व्यवस्थित बन्दै म्याग्दीको दर्मिजा तातोपानी कुण्ड

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका-४, दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्डहरूमा जानका लागि बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भएपछि दुर्गम स्थानमा रहेका तातोपानी कुण्डहरू व्यवस्थित बनेका छन् । दर्मिजा गाउँको पुछारमा रघुगंगा नदीको किनारमा रहेको मुहानबाट ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रमको तातोपानी निस्कने गर्दछ ।

प्राकृतिक तातोपानीमा डुब्दा विभिन्न रोग निको हुने विश्वास गरिन्छ । यसअगाडि सानो पोखरी रहेकोमा गत वर्ष जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा पोखरी निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद पुनले जानकारी दिनुभयो ।
रघुगंगा नदीको किनारमा अलग-अलग ठाउँमा चारवटा पोखरी बनाइएको छ । कुण्डमा जाने ठाउँको दक्षिणतर्फ जल बराहको मन्दिर छ ।

मन्दिरको दाहिनेतर्फ रहेको पोखरीमा प्लाष्टिकको छाना हालिएको छ । सो पोखरीमा एकपटकमा २५ जनासम्मले डुबेर उपचार सेवा लिँदै आएका छन् । मन्दिरको देब्रेतर्फ सानाठूला गरी तीनवटा पोखरी छन् । एउटा पोखरीमा २० जना, अर्कोमा १० जना र तेस्रो पोखरीमा पनि १० जनाले एकसाथ बसेर डुब्न सक्ने गरी पक्की पर्खालसहित निर्माण गरिएको छ ।

यी पोखरी निर्माण गर्न जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले ३५ लाख सहयोग गरेको थियो । कोरोनाको जोखिमका बेलामा पनि स्थानीय मजदुर परिचालन गरी पोखरी निर्माण गरिएको दर्मिजा तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । ५० डिग्री सेल्सियसभन्दा बढी तातोपानी निस्कने मुहान यहाँ रहेको छ । सो मुहानको पानी संकलन गरे छालासम्बन्धी रोग, चोटपटक, बज्रिएको, सुन्निने जस्ता समस्याहरू निको हुने विश्वास छ ।

यहाँ स्नान गर्न आउने पाहुना तथा पर्यटकहरूलाई बस्न मिल्ने स्थानहरूको निर्माण पनि यसअगाडि भइसकेको स्थानीय ललिता गर्वुजाले बताउनुभयो । यस पोखरीको नजिक एउटा आकर्षक झरनासमेत रहेको छ । यस स्थानलाई सुरक्षित राख्नका लागि अहिले तटबन्धको कार्यसमेत भइरहेको समितिले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?