
कहिल्यै नथाक्ने पिलो जस्तो छ नेपालका शिक्षकहरको अवस्था । विगतमा भउका सहमति र सम्झौता कार्यान्वयन नहुँदा पीलो झन् दुख्दै गएको छ । यो दुखाईतर्फ ध्यानाकर्षणकै लागि शिक्षकहरु चक, डस्टर, कलम, कापी कम्प्युटर कक्षा कोठामा बिसाएर पुनः सडकमा उत्रेका छन् । नेपालमा वर्षको अन्त्यतिर वा फागुन चैत महिना आन्दोलनका महिना जस्ता बन्नेगरेको लामो समय भयो । यस वर्ष पनि यसले निरन्तरता पायो । गत १५ गते राजावादीहरूको विरोध प्रदर्शन भयो र यसले अराजक रूप लियो । यो हिंसात्मक बन्नपुग्यो र उक्त दिन लुटपाटसमेत भयो । केही मानिसको ज्यान गयो र घाइते भएका धेरैजना उपचार गराइरहेका छन् । यसका सानातिना पाश्र्वप्रभावहरू अहिलेसम्म देखिइरहेकै छन् । मोफसलतिर साँझ–साँझ राँकेजुलुसहरू निस्किरहेका छन् । यसरी हुनेगरेको आन्दोलनका क्रममा अब शिक्षकहरूको आन्दोलन पनि थपिएको छ । शिक्षकहरू आन्दोलनका कार्यक्रम लिएर आएका छन् तर शिक्षहरूको यो आन्दोलन पहिलो होइन ।
यसपहिले पनि पटक-पटक शिक्षकहरूका यस्ता आन्दोलन हुँदै आएका छन् । देशैभरिबाट राजधानी काठमाडौंमा केन्द्रित भएर यहाँको समग्र व्यवस्थापनमा गहिरो प्रभाव पार्नेगरी भएको आन्दोलनपछि उहाँहरूका मागमाथि सरकारले सम्बोधन गर्ने प्रतिबद्धतासहित यसपहिले पनि सम्झौता गरेको थियो तर ती सम्झौताको कार्यान्वयन नभएपछि शिक्षक आन्दोलनमा उत्रन बाध्य भएका थिए । अहिलेको यो आन्दोलन पनि यही समस्यामा केन्द्रित रहेर भइरहेको छ । नेपाल शिक्षक महासंघको आयोजना र शिक्षकहरूका अन्य विभिन्न संघसंस्थाको समेत यस आन्दोलनमा संलग्नता रहेको बताइएको छ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा आन्दोलन प्रारम्भ भएको छ ।
नेपालको तीन पुस्ताले प्रजातन्त्रको लागि लडाइँ गर्नुपरे जस्तै शिक्षकहरूले पनि तिनै माग पूरा गराउन पटक-पटक आन्दोलन गर्नुपरेको छ र गर्दै आएका पनि छन् । तैपनि सरकारले पूरा गरिदिन्छु भनेका मागहरूको समेत कार्यान्वयन गर्ने गरेको छैन । यसमा एकातिर सरकारको उदासिनता र शिक्षकहरूप्रतिको बेवास्ता हुनसक्छ भने अर्कोतिर देशको समग्र आर्थिक अवस्था कमजोर भएका कारण त्यसले धान्न नसक्ने भएकाले पनि शिक्षकहरूका सेवासुविधामा वृद्धि गर्छु भनेर पनि गर्न नसकेको हुनसक्छ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूलाई होच्याउने खालको अभिव्यक्ति दिनुभएको धेरै भएको छ । केही समयपहिले उहाँले ४८ प्रतिशत विद्यार्थी पनि पास गराउन नसक्ने शिक्षकलाई किन सेवासुविधा वृद्धि गर्ने भन्नुभएको थियो ।
यसले गर्दा पनि शिक्षकहरू बढी आक्रोशित बन्नपुगेका हुनसक्छन् । समग्र शैक्षिक उन्नयनका लागि शिक्षकहरूका साथै विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षाकार्यालय, स्थानीय निकाय तथा शिक्षा मन्त्रालयलगायत शिक्षासँग जोडिएका समग्र पक्षहरूको उत्तिकै जिम्मेवारी हुने गर्दछ । जिम्मेवार पक्षले यसबारे बुझ पचाउने गर्नाले शिक्षकहरूको चित्त दुःखेको हुनसक्छ । हाल विद्यालय तहका शिक्षकहरूको अनेकौं प्रकार छ । स्थायी, अस्थायी, करार, राहत, सिकाइ अनुदान, साबिक उमावि, बालविकास कक्षा, प्रविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालयका शिक्षकहरूका सबै शिक्षकहरूका आ–आफ्ना प्रकारका मागहरू जोडेर यो आन्दोलन भएको देखिन्छ । यी सबै खालका शिक्षकहरूको संगठित सहकार्यकबाट यो आन्दोलन भइरहेको स्पष्ट छ । यस आन्दोलनका लागि सबै प्रकारका शिक्षक, विद्यार्थी विद्यालय व्यवस्थापन समिति तथा शिक्षासंबद्ध सम्पूर्णमा सहयोगका लागिसमेत महासंघले आग्रह गरेको छ ।
पेशागत व्यावसायिक अनेक समस्याको समाधान खोज्दै बेलाबेलामा विभिन्न पेशागत संघसंगठनहरू आन्दोलनमा उत्रिने गर्छन् । कहिले चिनीमिल पीडित उखु किसान आफ्नो भुक्तानीका लागि आन्दोलिन हुने गर्छन् र त्यसका लागि सरकारको ध्यानाकर्षण गर्न राजधानी नै आइपुग्छन् । कहिले मिटरब्याज पीडित आसामीहरू राजधानी आएर आन्दोलन गर्ने गर्छन् । अधिकारको संघर्ष होस् कि न्यायको याचना अथवा पेशागत संघसंगठनको विरोध प्रदर्शन ती सबैको आन्दोलनस्थल पनि राजधानी नै हुनेगरेको छ । बेलायतले विरोध गर्नेहरूका लागि एउटा निश्चितस्थान ‘वक्ताको कुनो’ (स्पिकर कर्नर) तोकेर विरोध गर्न दिन्छ । हाम्रोमा त्यसरी विरोधका लागि निश्चित ठाउँ तोकिएको छैन तर माइतीघर मण्डला अघोषित विरोधस्थल जस्तो बन्दै आएको छ ।
सरकारले शिक्षकलगायत सबैका जायज मागमाथि सम्बोधन गर्नुपर्छ । शिक्षकहरू आन्दोलित बन्दा लाखौं विद्यार्थीहरूको पढाइ अबरुद्ध हुन्छ । आन्दोलन गरेका बेला माग पूरा गरिदिने प्रतिबद्धता जनाउने र सम्झौता गर्ने तर तिनको कार्यान्वयन गर्ने बेलामा भने ती मागहरू जस्ताका तस्तै रहने गर्छन् । सरकारले यस वर्ष एसइईको परीक्षाफल प्रकाशन गर्ने दिन नै तोकेको छ । एसइई भरखरैमात्र सकिएको छ । अहिले यसका कपीहरू संकलनको काम भइरहेको छ । संकलनको काम सकिनासाथ कोडिङ गरेर राष्ट्रिय परीक्षा बोर्डले कपी परीक्षणको काम सुरु गर्छ तर शिक्षकहरूले कपी परीक्षण नगर्ने भनेका कारण परीक्षाफल तोकिएको दिन प्रकाशित हुन सक्दैन कि भन्ने देखिएको छ ।
यसले गर्दा परिणाम प्रकाशनको सरकारी तालिका बदलिन सक्छ । कुनै पनि सरकार आफूलाई निरन्तरता दिनका लागि मात्र होइन । यसले रचनात्मक कामहरू पनि गर्नुपर्छ । यसतर्फ सरकारको ध्यान जानु आवश्यक छ र शिक्षकहरूका जायज माग पूरा गरी तिनको कार्यान्वयनतर्फ समेत तदारुकता देखाउनुपर्छ । होइन भने शिक्षकलगायत अनेकौं पेशागत संघसंगठनहरूले विरोधका कार्यक्रम गरिरहने, सरकारसँग सम्झौता पनि हुने तर तिनको कार्यान्वयन नहुने हो भने यस्ता आन्दोलनहरूको पुनरावृत्ति भइरहन्छ । शहरको सौन्दर्यमा क्षति पुग्छ, फोहोर थुप्रिन्छ । फूल तथा बोटबिरुवा भाँचिन्छन् नासिन्छन् तर आन्दोलन गर्ने पक्षहरूका समस्या भने जस्ताका तस्तै रहने गर्छन् । आगामी दिनमा यस्तो नहोस् । कुनै पनि समस्याको उचित समाधान होस् र जुन जुन विषयमा आन्दोलनकारीका माग पूरा गरेर सम्झौता गरिन्छ तिनको सम्झौता बमोजिमको कार्यान्वयन पनि होस् । शिक्षकहरुलाई सडकबाट कक्षा कोठामा फर्काउने दायित्व सरकारको हो जसलाई पूरा गर्नु आवश्यक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच