
म्याग्दी । देशका विभिन्न ठाउँहरुबाट नयाँ वर्ष मनाउन आएका आन्तरिक पर्यटकहरुका कारण आइतबारदेखि नै म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रहरुमा भीड लागेको छ ।
नयाँ वर्ष २०८२ सालको पहिलो दिन (सोमबार) सुर्योदयको दृश्यावलोकन गर्नका लागि म्याग्दीको पुनहिल जान आएका पर्यटकहरुका कारण घोडेपानीका होटलहरु खचाखच भरिएका छन् । पुनहिलबाट २०८२ सालको पहिलो सुर्योदय हेर्न देशका विभिन्न ठाउँहरुबाट तीन सय बढी आन्तरिक पर्यटकहरु घोडेपानी आएका छन् । यहाँ आउने आन्तरिक पर्यटकहरुमा अधिकांश युवा समूहका पर्यटकहरु रहेका छन् ।
म्याग्दी र मुस्ताङका धार्मिक स्थलहरुमा पनि देवी देवताको दर्शन र पूजन गरी नयाँ वर्ष मनाउन सयौं व्यक्तिहरुको भीड लागेको छ । कालीगण्डकीमा संक्रान्ती स्नान गरी बेनीको बेनी शिवालय,गलेश्वर धाम,महारानी थान लगाएतका मन्दिरहरुमा शनिवार बिहानैदेखि दर्शनार्थीहरुको वाख्लो भीड लागेको छ ।
देशका विभिन्न ठाउँहरुबाट आन्तरिक पर्यटकहरु म्याग्दीका घोडेपानी,पुनहिल,तातोपानी र मुस्ताङको मुक्तिनाथ,जोमसोम,कागवेनी लगाएतका क्षेत्रमा आएका छन् ।
नयाँ वर्षको सुरुआतसँगै म्याग्दीका पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले खचाखच भरिन थालेका छन् ।
पाहुनाहरुका कारण पर्यटकीय क्षेत्रका होटलहरु खचाखच भरिएका छन् भने सडकमा सार्वजनिक र निजी यातायातका साधनहरु बाख्लै गुडेका बेनीको प्रवेशनाका कालीपुलस्थित ट्राफिक प्रहरीले जनाएको छ ।
म्याग्दीको पर्यटकीय स्थल पुनहिलबाट सुर्योदयको अवलोकन गर्न विगत तीन दिनदेखि दैनिक तीन सयदेखि चार सयसम्म पर्यटकहरु घोडेपानीमा आएका घोडेपानीका होटल व्यवसायी मिना पुनले बताउनुभयो ।
स्थलमार्गबाट मुस्ताङ जाने पर्यटकका लागि बेनी प्रवेशद्वारसमेत भएको हुनाले मुस्ताङ जाने पर्यटकहरुको भीड बेनीमा देख्न सकिन्छ ।
होटल व्यवसायी पुनका अनुसार नयाँ वर्ष २०८२ को पहिलो दिनको सुर्योदय हेर्नका लागि आन्तरिक तथा वाह्य पर्यटकहरुको घोडेपानी र पुनहिलमा भीड लागेको छ ।
उता मुस्ताङमा पनि आन्तरिक तथा वाह्य पर्यटकहरु बढेका पर्यटन तथा होटल व्यवसायीहरुले बताएका छन् । मुस्ताङको मुक्तिनाथ,जोमसोम,लेते र उपल्लो मुस्ताङको लोमान्थाङमा पर्यटकहरुको लर्को लागेको जोमसोमका व्यवसायी नविन शेरचनले बताउनुभयो ।
चितवनको जगतपुर र पार्वतीपुरबाट म्याग्दीको घोडेपानी,पुनहिल,तातोपानी र मुस्ताङको भ्रमणमा आउनुभएका हिमाल रिजाल,आरती सापकोटा, विमल पौडेल लगाएत उहाँको समूहका ७ जना युवा युवतीहरुले पाँच दिनसम्म म्याग्दी र मुस्ताङका पर्यटकीय र धार्मिक क्षेत्रहरुको भ्रमण गर्ने योजना सहित आएको बताउनुभयो ।
केही दिनयता बेनीमा आन्तरिक पर्यटकहरुको आगमन साविकको भन्दा उल्लेख्यरुपमा बढेको बेनीका होटल व्यवसायीहरुले बताएका छन् ।
चैत अन्तिम सातादेखि नै म्याग्दीमा साविकको भन्दा पर्यटकहरु बढी आएका र अधिकांश ठूला होटल भरिभराउ भएको गलेश्वरका होटल व्यवसायी बाबुराम आचार्यले जानकारी दिनुभयो । पहिला नेपाली र भारतीय पर्यटकको रोजाइ बनेको मुक्तिनाथ मन्दिर सोझै गएर फर्कने चलन थियो, तर पछिल्ला वर्षमा मुक्तिनाथ पुगेका पर्यटक बेनी, बागलुङ कालिका र पञ्चकोटमा समेत पुग्ने गरेकाले यस क्षेत्रको पर्यटकीय विकासमा थप सहयोग पुगेको उहाँको भनाइ थियो ।
कालीगण्डकीमा स्नान गर्नेको भीड
सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने आजको दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति र वर्षको जेठो दिन । बिहानैदेखि पवित्र कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ ।
म्याग्दी र पर्वतका विभिन्न गाउँहरुबाट बिहान सबेरै गंगा स्नान गर्नका लागि कालीगण्डकी नदीको किनारमा मानिसहरु आएका छन् । आज वर्षको पहिलो दिन भएकोले गंगा स्नानपछि मन्दिरमा पूजा गरेर घर गई मीठामीठा खानेकुरा पकाएर खाने र परिवारसँग बसेर रमाउने गरिन्छ ।
विभिन्न पौराणिक ग्रन्थमा कालीगण्डकीको महिमाको वर्णन गरिएको छ । यसको तटीय इलाका तथा प्रसवण क्षेत्रमा रहेका विभिन्न तीर्थस्थल, ऋृषि महर्षिका आश्रम स्थल, धाम, घाट र मानव बस्तीका कारण यसको सभ्यता वैदिककालसँग जोडिएको कालीगण्डकी बचाउ अभियानका अभियानकर्मीले बताउँदै आएका छन् ।
कालीगण्डकीको पौराणिक महत्व र यहाँ पाइने शालग्रामबाट आकर्षित भई विभिन्न ऋृषिगणले यसको प्रसवण क्षेत्रमा आई योग, तपस्या र साधना गरेका दृष्टान्त भेटिन्छन् । कालीगण्डकीको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, आर्थिक तथा पर्यटकीय दृष्टिले पनि ठूलो महत्व छ ।
यस्तो छ कालीगण्डकीको पौराणिक र सांस्कृतिक महत्व
हिन्दूहरुको पवित्र तीर्थस्थल दामोदरकुण्ड क्षेत्र (तिब्बतको न्ह्युविन हिमालको ग्लेसियर)बाट उत्पत्ति भई मुस्ताङ प्रवेश गर्ने यो नदी नारायणीको एक प्रमुख शाखा नदी पनि हो । कालीगण्डकी उद्गम विन्दुबाट देवघाटसम्म करिब ६३०.४० किलोमिटरको लामो दूरी पार गर्दै नारायणीमा मिसिन पुग्छ । दामोदरकुण्डबाट आउने गण्डकी र मुक्तिनाथबाट उत्पत्ति भएको कागखोला कागबेनी भन्ने स्थानमा भेट भएपछि यसलाई कालीगण्डकी भनिन्छ ।
कालीगण्डकीलाई कृष्णगण्डकी पनि भन्ने गरिन्छ । कृष्णको अर्थ कालो भएको र कालीगण्डकीमा धेरैजसो समय कालो जल प्रवाहित हुने भएकाले यो नदीलाई कालीगण्डकी (कृष्णगण्डकी) भनिएको हो ।
स्कन्दपुराणमा ‘शालग्राम समिपेतु क्रोशमात्रं समन्ततः । कीटोऽपि म्रियते याति वैकुण्ठभवनं ध्रुवम् ।।’ अर्थात् जहाँ–जहाँ कालीगण्डकी बहेकी छन्, त्यसको एक–एक कोषसम्म मर्ने किटपताङ्गादिसमेत वैकुण्ठ जान्छन् भनेर वर्णन गरिएको छ ।
त्यस्तै प्रयाग, कुरुक्षेत्र तथा नैमिषरण्यमा सयौँपटक स्नान गरेर पाइने फल कालीगण्डकीमा एकैपटक स्नान गरेर प्राप्त हुन्छ भन्ने कुरा पनि स्कन्दपुराणमा बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच