
देवेन्द्र खड्का/हिटा
कञ्चनपुर । भीमदत्त नगरपालिकाले कला, सांस्कृतिको पहिचान तथा संरक्षण गर्दै लोपोन्मुख परम्परागत बाजाको पुनर्जागरण गर्न १५ दिने दमाह बाजासम्बन्धी तालिम सुरु गरेको छ । भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीको प्रमुख आतिथ्यतामा बिहीबार आयोजित एक कार्यक्रमबीच तालिमको औपचारिक शुभारम्भ गरिएको हो ।
सो तालिममा दमाह बाजा बजाउने सीप सिकाइनेछ, जसका लागि परम्परागत दमाह वादकहरूले प्रशिक्षण दिने जनाइएको छ । तालिममा स्थानीय दमाह बजाउने समुदायका सदस्यहरू, सांगीतिक रुचि भएका युवा तथा संस्कृति प्रेमीहरूको सहभागिता छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख बोगटीले सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवद्र्धन आफ्नो प्राथमिकता भएको उल्लेख गर्नुभयो । उहाँले लोपोन्मुख बाजा तथा सांगीतिक परम्पराको जगेर्नाका लागि यस्ता तालिम आवश्यक रहेको बताउँदै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘पछिल्लो समय हामी हाम्रा कला संस्कृति बिर्सँदै गएका छौं । पछिल्लो समय दमाह बाजा, पञ्चे बाजाको भन्दा पनि वैण्ड बाजातर्फ हाम्रो समाज आकर्षित हुँदै गएको छ,’ उहाँले भन्नुभयो, ‘सो कुरालाई मध्यनजर गर्दै हाम्रा परम्परागत बाजाको संरक्षण र दलित एवं महिलाहरूको आर्थिक उन्ननतिका लागि १५ दिने दमाह बाजा बजाउन तालिन दिन लागिएको हो ।’
यस्तै उहाँले आफ्ना कला संस्कृति संरक्षणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिँदै सीप सिकेपछि सीपको बजारीकरणका लागिसमेत नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले दमाह बाजा नेपालको मौलिक वाद्ययन्त्रहरूमध्ये एक हो, जुन विशेषगरी परम्परागत समारोह, जात्रा तथा सांस्कृतिक पर्वहरूमा सगुनको रूपमा बजाइन्छ । यद्यपि आधुनिकताको प्रभावसँगै यसको प्रयोग घट्दै गएकाले संरक्षणका लागि तालिम सञ्चालन गरिएको बताउनुभयो ।
भीमदत्त नगरपालिका सामाजिक विकास समितिका संयोजक सुशील भट्टले सो तालिमले युवाहरूलाई परम्परागत बाजा बनाउन र बजाउन सीप हस्तान्त्ररण गर्ने बताउनुभयो । यस्तै, कार्यक्रमका सभापति एवं भीमदत्त नगरपालिका कार्यपालिका सदस्य हरिहर परियारले दमाह बाजाको संरक्षणका लागि नयाँ पुस्तालाई सिकाउन आवश्यक रहेको धारणा राख्नुभयो । ‘दमाह बाजा हाम्रो परम्परा, संस्कार र पहिचान संग जोडिएको सांस्कृतिक सम्पदा हो’, उहाँले भन्नुभयो, ‘पछिल्लो समय नयाँ पुस्तामा यसको चासो घट्दै गएकोले संरक्षणका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।’
यो तालिमले नयाँ पुस्तालाई दमाह बजाउने कला हस्तान्तरण गर्दै सांस्कृतिक धरोहरको संरक्षणमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ । पहिलो चरणमा १८ जनालाई तालिम दिन लागिएको नगरपालिकाले जनाएको छ ।
आफ्नो परम्परागत पेशा, बाजा कला सिक्न पाउँदा खुशी व्यक्त गर्दै तालिममा सहभागीले नगरपालिकालाई कार्यक्रमका लागि धन्यवाद व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशी, कार्यपालिका सदस्य गणेश आग्री, नगरपालिकाका कर्मचारी, तालिमका प्रशिक्षक, प्रशिक्षार्थीलगायतको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच