
भक्तपुर । मानव कल्याण समाज झौखेलद्वारा आयोजित ‘ज्ञान विज्ञान महायज्ञ’ सफलतापूर्वक सम्पन्न भएको छ। महायज्ञ २१ चैत्रदेखि २७ गते सम्म सञ्चालन भएको थियो महायज्ञमा ८० लाख रुपैयाँ संकलन गरिएको छ । महायज्ञमा उठेको रकमबाट बेवारिसे र असहाय सडक मानवहरूको स्थायी बसोबासको व्यवस्था गरिने आयोजनकले जनाएको छ ।
महायज्ञको माध्यमबाट कुल आम्दानी ८० लाख ४३ हजार ७१६ रुपैयाँ भएको छ भने खर्च २५ लाख १८ हजार ७ सय रुपैयाँ पुगेको छ। यसरी कुल ५५ लाख २५ हजार १६ रुपैयाँ बचत भएको आयोजक समितिका कोषाध्यक्ष नरेश रन्जितले जानकारी दिनुभयो । महायज्ञको संकलन नगदमा गरिएको हो, जसको सहयोग विभिन्न दाताहरूले भौतिक उपस्थिती, बैंक ट्रान्सफर र क्युआरमार्फत प्रदान गरेका थिए।
महायज्ञमा कथा वाचनका लागि उपस्थित संस्थापक अध्यक्ष सुमीदेवी मानवले श्रीमद्भागवत पुस्तकमा चढाइएको भेटीसमेत नलिई समाजलाई समर्पण गर्नुभएको छ । उहाँले महायज्ञको क्रममा प्राप्त १ लाख रुपैयाँ दक्षिणा र भक्तजनहरूले श्रीमद्भागवत पुस्तकमा चढाएको ७६ हजार रुपैयाँ पनि संस्थालाई हस्तान्तरण गर्नुभएको थियो ।
महायज्ञको क्रममा स्थानीय निकायहरूले जग्गा व्यवस्थापन गर्ने र बागमती प्रदेश सरकारले भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन्। समितिका सचिव बेद खरेलका अनुसार जनप्रतिनिधिहरूको समर्थनले संस्थालाई थप ऊर्जा मिलेको छ।
मानव कल्याण समाज, २०७४ सालमा स्थापना भएको हो । यसले बेवारिसे सडक मानवहरूको उद्धार, सरसफाइ, स्वास्थ्य उपचार, पुनर्मिलन र काउन्सिलिङजस्ता सेवाहरू दिँदै आएको छ। हालसम्म २१ सय जति बेवारिसे व्यक्तिहरूको उद्धार गरिएको छ। अहिले संघका शाखाहरू भक्तपुर, काभ्रे, काठमाडौं, बारा र दाङमा स्थापना भइसकेका छन्, र ५०० भन्दा बढीलाई आश्रय दिइँदै आएको छ।
महायज्ञबाट संकलित रकमले सेवाहरूलाई थप व्यवस्थित र प्रभावकारी बनाउने र दिगो रूपमा ती मानवहरूको लागि स्थायी आवास निर्माण र जग्गा खरिदमा प्रयोग गरिने संस्थापक सुमी मानवले बताउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच