धरमरमा सत्ता गठबन्धनको जग

डेढ महिना नपुग्दै तेस्रो ठूलो दल बाहिरियो, राष्ट्रपति निर्वाचनले थप संकट

अनिल क्षेत्री
Read Time = 14 mins

काठमाडौं । सत्तारूढ सात दलीय गठबन्धनभित्रको खटपटले गठन भएको दुुई महिना नपुग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार समस्याउन्मुख हुन पुगेको छ । सरकार गठन भएको ४३ दिनसम्म पनि दुई मन्त्रालयको जिम्मेवारी बाँडफाँट गर्न नसकिरहेको सन्दर्भमा सत्ता गठबन्धनको तेस्रो ठूलो दल रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आइतबार सरकारबाट बाहिरिएको छ । सर्वोच्च अदालतले सो पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा लामिछानेले नेपालको नयाँ नागरिकता नलिई उपप्रधान तथा गृहमन्त्री र सांसद पदको जिम्मेवारीमा बसेको र सो कारण नेपालका कानुनअनुसार बस्न अयोग्य भन्दै फैसला गरिदिएपछि लामिछाने जिम्मेवारीबाट मुक्त हुनुपरेको थियो । पुनः नागरिकता लिएपछि लामिछानेले आफूले सम्हाल्दै आएको मन्त्रालय पुनः पाउनुपर्ने र नपाए पूर्व-सहमतिअनुसार पार्टीलाई दिनुपर्ने लामिछानेको मागलाई अस्वीकार गरेपछि आइतबार सो पार्टीले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय लिएको थियो ।

रास्वपा सरकाबाट बाहिरिएसँगै सरकारमा पाँचवटा मन्त्रालय मन्त्रीबिहीन हुन पुगेको छ । हालसम्म विस्तार गर्न नै नसकेका वन तथा वातावरण, युवा तथा खेलकुदसहित गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रिक्त छन् । सत्तारूढ गठवन्धन दलहरूको बीचमा सहमति हुन नसक्दा सरकार गठन गरेको ४३ दिनसम्म पनि वन र खेलकुद मन्त्रालयको जिम्मेवारी नै तोकिएको छैन । रास्वपाको सत्ता बर्हिगमनसँगै प्रधानमन्त्री प्रचण्डले यसअघि सम्हाल्दै आउनुभएको वन र खेलकुदसँगै तीन मन्त्रालयको थप जिम्मेवारी लिनुपरेको छ । जसकारण २५ सदस्यीय मन्त्रिमण्डलमा हाल दुईजना राज्यमन्त्रीसहित १९ जनाले मात्रै प्रतिनिधित्व गर्दै आएका छन् ।

सरकार अप्ठ्यारोमा छैन, कम्फर्ट जोनमै छ : गजुरेल
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड गत पुस १० गते राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भएर पुस ११ गते शपथ लिनुभएको थियो । प्रचण्ड प्रधानमन्त्री भएको ४२औँ दिनमै संसद्को चौथो ठूलो दल रास्वपा सरकारबाट बाहिरिएपछि प्रचण्ड सरकारका विषयमा अनेक टीका टिप्पणी हुन थालेको छ । सरकारले पूर्णता नपाउँदै रास्वपा बाहिरिनुलाई प्रचण्ड सरकार धरमराउन थालेको विश्लेषण हुन थालेको छ । रास्वपापछि अब कुनै दलले साथ छाडेमा सरकार अप्ठ्यारोमा पर्ने अवस्था सिर्जना भएको छ । तर, एकीकृत समाजवादी र जसपा सरकारमा सहभागी हुने विषयमा छलफल भइरहेकाले परिस्थिति सहज हुने सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रको बुझाइ छ । नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहनुभएका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले भन्नुभयो, ‘हाम्रो नेतृत्वको सरकार अप्ठ्यारोमा छैन । कम्फर्ट जोनमै छ । सत्तापक्ष विपक्ष सबैले विश्वासको मत दिएकाले ढुक्क छौँ । एकीकृत समाजवादी र जसपा सरकारमा सहभागी हुने भन्ने विषयमा छलफल भएकाले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउनेमा आशावादी छौैँ ।’

गठबन्धनमा ठूलो घटनाको खतरा छ : लेखक
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सत्ता गठबन्धनमा ठूलो घटनाहरू हुने खतरा देखिएको दाबी गर्नुभएको छ । गठबन्धनका नेताहरूमा अधैर्यता र विचलन देखिएको जिकिर गर्दै लेखकले सरकारको सैद्धान्तिक धरातलसमेत कमजोर र विरोधाभाषपूर्ण रहेको जिकिर गर्नुभयो । परिणामस्वरूप सरकार अहिलेको अवस्थामा आइपुगेको र गठबन्धनका कतिपय नेताहरू अत्ताल्लिएको टिप्पणी गर्दै लेखकले भन्नुभयो, ‘एमाले सबैभन्दा ज्यादा विचलित भएको छ । एमाले किन यति धेरै अधैर्य, विचलित भयो भन्ने कुरामा म गम्भीर भएको छु । प्रधानमन्त्री एउटा हुने, साँच्चिकै देश अर्कोले चलाउन खोज्ने खालको जुन लक्षण देखिन लागेको छ । त्यसले त झन् ज्यादा सकसपूर्ण स्थिति उत्पन्न हुन्छ । त्यसले नै सत्ताभित्र केही ठूलै घटनाहरू हुने खतरा देखिराखिएको छ ।’
तर, रास्वपा सरकारबाट बाहिरिए पनि समर्थन कायम भएकाले प्रचण्ड नेतृत्वको सरकार राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था कायमै रहेको माओवादी केन्द्रका नेताहरूको विश्वास छ । त्यसो त सरकारमा सहभागी हुने विषयमा एकीकृत समाजवादी र जसपाका नेताहरू प्रधानमन्त्री प्रचण्डसँग नियमितजसो संवादमा छन् । रवि लामिछाने नेतृत्वको रास्वपा सरकारबाट बाहिरिने चेतावनी दिएलगत्तै एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेल प्रचण्डलाई भेट्न पेरिसडाँडा पुग्नुभएको थियो । रास्वपा सरकारबाट बाहिरिएपछि एकीकृत समाजवादी र जनता समाजवादीलाई सरकारमा सहभागी हुने वातावरण सहज बन्दै गएको माओवादी केन्द्रको विश्वास छ ।

कोर्स करेक्सन भए मात्रै सरकारमा सहभागी हुन्छौँ : पाण्डे
नेकपा एकीकृत समाजवादी सरकारमा आउने वातावरण बन्दै गएको विश्लेषण भइरहँदा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले कोर्स करेक्सन भए मात्रै सरकारमा सहभागी हुने बताउनुभएको छ । अहिलेको सरकारमा एमालेसहित विभिन्न विचार र दृष्टिकोण बोक्ने पार्टी भएकाले यस्तै अवस्थामा सहभागी नहुने स्पष्ट पार्दै पाण्डेले भन्नुभयो, ‘हाम्रो नीति तत्काल सरकारमा सहभागी हुने भन्ने छैन । सरकारमा जान प्रधानमन्त्रीज्यूले प्रस्ताव गर्नुपर्‍यो त्यसपछि बैठकबाट निर्णय गर्नुपर्‍यो । त्यसै सरकारमा जाने भन्ने हुँदैन । अहिले एमालेसहित अरू पार्टी सरकार हुँदा हामी जाँदैनौँ ।’

राष्ट्रपति निर्वाचनले थप मतभेद चुलिँदै
फागुन २५ गते तय भएको राष्ट्रपति निर्वाचनले सत्ता गठबन्धनमा थप मतभेद बढ्दै गएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि एमाले अध्यक्ष ओली सशंकित हुनुभएको छ । प्रचण्डले पनि राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा गरिरहँदा ओलीले दबाब बढाउनका लागि एकदुई दिन बिराएर प्रचण्डसँग भेटिरहनु भएको छ । सोमबार सिंहदरबारमा प्रचण्ड, ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको त्रिपक्षीय भेटवार्तामा पनि नेताहरूबीच राष्ट्रपति चुनावसहित राजनीतिक विषयमा छलफल भएको बताइएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओलीबीच भएको भेटवार्तामा राष्ट्रपति चुनाव, रास्वपाका मन्त्री फिर्ता, सरकार सञ्चालन सहितका विषयमा छलफल भएको छ ।

छलफलका क्रममा ओलीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुन नसक्ने भन्दै एमालेका उमेदवारलाई निर्वाचित गराउनका लागि अभियान थाल्नुपर्ने बताउनुभएको थियो । तर, प्रधानमन्त्री प्रचण्डले भने सकेसम्म एमालेकै वा अरू जोसुकै भए पनि राष्ट्रिय सहमतिमै राष्ट्रपति बनाउनुपर्नेमा जोड दिनुभएको स्रोतको भनाइ छ । प्रधानमन्त्री माओवादीले लिँदा पूर्व सहमतिअनुसार सभामुखसँगै राष्ट्रपति पनि आफूले पाउनुपर्ने अडानमा एमाले छ । तर,प्रचण्ड ओलीले अगाडि सार्ने पात्रलाई सहजै राष्ट्रपति बनाउन तयार देखिएका छैनन् ।

प्रचण्डको राष्ट्रिय सहमतिको बोलीमा कांग्रेसको लोली मिलेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘हामीले सत्ता समीकरण परिवर्तन गर्न खोजेको, अर्को समीकरण बनाउन खोजेको त्यस्तो केही पनि होइन । राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा हाम्रो ध्यान गम्भीर रूपले गएको छ । प्रधानमन्त्रीजीले राष्ट्रिय सहमति खोज्नुपर्छ भनिरहनुभएको छ । राष्ट्रिय सहमति कांग्रेसकै लागि त होला नि ।’

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेस प्रतिपक्षबाट विमुख हुँदै सत्तातिर नजिकिँदै गएको छ । एमालेविरुद्ध प्रतिस्पर्धाको नीति लिएको कांग्रेस माओवादीसँग भने सहकार्यको नीति अपनाउँदै आएको छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी नदिएर सहयोग गरेको छ । यस्तै, लुम्बिनी प्रदेशका सभामुख, प्रदेशको १ को उपसभामुख लगायत प्रदेशका पदहरुमा उम्मेदवारी नदिएर कांग्रेसले माओवादीलाई सहयोग गरेको थियो । राष्ट्रपति चुनावमा माओवादीबाट सहयोग पाउने कांग्रेसको अपेक्षा छ । कांग्रेसले माओवादीलाई निरन्तर सहयोग गर्नु,माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ भन्ने अडानले दुई पार्टीको दूरी घट्दै गएको देखाउँछ । तर, कांग्रेससँग माओवादीको निकटताले सत्ता गठबन्धनको प्रमुख घटक एमाले भने थप चिढिँदै गएको छ ।

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवार जिताउँछौँ : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने र उक्त उम्मेदवारलाई जिताउने दाबी गर्नुभएको छ । अन्य राजनीतिक दलहरूसँग सहमति गरेर कांग्रेसले आफ्नो उम्मेदवारलाई राष्ट्रपति बनाउने दाबी गर्दै डा.कोइरालाले भन्नुभयो, ‘राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिन्छ र त्यो निर्वाचन जिताउने हाम्रो जिम्मेवारी छ । कांग्रेसकै उम्मेदवारले जित्छ । अन्य दलहरूसँग सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता छ । कांग्रेसको भोटले मात्रै राष्ट्रपति जित्न सक्दैन ।’ राष्ट्रपति निर्वाचनमा माओवादीसँग निर्णायक मत छ । सोही कारण माओवादी कांग्रेस र एमालेको तानातानमा परेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?