मच्छिन्द्रको जितमा आफिज नायक

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । मच्छिन्द्र क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल एपिएफ फुटबल क्लबलाई दशरथ रंगशालामा आइतबार भएको खेलमा २–१ गोलअन्तरले पराजित गरेको छ ।

बराबरी उन्मुख खेलको इन्जुरी समयमा फरवार्ड ओलावाले आफिजले निर्णायक गोल गर्दै मच्छिन्द्रलाई जित दिलाउनुभएको हो । खेलमा अग्रता भने मनाङले लिएको थियो । एपिएफका लागि अर्माण्ड बेडमले ३७औँ मिनेटमा एपिएफलाई अग्रता दिलाउनुभएको थियो । विकी तामाङको प्रहार फितलो हुँदा अर्माण्डले ६ यार्ड बक्सभित्रबाट सहजै गोल गर्नुभएको थियो ।

पहिलो हाफमो इन्जुरी समयमा पेनाल्टी क्षेत्रको ठीक बाहिरबाट करिमले गरेको गोलसँगै खेल बराबरीमा गयो । दोस्रो हाफको इन्जुरी समयमा आफिजले सुन्दर गोल गर्दै जित पक्का गर्नुभयो । आफिजको यो सिजनको दशौँ गोलसमेत हो । यस जितसँगै मच्छिन्द्र अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान २४ अंक भए पनि हेड टु हेड नतिजाका आधारमा मच्छिन्द्र जावलाखेल र थ्रीस्टारभन्दा पछि रहेको छ । एपिएफ भने १५ खेलमा १९ अंकसाथ नवौँ स्थानमा छ ।

यस्तै, अर्को खेलमा त्रिभुवन आर्मी क्लब र संकटाले १–१ को बराबरी खेलेका छन् । खेलको १८औँ मिनेटमा कप्तान भरत खवासको गोलमा आर्मीले अग्रता बनाएको थियो । खेलको इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै संकटाले बराबरी ग¥यो । संकटाका लेबनानी फरवार्ड युसुफ एट्रिसले पेनाल्टीमा गोल गर्दै आर्मीबाट अंक खोस्नुभयो । रेलिगेसन जोनमा रहेको संकटाले १५ खेलबाट १७ अंक जोडेको छ । आर्मीले समान खेलबाट २१ अंक जोडेको छ ।

एन्फा बैठक आज
अखिल नेपाल फुटबल संघ (एन्फा) को आपत्कालीन बैठक सोमबार बस्ने भएको छ । एन्फा महासचिव किरण राईले आइतबार पदाधिकारी तथा सदस्यहरूलाई पत्रमार्फत् सोमबार दिउँसो २ः०० बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुने आपत्कालीन बैठकमा उपस्थित हुन अनुरोध गर्नुभएको छ ।

यसअघिको आपत्कालीन बैठक तीन उपाध्यक्षसहितको असन्तुष्ट समूहले बहिष्कार गरेको थियो । त्यसका बाबजुद एन्फाले विभिन्न निर्णय गरेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?