तिलोत्तमा गोल्डकपको उद्घाटन खेलमा सुदूरपश्चिम जित दर्ता गर्दै सेमिफाइनल प्रवेश

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 6 mins

बुटवल । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा शनिबारदेखि सुरु २२ औं संस्करणको तिलोत्तमा गोल्डकपको उद्घाटन खेलमा सुदूरपश्चिम जित दर्ता गर्दै सेमिफाइनल प्रवेश गरेको छ । बुटवल–११ देविनगरमा अवस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा उसले रुपन्देही–११ लाई ३–१ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरण प्रवेश गर्न सफल भएको हो ।

सुदूरपश्चिमका लागि जर्सी नम्बर–११ का फागुराम थारुको दुई तथा जर्सी नम्बर–१९ का स्वाम्या हार्दिकले गोल गरेका हुन् । खेलको सुरुवातदेखिनै रुपन्देहीमाथि हाबी देखिएको सुदूरपश्चिमका लागि पहिलो हाफको ३१ औं मिनेटमा जर्सी नम्बर ११ का फागु चौधरीले करिब ३० यार्ड टाढाबाट फ्री किक प्रहार गर्दै सोझै जाली चुमाएका थिए ।

१–० अंकसँगै पहिलो हाफ सकिएको थियो । दोस्रो हाफको सुरुवाती मिनेटमै प्राप्त फ्रीकिकलाई सदुपयोग गर्दै सुदूर पश्चिमका स्वाम्या हार्दिकले बललाई जाली चुमाउँदै अग्रतालाई दोब्ब बनाएका थिए ।

यसैगरि खेल अवधिभर उत्कृष्ट खेल प्रस्तुत गर्दै निरन्तर गोलको अवसर सिर्जना गरिरहेका जर्सी नम्बर ११ का थारुले दोस्रो हाफको २३ औं मिनेटमा थप एक गोल गर्दै टिमलाई ३–० को अग्रतामा पुर्याएका थिए ।

दोस्रो हाफको अतिरिक्त समयको अन्तिम समयमा रुपन्देहीले सान्त्वना गोल गर्न सफल भएको थियो । सुदूरपश्चिमको डी एरिया भित्र फौल भएपछि प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै रुपन्देहीका जर्सी नम्बर ७ का फोडे फोफोनाले गोल गरेका हुन् । प्रतियोगितामा सुदूरपश्चिमका फागुराम थारु म्यान अफ दी म्याच घोषित भए ।

भोलि आइतबारको खेल हिमालयन शेर्पा र थ्री सटारका बीच हुने छ । दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ । यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

प्रतियोगिताको एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले उद्घाटन गर्नु भएको थियो ।

तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि प्रतियोगिता सुरू भएको प्रतियोगिताको २२ औं संस्करण ४६ वर्षमा हुन लागेको हो ।

बुटवल उपमहनागरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत २३ बर्ष देखि जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ । ३३ देखि ३५ सालसम्म नियमित भएको प्रतियोगिता त्यसयता ३९ सालसम्म हुन सकेको थिएन ।

त्यसपछि ४३ सालदेखि ५१ सालसम्म सात वर्ष रोकिएको प्रतियोगिता ५६ सालमा फेरि रोकिएको थियो । ५७ र ५८ मा दुई वर्ष लगातार सञ्चालन भएपनि ६४ सालसम्म सञ्चालन हुन सकेको थिएन । त्यसपछि ६५ सालमा सञ्चालन भएपनि ६६ मा रोकिएर फेरि ६७ सालमा संचालन भएको थियो ।

६८ देखि ७० सालसम्म रोकिएको तिलोत्तमा गोल्डकप ७१ सालमा संचालन भए पनि पछिल्लो पटक ७२ सालमा संचालन हुन सकेन । त्यसयता लगातार तीन वर्ष भने प्रतियोगिता सञ्चालन हुंदै आएको थियो ।

२०३३ सालमा भएको पहिलो खेलमा सिद्धार्थ खेलकुद परिषद् रुपन्देही विजयी भएको थियो भने दोस्रोमा बम्बई फर्टिलाईजर मुम्बई, तेस्रो, नवौं, दशौं र तेह्रौमा महेन्द्र पुलिस क्लब, चौथो, पांचौ र छैटौंमा कालिका स्पोर्टिङ क्लब, सातौं जनकपुर चुरोट कारखाना विजयी भएका थिए ।

त्यस्तै, आठौमा आरएनएसी, एघारौंमा महिन्द्रा एण्ड महिन्द्रा मुम्बई, बाह्रौं र सोह्रौमा त्रिभुवन आर्मी क्लब, चौधौं र अठारौंमा रुपन्देही ११, पन्ध्रौमा फ्रेन्ड्स क्लब, सत्रौमा जावलाखेल युथ क्लब र १९ औं संस्करणको उपाधि सिएमसी संकटा क्लवले जितेका थिए । २० औं तिलोत्तमा गोल्डकपको उपाधि थ्रिस्टार क्लव काठमाडौंले जितेको थियो २१ औं संस्करणको उपाधि क्यामरुनले दाउफिन्स क्लबले जितेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?