घलेगाउँमा सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता हुने

हिमालय टाइम्स
Read Time = 4 mins

लमजुङ । स्मार्ट भिलेज घलेगाउँमा वैशाख १ गतेदेखि स्मार्ट भिलेज आमन्त्रित छैटौँ गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ । यसअघि खुला फुटबल प्रतियोगिता आयोजना गर्दै आएका घलेगाउँवासीले पहिलोपटक आमन्त्रित फुटबल प्रतियोगिता आयोजना गर्न लागेका हुन् । यसका लागि जिल्लाभित्रका चारवटा टिम र जिल्लाबाहिरका ६ वटा चर्चित फुटबल क्बलहरूलाई आमन्त्रण गरिएको छ । यो प्रतियोगितामा ‘ए’ डिभिजन खेल्ने फुटबल खेलाडीसमेत सहभागी हुनेछन् ।

पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले बेंसीशहरमा पत्रकार भेटघाटको आयोजना गरी पहिलोपटक आयोजना गरिएको आमन्त्रित स्मार्ट भिलेज गोल्डकप फुटबल प्रतियोगितामा प्रथम हुनेलाई नगद पाँच लाख ५५५ रुपैयाँ, गोल्डकप र मेडल पुरस्कार राखिएको बताएको छ । द्वितीय हुनेलाई नगद तीन लाख ३५५ रुपैयाँ, कप र मेडल राखिएको पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो । समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइको ग्रामीण भेगमा आयोजना गरिने फुटबल प्रतियोगिता नेपालमा सम्भवतः यो पहिलो प्रतियोगिता हो ।

त्रिवेणी युवा क्लब बेंसीशहरले प्रथम पुरस्कार पाँच लाख रुपैयाँ राखेकोमा घलेगाउँमा आयोजित आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता जिल्लाको हालसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशिको फुटबल प्रतियोगिता हो । प्रतियोगितामा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई नगद १०/१० हजार रुपैयाँ र मेडल प्रदान गरिनेछ । यो कार्यक्रम आयोजना गर्न ३० लाख ८० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
घलेगाउँमा आयोजना हुने आमन्त्रित फुुटबल प्रतियोगितामा भाग लिने क्लबहरूको नाम पत्रकार भेटघाटमा सार्वजनिक गरिएको छ । जसअनुसार प्रतियोगितामा जिल्लाबाहिरका टिममा कास्की ११, नेपाल भानु युनाइटेड तनहुँ, समाज कल्याण खेलकुद केन्द्र काठमाडौं, सशस्त्र प्रहरी क्लब (एपिएफ) काठमाडौं, गोरखा ब्वाइज बुटवल र रड्स रामपुर चितवन छन् ।

यसैगरी लमजुङका क्लबमा लालीगुराँस युवा क्लब भुजुङ, त्रिवेणी युवा क्लब बेंसीशहर, बुद्ध युथ क्लब भोटेओडार र बेंसीशहर युथ सोसाइटी शेरा रहेका छन् । नाइन ‘ए’ साइडको स्वर्गभूमि रंगाशालामा हुने प्रतियोगितामा आमन्त्रण गरिएका खेलाडीलाई खाना र बासको निःशुल्क व्यवस्थापन गरिएको छ । क्वहोलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले ग्रामीण भेगमा आयोजना हुने सर्वाधिक राशिको फुटबल प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?