
काठमाडौं । वर्ष २०८१ धेरै अर्थमा नेपाली खेलकुदका लागि अर्थपूर्ण बन्यो । खेलाडीको कीर्तिमानी प्रदर्शन र खेलप्रति चासो राख्ने युवा शक्तिका लागि प्रेरणादायी प्रदर्शनले नेपाली खेलकुदलाई जीवन्त राख्यो । नेपाली खेलकुदले वर्ष २०८१ मा थोरै सफलता र धेरै निराशा सँगाल्यो । क्रिकेटले विश्वकपमा सहभागिता, महिला यू-१९ टिमको विश्वकपमा खेल्ने अवसर, एनपिएल र प्रधानमन्त्री कपजस्ता प्रतियोगिताहरूले केही उज्याला पाटो देखाए । विशेषगरी क्रिकेटले देशलाई गर्वका क्षणहरू दियो, जस्तै दक्षिण अफ्रिकाविरुद्धको प्रतिस्पर्धी खेल र अमेरिका-वेस्ट इण्डिजमा देखाएको जुझारू प्रदर्शन । यद्यपि, नेपालले विश्वकपमा एउटा पनि खेल जित्न सकेन । फुटबलतर्फ महिलाहरूले फाइनलसम्मको यात्रा गर्दै निरन्तर प्रयास गरे पनि उपविजेताको छविमा सीमित रहनुपर्यो । पुरुष फुटबलमा भने शीर्ष डिभिजन लिग हुन नसक्नु, एनएसएलको असफलता र एन्फाभित्रको गम्भीर बेथिति, षड्यन्त्र र प्रशासनिक लापरबाहीले खेल क्षेत्रलाई निराश तुल्यायो ।
गत असोजमा एन्फा एकेडेमीका ६ बालकको बाढीमा ज्यान गयो । एन्फाले आफ्नो एकेडेमीमा राखेका खेलाडीको सुरक्षामा लापरबाही गर्दा ६ बालबालिकाले ज्यान गुमाउन पुगे । भिषण वर्षाका कारण सिंगो देशमा हजारौं व्यक्तिहरू घरबारविहीन र मृत्यु हुँदा फुटबलर बन्ने सपना बोकेर एन्फा एकेडेमी आएका ६ बालबालिका पहिरोमा पर्न पुगेका थिए ।
भलिबलतर्फ महिलाहरूले काभा प्रतियोगितामा उपविजेता र च्याम्पियन बनेर सानदार उपस्थिति जनाए भने पारा तेक्वान्दोमा पलेशा गोवर्धनले अन्तर्राष्ट्रिय गौरव दिलाउन जारी राख्नुभयो । खो-खोमा पनि नेपालले उपविजेता बनेर नयाँ सम्भावनाको संकेत दियो । वर्षभरि दुई पटक मिति तोकेर पनि १०औँ राष्ट्रिय खेलकुद सम्पन्न हुन सकेन ।
वर्ष २०८१ नेपाली पुरुष फुटबल टोलीका लागि विदेशी मैदानमा बितेको निराशाजनक वर्ष रहृयो । नेपालको एकमात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशाला एएफसीले अयोग्य ठहर गरेपछि टोलीले फिफा विश्वकप २०२६ छनोटअन्तर्गत सबै खेल विदेशमा खेल्न बाध्य भयो । उक्त चरणमा नेपालले ६ खेलमा केवल एक अंक जोड्दै समूहको पुछारमा रहृयो र विश्वकपको यात्रामा पूर्णविराम लाग्यो । प्रशिक्षक परिवर्तन, इंग्ल्याण्ड ‘सी’ टोलीसँगको हार, युएईसँगको ठूलो हार, यमनसँग बराबरीजस्ता नतिजाले वर्षभर फुटबल क्षेत्रमा निराशामात्रै थप्यो ।
यद्यपि, ताजकिस्तान भ्रमणमा अफगानिस्तानलाई १३ वर्षपछि हराउनु र चैतमा सिंगापुरविरुद्धको ऐतिहासिक जितले केही आशाको किरण देखायो । वर्ष २०८२ मा नेपालले एसिया कप छनोटका खेलहरूसँगै साफ च्याम्पियनसिप खेल्दैछ, जहाँ घरेलु मैदानमा खेल्ने अवसर रहनेछ । तर, दशरथ रंगशालालाई फेरि अयोग्य घोषणा गरिए नेपाली समर्थकहरूको आक्रोश र एन्फाप्रति अविश्वास अझ चुलिने निश्चित छ ।
वर्ष २०८१ अन्तर्राष्ट्रिय भलिबलका लागि नेपालका लागि मिश्रित उपलब्धि र चुनौतीपूर्ण रहृयो । महिला तथा पुरुष सिनियर टिमले उपाधि जित्न नसके पनि नेपालले सातवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर भलिबल गतिविधिमा सक्रियता देखायो । त्यसमध्ये महिलाको विच भलिबल र काभा महिला क्लब च्याम्पियनसिपमा मात्र नेपालले उपाधि जित्न सफल भयो । माल्दिभ्समा आयोजित क्लब च्याम्पियनसिपमा पुलिस क्लबले ऐतिहासिक उपाधि जित्यो भने कमला पुन र मनिषा चौधरीको जोडीले भुटानमा विच भलिबलको स्वर्ण पदक जित्दै नयाँ कीर्तिमान बनायो ।
तर, समग्रमा पुरुष सिनियर टिम उपाधिविहीन रहृयो र भलिबल खेलाडी पलायनको लहरले चिन्ता बढायो । राष्ट्रिय टिमका प्रमुख खेलाडीहरू- मानबहादुर श्रेष्ठ, दिलबहादुर सुनार, हेमन्त मल्ल, टेकराज अवस्थी, विशाल विक, रवि केसी र महिला खेलाडीहरू सरस्वती चौधरी र प्रतिभा माली विदेशिएकाले टिमको भविष्यप्रति चिन्ता बढाएको छ । खासगरी सरस्वतीले जागिर नै त्यागेर अष्ट्रेलिया प्रस्थान गर्दा खेल क्षेत्रको दीर्घकालीन योजना प्रश्नमा परेको छ ।
वर्ष २०८१ नेपाली क्रिकेटका लागि सम्झनलायक वर्ष बन्यो । यस वर्ष क्रिकेट नेपाली खेलकुदको सबैभन्दा व्यस्त विधामध्ये एक रहृयो । राष्ट्रिय टिमदेखि यू-१९ सम्मको उपस्थितिले अन्तर्राष्ट्रिय मैदानमा नेपालको झण्डा फहराउने अवसरमात्र दिएन सँगै थुप्रै पाठहरू पनि सिकायो ।
सबैभन्दा ठूलो खुसीको कुरा, नेपालले दशकपछि आइसिसी ट्वान्टी-२० विश्वकपमा सहभागिता जनायो । अमेरिका र वेस्ट इण्डिजको भूमिमा खेलेको उक्त प्रतियोगितामा नेपाली टोलीको जितको सपना अधुरै रहृयो तर उत्साह भने कम भएन । नेपालले विश्व क्रिकेटमा आफ्नो उपस्थिति जनायो, जुन आफैंमा ऐतिहासिक थियो ।
त्यसैगरी, युवा टोलीले पनि आठ वर्षपछि एकदिवसीय विश्वकपमा सहभागिता जनाउँदै भविष्यको सम्भावना देखायो । यू-१९ टोलीको अफगानिस्तान र दिल्ली टिमसँगको रोमाञ्चक खेलहरूले नेपाली क्रिकेटको नयाँ पुस्ता तयार भइरहेको सन्देश दिन्छ ।
विश्वकप लिग-२ र ट्वान्टी-२० शृंखलामा नेपालले केही असन्तोषजनक नतिजा भोग्यो । जसमा हारले मात्र होइन, वर्षाले पनि साथ नदिएर नेपाली योजनामा बाधा पुर्यायो । यद्यपि यी कठिनाइहरू थिए, नेपाली टिमको मिहिनेत, संघर्ष र जोशले फेरि पनि क्रिकेटप्रेमीहरूको मन जित्यो ।
हर्षको अर्को पाटो थियो, नेपालले अमेरिकासँगको शृंखला जित्यो, कतिपय खेलहरूमा प्रभावशाली जित हात पार्यो । वर्षको अन्त्यतिर नेपाल हङकङमा जारी ट्वान्टी-२० शृंखलामा विजयी यात्रा गरिरहेको छ, जसले आगामी दिनमा नेपाली टिम थप आत्मविश्वासका साथ अगाडि बढ्ने संकेत दिएको छ । २०८१ ले नेपाली क्रिकेटलाई विश्वमञ्चमा चिनाउने मौका दियो । अब २०८२ मा यो सफलताको बलियो आधार बनाउँदै अगाडि बढ्न जरुरी छ । नेपाली क्रिकेटको भविष्य उज्यालो छ तर त्यो उज्यालो पूर्ण बन्न अझै धेरै मिहिनेत गर्नुपर्नेछ ।
वर्ष २०८१ नेपाली महिला फुटबलका लागि अपेक्षाभन्दा फरक अनुभव बटुल्ने समय बन्यो । घरेलु भूमिमा खेलेका नौ अन्तर्राष्ट्रिय खेलमध्ये दुई फाइनलमै हार बेहोर्दा नेपाल उपाधिरहित नै रहृयो । कात्तिकमा सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग २–१ को हार र फागुनमा भएको चारदेशीय च्याम्पियनसिपको फाइनलमा म्यानमारसँग २-० ले पराजित हुनु नेपाली चेलीहरूका लागि पीडादायी रहृयो । हालसम्म १३ फाइनल गुमाइसकेको नेपाल अब उपाधिरहित इतिहास तोड्ने बाध्यकारी मोडमा छ ।
वर्ष २०८१ मा घरेलु लिग नहुँदा नेपाली फुटबल मोफसलमय बन्यो । शीर्ष डिभिजन लिग लगातार दोस्रो वर्ष नहुँदा खेलाडी र क्लबहरू मोफसलका प्रतियोगितामै निर्भर रहनुप¥यो । चर्च ब्वाइज र एनआरटीले अधिकांश उपाधि जित्दा मनाङ मस्र्याङ्दी र थ्री स्टारजस्ता पुराना क्लबहरू खासै सक्रिय देखिएनन् । एन्फाको कमजोर व्यवस्थापनले मोफसल प्रतियोगिताको तालिका जुध्न पुग्दा क्लब र खेलाडी मारमा परे । डिभिजन फुटबलको चक्र पूरा भए पनि एन्फाले शीर्ष लिग गर्न सकेन र हालको विवाद समाधान नहुँदासम्म आगामी वर्ष पनि लिग नहुने देखिन्छ । वैशाख २० देखि सुरु हुने लिग कम नकआउट प्रतियोगिताले पनि एन्फाको लिगप्रतिको अनिच्छा झल्काउँछ ।
वर्ष २०८१ नेपाली महिला क्रिकेटका लागि विशेषगरी उमेर समूहमा ऐतिहासिक र सुखद रहृयो । नेपाली यू-१९ टोलीले पहिलोपटक आइसिसी महिला यू-१९ विश्वकपमा स्थान बनाउँदै इतिहास रच्यो भने एसिसी यू-१९ एसिया कपमा पाकिस्तानलाई हराएर सनसनी मच्चायो । यद्यपि, विश्वकपमा भने नेपाल तीनै खेलमा पराजित भयो ।
वरिष्ठ टोलीले एसिसी एसिया कप, त्रिकोणात्मक सिरिज (नेदरल्याण्ड्स र थाइल्याण्डसँग) र युगाण्डामा आयोजित चारदेशीय शृंखलामा सहभागिता जनायो । केही जितसहित अधिकांश खेलमा पराजित हुँदा टोलीले मिश्रित नतिजा हासिल गर्यो ।
घरेलु क्रिकेटमा ललितपुर मेयर कप र प्रधानमन्त्री कप सम्पन्न भए । दुवै प्रतियोगितामा नेपाल एपिएफ क्लबले उपाधि जित्यो । प्रधानमन्त्री कपमा पहिलोपटक त्रिभुवन आर्मी क्लबले सहभागिता जनाउनु नेपाली महिला क्रिकेटका लागि सकारात्मक संकेत रहृयो ।
वर्ष २०८१ महिला घरेलु फुटबलका लागि सकारात्मक रहृयो, जहाँ एन्फा राष्ट्रिय महिला लिग २०२४-२५ खेलाइयो, जुन नेपाली महिला फुटबल इतिहासकै सबैभन्दा लामो लिग थियो । ६ महिने लिगको फाइनलमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले नेपाल पुलिस क्लबलाई ४–० ले हराएर च्याम्पियनको उपाधि जित्यो । लिगले खेलाडीहरूको फिटनेस र लयमा सुधार ल्यायो र चोटबाट पुनरागमन गरेका खेलाडीहरूले आफ्नो पुरानो लय समात्न सके । यसपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टोलीले भाग लिइरहृयो तर साफ च्याम्पियनसिप र अन्य च्याम्पियनसिपहरूमा नेपालले निराशाजनक हारको सामना गर्यो । मोफसलमा पनि एपिएफले दुई प्रमुख आमन्त्रण प्रतियोगिताहरू जित्यो । यस वर्ष महिला फुटबलका लागि लुम्बिनी कप र महिला फ्रेन्चाइज लिग आयोजनाको योजना छ, जसले खेलाडीहरूलाई अझ उत्कृष्ट प्रदर्शनका लागि अवसर प्रदान गर्नेछ ।
वर्ष २०८१ मा खेलाडीहरूका लागि सर्वाधिक प्रतिक्षित प्रतियोगिताका रूपमा दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता रहेको थियो । साग, एसियन गेम र ओलम्पिकसम्मको यात्रा तय गर्ने उद्देश्य बोकेका खेलाडीहरू राष्ट्रियस्तरमा च्याम्पियन बनेर भविष्यको यात्रा लम्कने प्रयासमा निरन्तर मिहिनेत गरे । तर, खेलकुदको सर्वोच्च निकाय खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को गैरजिम्मेवारीपूर्ण व्यवहारका कारण पूर्वाधार तयारीबीच पनि कर्णालीले २०८१ मा दसौं राष्ट्रिय खेलकुद आयोजनाको अवसर पाएन ।
प्रतियोगिता तोकिएको समयमा भएको भए मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रतियोगिता सम्पन्न भइसक्नुपर्ने थियो । तर, उक्त मितिमा त प्रतियोगिता भएन नै त्यसपछि दोस्रो पटकको मितिमा समेत प्रतियोगिता नहुँदा वर्ष २०८१ को बहुप्रतिक्षित १०औँ राष्ट्रिय खेलकुद कुर्दाकुर्दै वर्ष बित्यो । प्रतियोगिता दोस्रोपटक चैत २३ देखि ३० सम्म आयोजना हुने मिति मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले मिलेर सारे तर उनीहरूले त्यो खेलकुदका लागि सारेका थिएनन् । उक्त मिति पनि यसै गुज्रियो र अर्को नयाँ मिति २०८२ मा पुग्यो तर त्यसमा पनि नहुने भइसकेको छ ।
पलेशाले दिलाएको ऐतिहासिक पदक
केही खुसी, केही निराशा, केही सफलता र केही असफलताका वास्तविक कथाहरूलाई इतिहासको दस्तावेज बनाउँदै वर्ष २०८१ हामीबाट बिदा हुँदैछ । तथ्यांकको तराजुमा राख्ने हो भने बितेको वर्षले नेपाली खेलकुदलाई खुसीका केही इटा थपेर विदा हुँदैछ । वर्ष २०८१ धेरै अर्थमा नेपाली खेलकुदका लागि अर्थपूर्ण बन्यो । खेलाडीको कीर्तिमानी प्रदर्शन र खेलप्रति चासो राख्ने युवा शक्तिका लागि प्रेरणादायि प्रदर्शनले नेपाली खेलकुदलाई जीवन्त राख्यो । खेलाडीको मिहिनेत र लगावले देशको शीर उच्चो राख्न निरन्तर अघि बढे खेलाडीहरू ।
तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धनले नेपालका लागि पारालिम्पिक्समा ऐतिहासिक कांस्य पदक जिन्तुभयो । उहाँले के ४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजी मुनि सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गर्दै पदक जित्नुभयो । नेपालले सन् १९६४ को टोकियो ओलम्पिकदेखि सहभागी जनाउन थाले पनि पदकविहीन थियो । ओलम्पिकमा नेपाली खेलाडीको उपस्थिति सहभागितामा सीमित थियो । तर, पलेशाले ६ दशक लामो ओलम्पिकमा पदकविहीन यात्रा अन्त्य गर्दै ओलम्पिकमा पदक जित्ने नेपालको पहिलो खेलाडी बन्नुभयो ।
उहाँको जितसँगै प्रशिक्षक कविराज नेगी लामालेको पनि चर्चा भयो । यो सफलता पलेशाको मात्र नभएर नेपालकै थियो । पारालाई छाडेर ओलम्पिकमा ६ दशक यात्रामा ९२ खेलाडीले सहभागिता जनाएका छन् । तेक्वान्दोकी संगीना वैद्य २००४, दीपक विष्ट २००८ र टेबलटेनिसका स्यान्टु श्रेष्ठ मात्रै छनोट यात्रा पार गरेर ओलम्पिकमा सहभागी हुनुभएको थियो । अन्य सबै खेलाडी कोटामार्फत ओलम्पिक खेल्दै आएका छन् ।
पारालिम्पिक्समा भने नेपालले सन् २००४ देखि सहभागिता जनाउन थाल्यो । पलेशा पारामा छनोट पार गर्दै पारालिम्पिक्स खेल्ने पहिलो खेलाडी हुनुहुन्छ । पलेशा गत वर्षको चैतमा चीनको ताइयानमा भएको पारालिम्पिक्सको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारालिम्पिक्समा सहभागी हुनुभएको थियो । नेपाली खेलाडीले ओलम्पिकमा पदक जित्नसक्छ भन्ने उहाँले स्थापित गर्नुभयो ।
फेरि पनि खेलाडीहरूकै कारण केही आशाको किरण बाँकी छ । उनीहरूले प्रतिबद्धता, लगनशीलता र मिहिनेतका साथ मैदानमा देशको प्रतिनिधित्व गरिरहेका छन् । यदि सरकारले आवश्यक पूर्वाधार, लगानी र दीर्घकालीन योजना सुनिश्चित गरे भने खेलकुदले राष्ट्रलाई गर्व, रोजगारी र अर्थतन्त्रमा योगदान दिन सक्ने सम्भावना राख्दछ । वर्ष २०८२ बाट खेलकुद प्रशासकमा इमान्दारिता र इच्छाशक्ति जागोस् र नेपाली खेलकुदले आफ्नो सम्भावनालाई यथार्थमा रूपान्तरण गर्न सकून् । नयाँ वर्षको शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच