पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइयो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पत्रकार सम्मेलन गर्दै विश्वकप ट्रफी नेपाल आइपुगेको जानकारी गराएको हो । क्यानका जेनेरल म्यानेजर वृतान्त खनालले ट्रफीको प्रदर्शनी मंगलवारबाट गरिने जानकारी गराउनु भयो ।

खनालले ट्रफी बुधवार भक्तपुर दरबार स्क्वायरमा साढे ११ बजेबाट प्रदर्शनीमा राखिने जानकारी गराउनु भयो । त्यस्तै ट्रफी मंगलबार सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने छ । बिहान साढे ७ बजे सगरमाथाको फेदमा रहेको गोक्यो तालमा प्रदर्शनी गरिने क्यानले जनाएको छ । ट्रफी भ्रमणमा नेपालका पूर्व खेलाडी महेबुब आलम सहभागी हुनुहुनेछ । क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको हो ।

यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो । टी-ट्वान्टी विश्वकपको ट्रफी भने पहिलो पटक नेपाल ल्याइएको छ । विश्वकपको ट्रफी दुई दिन नेपालमा रहने क्यानले जानकारी गराएको छ । विश्वकपको १०० दिने ट्रफी भ्रमणअन्तर्गत ट्रफी नेपाल ल्याईएको हो ।

ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शन गरिँदैछ । विश्वकपको ट्रफी निशान कम्पनिले विश्वभर प्रदर्शन गरिरहेको हो । अस्ट्रेलियाको सात शहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ । विश्वकपमा १६ राष्ट्रले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?