चालनमा रहेको व्यापक जनगुनासो आइरहेको भन्दै दोषीहरूमाथि कडा कारबाही गरिने चेतावनी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच