
भालेश्वर महादेवको मन्दिर प्रवेश गर्न एक सय रुपैयाँ शुल्क तिर्नुपर्दछ । शिवरात्रिमा पशुपतिमा आरामदायी दर्शन गर्ने हो भने एक हजार रुपैयाँभन्दा बढीको टिकट काट्नुपर्दछ । तीजमा पनि धनी महिलाहरूका लागि यस्तै सुविधाजनक व्यवस्था गरिन्छ । यस्ता व्यवस्था धेरै स्थानका मन्दिरमा गरिएको भेटिन्छ । लगभग यस्तो बनाइसकिएको छ कि पैसा छ भने मन्दिर जाऊ, होइन भने घरमै बसेर रामनाम जप । यदि जानै चाहन्छौ भने धनी र गरिब बीचकाको विभेद भनेको के हो प्रष्टरूपमा मन्दिरमा गएर बुझ ।
चन्द्रागिरी डाँडा न केबलकार निर्माताहरूले अन्तबाट माटो ओसारेर बनाएको डाँडो हो । डाँडामा ठडिएका रुखहरू न कुनै व्यापारी, न कुनै नगरपालिकाका मेयर, न कुनै प्रधानमन्त्रीले रोपेका हुन् ।
काठमाडौंस्थित भालेश्वर महादेवको मन्दिरमा जाने पैदलयात्रुहरूसँग पैसा उठाएको प्रसंगले अहिले समाज तातेको छ । चन्द्रागिरि नगरपालिकाको थानकोट पश्चिमतर्फको चन्द्रागिरि डाँडाको टुप्पामा रहेको महादेवको मन्दिर सतीदेवीको निधार खसेको स्थानमा स्थापित भएको मानिन्छ । यो ठाउँमा केबलकार निर्माण हुनुपूर्व यो मन्दिरले त्यति धेरै प्रसिद्धि पाएको थिएन तर केबलकार चलेसँगै यहाँ जाने भक्तजनहरूको संख्या हृवात्तै बढेको पाइन्छ । मन्दिरको चर्चा बढेसँगै शारीरिक तन्दुरुस्तीको लागि पैदलयात्रा गर्दै मन्दिर पुग्नेहरूको संख्या एकातिर बढेको छ भने केबलकारको शुल्क महँगो अनुभव गरेकाहरू आफ्ना सवारीसाधनमार्फत् या पैदलयात्रा गर्दै जान्छन् ।
केबलकार निर्माण गर्दा व्यापारीहरूले लगानी गरेका छन् । केबलकार निर्माण गरेको खर्च उठाउनुमात्रै नभई नाफासमेत संकलन गर्नु व्यापारीहरूको धर्म नै हो । केबलकार सञ्चालन, व्यवस्थापन र नियमित मर्मतका लागि समेत रकमको आवश्यकता पर्दछ र त्यो जुटाउने पनि त्यसको प्रयोगकर्ताबाट नै हो । त्यसैले केबलकारको प्रयोग गरेर दर्शन गर्न जानेहरूले केबलकार सञ्चालकले तोकेको पैसा तिर्नै पर्दछ । यसमा कुनै विवाद छैन तर पैदलयात्रा गर्दै र आफ्नै सवारीसाधनमा जानेहरूसँग पनि केबलकार सञ्चालकले ढाट राखेर पैसा उठाउनुलाई भने कसैले पनि जायज मान्न सक्दैन ।
मन्दिरमा कसैले पूजा लगाउन चाहन्छ भने उसले निर्धारित शुल्क तिर्नुलाई सामान्य मान्नुपर्दछ । मन्दिर प्रांगणभित्र कसैले विवाह, व्रतबन्ध आदि गराउन चाहन्छ भने त्यसको व्यवस्थापन शुल्क कर्ताले तिर्नै पर्दछ ।
भालेश्वर मन्दिर न कसैको निजी सम्पत्ति हो । चन्द्रागिरी डाँडा न केबलकार निर्माताहरूले अन्तबाट माटो ओसारेर बनाएको डाँडो हो । डाँडामा ठडिएका रुखहरू न कुनै व्यापारी, न कुनै नगरपालिकाका मेयर, न कुनै प्रधानमन्त्रीले रोपेका हुन् । भालेश्वर महादेव हाम्रा पुर्खाहरूले स्थापित गरिदिएको आस्थाको केन्द्र हो । चन्द्रागिरि डाँडा प्रकृतिले नेपाललाई दिएको एक अनुपम उपहार हो । त्यहाँ पुग्ने बाटोमा नगरपालिकाको लगानी होला तर त्यो लगानी नागरिकबाटै उठाइएको हो । त्यसैले मन्दिर जान चाहने जोकसैसँग सय रुपैयाँका दरले केबलकार बनाउने कम्पनी चन्द्रागिरि हिल्सले पैसा उठाउनु नेपाली भक्तजनहरूमाथि गरिएको अन्याय हो र आस्थामाथिको हमलासमेत हो ।
हुन त चन्द्रागिरि हिल्सले आफूखुसी पैसा उठाएको पक्कै होइन होला । भालेश्वर महादेव वरपरका पालिकाहरू चन्द्रागिरि नगरपालिका, इन्द्रसरोवर गाउँपालिका र थाहा नगरपालिका कुन कुनले अनुमति दिएका पनि होलान् । न यिनीहरू कसैका पिताले बनाएको मन्दिर, न यिनीहरू कसैका मामाले निर्माण गरेको पहाड, न यिनीहरू कसैका काकाले रोपेका रुखहरू हुन् त्यहाँ भएका । यी त सारा नेपालीका साझा सम्पत्ति हुन् । यस्ता आस्थाका धरोहरहरूमा व्यापारिक अखडा खडा गर्नका लागि अनुमति दिने र निर्माण गर्ने दुवै थरिको विरोध धेरै पहिले हुनुपर्ने थियो तर सकेको थिएन । ढिलै भए पनि सुरुवात भएको छ, यसलाई सबैले समर्थन गर्नै पर्दछ ।
मन्दिर सरसफाइ, पुजारी व्यवस्थापन, मन्दिर मर्मत आदिका कुरा व्यापार गर्न पल्केकाहरूले गर्न पनि सक्दछन् । नगरपालिकाको आम्दानीका बारेमा पनि तर्क पेश गरिएला । सरोकारवाला पालिकाका मानिसलाई रोजगारी दिइएको बारेमा पनि जबरजस्त कुरा राखिएला । यी कुराहरू भनेका केबलकार चढ्नेहरूबाट उठाउने र गर्ने कुरा हुन् । मन्दिर सरसफाइ र मर्मत आदिका कुरा भक्तजनले चढाएका भेटीबाटै पर्याप्त हुन्छ भन्नेमा कसैले शंका गर्न पर्दैन । पुजारी पालिनेतर्फ त कसैले एकरत्ति चिन्ता गर्नै पर्दैन, मात्र भेटी व्यवस्थापनको आवश्यकता मात्रै हो ।
मन्दिरमा कसैले पूजा लगाउन चाहन्छ भने उसले निर्धारित शुल्क तिर्नुलाई सामान्य मान्नुपर्दछ । मन्दिर प्रांगणभित्र कसैले विवाह, व्रतबन्ध आदि गराउन चाहन्छ भने त्यसको व्यवस्थापन शुल्क कर्ताले तिर्नै पर्दछ । मन्दिर सफा हुनुपर्ने, समय समयमा मर्मत गर्नुपर्ने, पुजारीहरूलाई जीविकाका लागि दान दिनैपर्ने आदि कारणले विशेष पूजाहरूका निम्ति केही शुल्क तोक्नु मन्दिर व्यवस्थापन समितिको बाध्यता हो भन्ने पनि सबैले बुझेकै छन् । त्यस्तो शुल्क तिर्दा कसैको चित्त दुख्दैन तर भगवान्को दर्शन गर्न नै पैसा तिर्नुपर्ने नियम चाहिँ कुनै पनि दृष्टिले युक्तिसंगत मान्न सकिँदैन ।
नेपालमात्रै होइन, भारतका विभिन्न क्षेत्रमा समेत पैसा भएकालाई मन्दिर र धार्मिक क्षेत्रहरूमा महŒव दिने प्रचलन बढ्दै गएको छ । धार्मिक क्षेत्रहरूमा आस्थालाई अगाडि सारेर पैसा कमाउने धन्दा मौलाउँदै गएको देखिन्छ । कतिपय स्थानमा सन्तहरूले कब्जा गर्ने, कुनै ठाउँ स्थानीय सरकारले नियन्त्रणमा राख्ने र कतिपय धरोहरहरू केन्द्र सरकारले नियमन गर्दै आर्थिक कारोबारको क्षेत्र बनाइएको छ । यो सरासर गलत अभ्यास हो र यसलाई ठीक बाटोमा ल्याउनुपर्ने आवश्यकता देखिन्छ ।
बनारसको विश्वनाथ मन्दिरमा पनि छोटा लाइनबाट दर्शन गर्न पैसा तिर्ने नियम बनाइएको छ । पैसा भएकाले भित्रै गएर दर्शन गर्न पाउने र पैसा नहुनेले टाढैबाट दर्शन गर्नुपर्ने जस्ता व्यवस्थाहरू अनेकौं मन्दिरमा पाइन्छ । शिवरात्रिमा पशुपतिनाथमा धेरै पैसा हुनेले सुविधाका साथ दर्शन गर्ने व्यवस्था र पैसा नहुनेहरूले चार–पाँच घण्टासम्म लाइनमा बस्नुपर्ने बाध्यता खडा गरिन्छ । तीज आदि पर्वहरूमा पनि त्यस्तै नियम लगाइन्छ । भारतको ऋषिकेश घाटमा पनि सन्ध्या आरतिमा पैसा भएका, चन्दा दिएका, घाट जिम्मा लिएकाहरूसँग चिनजान भएकाहरूलाई निश्चित क्षेत्रमा बसेर सहभागी हुने व्यवस्था मिलाइएको छ भने त्यसदेखि बाहेककाले टाढा–टाढाबाट उभिएर सहभागी हुनुपर्ने बनाइएको छ ।
उच्चपदमा पुगेकालाई बेग्लै व्यवस्था गरिन्छ । कतिपय पदका मान्छेहरू सवारी हुँदा त उनी पुग्नुभन्दा एक घण्टाअघिदेखि मन्दिर खाली गराइन्छ र फिर्ती सवारी भएको आधा घण्टापछिसम्म मन्दिर छिर्न दिइँदैन । त्यस्ता ठूलाबडाले कम्तीमा पनि आधा घण्टा मन्दिरभित्र बिताइदिन्छन् । यसरी सरसर्ती हेर्दा दिउँसोको टन्टलापुर घाममा लहरमा बसेका सर्वसाधारणले व्यर्थमा कम्तीमा दुई घण्टा व्यतीत गर्न बाध्य हुनेगरेको नेपालमा त सामान्य नै छ । यस्तो अन्याय पनि भक्तजनहरूले कहिलेसम्म भोग्नुपर्ने हो कसैल भन्न सक्ने अवस्था छैन ।
आजसम्म कुनै भगवान्ले पैसा भएकाहरूलाई मेरो नजिक पठाइदिनु भनेको कसैले सुनेको छैन । कुनै पनि देवीदेवताले धनीलाई प्राथमिकता र आर्थिक रूपमा कमजोरलाई पछि राखेर दर्शन गर्ने व्यवस्था मिलाउनु भनेको पनि जानकारीमा छैन । उच्चपदमा रहेकाहरूले सर्वसाधारणलाई दुःख दिएर दर्शन गर्दा राज्यमा समृद्धि आउँछ भनेर कुनै शास्त्र या पुराणमा उल्लेख गरेको पनि भेटिँदैन । बिनापैसा आएकालाई दर्शन गर्नै नदिई फर्काइदिनु भनेर कुनै भगवान्ले भनेका छन् भनेर लेखिएको ग्रन्थ पनि भेटिँदैन तर पनि हिन्दु मन्दिरहरूमा किन यस्तो प्रचलन चलाइएको छ भन्ने बुझ्न सकिएको छैन ।
भगवान्ले त सबैलाई समान दृष्टिले हेरिरहेका हुन्छन् । भगवान्को दृष्टि त अझ बढी कमजोर माथि नै रहेको हुन्छ । सबरी, सुदामा आदिलाई भगवान्ले निकट राखेका र उद्धार गरेका कथाहरू सबैले पढेकै छन् जस्तो लाग्दछ । भगवान्ले त कसले आत्मादेखिको आस्थाका कारण मेरो भक्ति गर्दैछ र कसले समाजलाई देखाउन देखावटी पूजाआजा गर्दैछ थाहा पाउँछन् र तदनुरूपको आशीर्वाद प्रदान गर्दछन् । सर्वसाधारणलाई दुःख दिएर गरिएका पूजाआजाहरूको फल भगवान्ले देलान् जस्तो लाग्दैन र पनि आजका व्यवस्थापकहरू त्यतैतिर प्रवृत्त हुँदै गइरहेका छन् ।
यसै गर्दै जाने हो भने धर्मका नाममा व्यापार फष्टाउँदै जान्छ । हिन्दुहरूका आराध्य देवदेवीका मन्दिरमा जानेहरूको संख्या घट्दै जान्छ । भगवान् प्रतिको अनास्था बढ्दै जान्छ । हिन्दुत्व र हिन्दुधर्म अनुयायीहरूमा वितृष्णा बढ्छ । धार्मिक पर्यटनको कुरा एकातिर होला तर पर्यटनका माध्यमबाट धन आर्जन गर्ने भनेको मन्दिरसम्म चल्ने सवारीसाधनबाट हो, त्यहाँ खुलेका होटलहरूबाट हो, त्यहाँ जाने भक्तजनले खाँदा र अन्य सुविधा भोग गर्दा तिरेका पैसाबाट हो । भगवान्का अगाडि हात जोडेर वर मागे वापत् पैसा उठाउनु चाहिँ कदापि स्वागतयोग्य हुन सक्दैन ।
धनको तुजुग देखाएर गरिबलाई पछि पारेर गरिएको दर्शनबाट आशातीत फल प्राप्त हुन सक्दैन । पदको शक्ति देखाएर सर्वसाधारणलाई दुःख दिँदै गरिएको धर्मकार्य फलदायी हुन कठिन नै हुन्छ । मन्दिर व्यवस्थापकहरूले पनि मन्दिरभित्र विभेदको अवस्था सिर्जना गर्नुलाई उचित कदम मान्न सकिन्न । पहिला जो आउँछ, उसैको पहिलो पालो अर्थात् अंग्रेजीमा भनिए जस्तै फष्ट कम फष्टको नीति अँगाल्नु नै सबैलाई श्रेयष्कर हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच