‘एक महिनाभित्र खानेपानी तथा सरसफाइ नीति’

Read Time = 6 mins

काठमाडौं । खानेपानी तथा सरसफाइ क्षेत्रमा विद्यमान सबै मुद्दा समेटेर एक महिनाभित्रै सरकारले नयाँ नीति ल्याउने भएको छ । सोमबारदेखि राजधानीमा आयोजित ‘वर्षातको पानी संकलनः खानेपानी सुरक्षण र जलवायु परिवर्तनका असरको सम्बोधन’ विषयक दुईदिवसीय राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै खानेपानी मन्त्रालयका सचिव ई. मणिराम गेलालले उक्त जानकारी गराउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘खानेपानी र सरसफाइ क्षेत्रमा विद्यमान सबै विषय समेटेर एक महिनाभित्र नयाँ नीति आउने छ, यसमा जलवायु परिवर्तन, वर्षातको पानी संकलन, भूमिगत पानीको उपयोग र सरसफाइमा हाल देखिएका सबै समस्यालाई सम्बोधन गरिनेछ । सचिव गेलालले यसै वर्ष खानेपानी तथा सरसफाइ ऐन, २०७९ आएको स्मरण गराउँदै ऐन अनुकूलको नियमावली छिट्टै आउने जानकारी दिनुभयो ।

खानेपानी क्षेत्रका हाल देखिएका र भविष्यमा आउने सबैखाले चुनौती समाधान गर्न सरकार सबैसँग सहकार्य गर्न तयार रहेको पनि उहाँले बताउनुभयो । खानेपानी मन्त्रालयको समन्वयमा स्मार्ट वास सोलुसन्स प्रालिद्वारा आयोजित राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष डा. बिन्दुनाथ लोहनीले ‘पानी सुरक्षित र पानी लचिलो हुन के गर्ने ?’ भन्ने विषयमा मन्तव्य दिनुभएको थियो भने इन्टरनेसनल रेनवाटर हार्भेष्टिङ एलायन्सका अध्यक्ष हान हेज्नानले ‘वर्षातको पानी अति मूल्यवान’ विषयमा प्रस्तुति दिनुभएको थियो ।

खानेपानीसम्बन्धी दुईदिवसीय राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै खानेपानी मन्त्रालयका सचिव ई. मणिराम गेलालले एक महिनाभित्रै खानेपानी तथा सरसफाइ नीति ल्याइने बताउनुभएको हो ।

स्मार्ट वास सोलुुसन्सका अध्यक्ष ई. रामदीप साहले जलवायु परिवर्तनले वर्षातको प्रवृत्ति परिवर्तन भइरहेकाले लामो खडेरी हुँदा पहाड र हिमाली क्षेत्रमा पानीको मुहान सुकेर बसाइँ सर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । वर्षातको पानी संकलनलाई हरेकले घर र समुदायमा उपयोग गर्न सके पानी अभावका कारण सिर्जित हुने वर्षाको पानीको समुचित व्यवस्थापन नभएर बाढी र पहिरो जाने प्रवृत्ति न्यूनीकरण गर्न सकिने उहाँको भनाइ थियो ।

पूर्वमन्त्री ई. गणेश साहले पानीको समस्याबाट मुक्त हुनासाथ व्यक्ति, परिवार, समाज र राष्ट्र विकासका अन्य कार्यमा समर्पित हुन पाउने भएकाले पानीको समस्या समाधान गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का पूर्वउपकुलपति डा. सुनिलबाबु श्रेष्ठले नेपाललाई पानीको संकटबाट मुक्त गर्न र पानीबाट आउने संकट न्यूनीकरण गर्न वर्षातको पानी संकलन अचुक उपाय भएको बताउनुभयो । सम्मेलनको प्राविधिक समितिका संयोजकसमेत रहनुभएका डा. श्रेष्ठले सम्मेलनमा प्रस्तुत हुने कार्यपत्रबारेमा जानकारी दिनुभएको थियो ।

वाटर एड नेपालका देशीय प्रतिनिधि तृप्ति राईले वर्षातको पानी संकलनलाई घरमा सोलार राखेजस्तै सरल ढंगले उपयोगमा ल्याउन सके हरेक परिवार पानीको संकटबाट मुक्त हुने बताउनुभयो । सम्मेलनको सहआयोजकमा उच्चस्तरीय बागमती सभ्यता संरक्षण तथा विकास समिति, नगर विकास कोष, इन्टरनेसनल रेन वाटर हाभेष्टिङ एलायन्स, ग्लोबल पिस फाउण्डेसन नेपाल, दियालो टेक्नोलोजी प्रालि, बायोग्याँस सपोर्ट प्रोग्राम र इन्भायरोमेन्ट एण्ड रिसोर्सेज म्यानेजमेन्ट कन्सल्टेन्सी (इआरएमसी) रहेका छन् । सम्मेलनलाई नेवाः, नेपाल वाटर फर हेल्थ, एसएनभी, हेल्भेटास, बेष्ट पानी प्रालि, सस्टेनेबल प्रस्परिटी इनिसियटिभ नेपाल, इन्टरनेसनल वाटर म्यानेजमेन्ट इन्स्टिच्युट र प्लाष्ट नेपाल फाउण्डेसनको सहयोग रहेको छ । आयोजक समिति एवं स्मार्ट वास सोलुसन्सका अध्यक्ष ई. साहका अनुसार सम्मेलनको अन्त्यमा काठमाडौं घोषणापत्र जारी गरिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?