सरकारले मुलुकलाई विदेशीको खेलमैदान बनाउन खोजेको ओलीको आरोप

‘भारतलाई मुस्ताङमा विश्वविद्यालय खोल्न दिनु अति नै खतरनाक छ’

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकलाई विदेशीहरूको खेलमैदान बनाउन खोजिरहेको आरोप लगाउनुभएको छ । स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेका कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरूको खेलमैदान बनाउन चाहेको टिप्पणी गर्नुभयो । उहाँले त्यहाँ रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको दाबीसमेत गर्नुभयो ।

अध्यक्ष ओलीले मान्छे नै नभएको ठाउँमा विश्वविद्यालय बनाउने कुरा गरेर सरकारले लाज नै पचाएको धारणा राख्नुभयो । उहाँले भारतलाई खुसी पार्न प्रधानमन्त्री दाहालले त्यहाँबाट आउने तरकारीहरूको चेकजाँच गर्नु नपर्ने आदेश दिएको भन्दै आपत्तिसमेत जनाउनुभयो । नेपालीहरू मारेर भए पनि विदेशीहरूलाई खुसी पार्ने काममा सरकार लागिपरेको अध्यक्ष ओलीको भनाइ थियो । उहाँले विषादी खुवाएर नेपालीलाई मार्ने काम सरकारले गर्न खोजेको उल्लेख गर्दै त्यसको विरोधमा उत्रन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । ‘हामीसँग संयन्त्र नहुने बेग्लै कुरा हो । भएजति त जाँच्नुप¥यो नि । तर, जाँच्न नपाइने । किनभने छिमेकी खुसी पार्ने । अरू खुसी पार्ने । बाह्य शक्तिलाई खुसी पार्ने, आफ्ना जनतालाई विषाक्त चिजहरू खुवाएर मार्ने,’ ओलीले भन्नुभयोे, ‘त्यसखालको नीति लिएको छ सरकारले । त्यसको हामीले विरोध गर्नु परेन ? राष्ट्रिय हितको विषयमा हामीले लड्नुपर्छ ।’

‘राम्रो गर्न खोज्दा एमालेमाथि सबैतिरबाट प्रहार भयो’
एमाले अध्यक्ष एवम् पूर्व–प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्ना पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले राम्रो गर्न खोज्ने एमालेमाथि सबैतिरबाट प्रहार केन्द्रित हुनु मुलुकका लागि दुर्भाग्य भएको जिकिरसमेत गर्नुभयो । ‘दुर्भाग्यको कुुरा देशका लागि के हो भने एमाले जस्तो पार्टीले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार केन्द्रित हुन्छ । यथार्थता त यही हो नि,’ ओलीले भन्नुभयो, ‘किनभने सामाजिक परिवर्तन र रूपान्तरणका विरोधी शक्तिहरू, आफ्ना छुद्र स्वार्थमा अल्झिएका शक्तिहरू सत्ता कब्जा गर्न सफल छन् अहिले पनि । जनता अलमल्याउन, चटके कुरा गर्न सफल छन् अहिले पनि । जनतालाई भ्रममा पार्न सफल छन् अहिले पनि ।’

ओलीले जनतालाई अलमल्याउने, दिग्भ्रमित पार्ने र पथभ्रष्ट बनाउने तत्वहरूबाट जनतालाई मुक्त गराउन बुद्धिजीवीहरूले विगुल फुक्नुपर्ने जरुरी रहेको बताउनुभयो । अध्यक्ष ओलीले माधव नेपाललाई राष्ट्रपति प्रस्ताव गर्दा पनि नमानेको टिप्पणी गर्नुभयो । ओलीले आफूले राष्ट्रपतिका लागि प्रस्ताव गर्दा नेपालले कांग्रेससँग सल्लाह गर्ने भनेको बताउनुभयो । ‘राष्ट्रपति खाऊ भन्दा कांग्रेसलाई सोधेर आउँछु खा भन्छ कि भनेर भने, कांग्रेसले नखा रामचन्द्र पौडेललाई चाहिन्छ भन्यो,’ ओलीले भन्नुभयो । उहाँले ड्राइभर बनाउन खोज्दा पनि झुण्डिएर यात्रा गर्न राजी भएको भन्दै नेपालप्रति आक्रोश गर्नुभयो । ‘ड्राइभरकोमा बसेर हाँक्न चित्त नबुझ्ने, त्यहाँ पछाडिको सिटमा हात उठाएर रोक न रोक न मलाई पनि चढाउन, होइन भने खाँबो समाएर पनि उभिन्छु भनेर त्यसरी जानुपर्ने,’ ओलीको भनाइ छ ।

राष्ट्रिय राजनीतिमा हामीलाई कसैले नजरअन्दाज गर्न सक्दैन : नेपाल
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो भूमिका राष्ट्रिय राजनीतिमा बढेको भन्दै केही होइन भन्नेहरू पनि राष्ट्रपतिको प्रस्ताव लिएर आएको टिप्पणी गर्नुभएको छ । नेकपा एसनिकट दलित संगठनको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीभित्र त्यस्तो प्रस्तावलाई लिएर दुईथरी विचार आइरहेको बताउनुभयो । उहाँले भ्रममा नपर्नसमेत आग्रह गर्नुभयो । नेपालले भन्नुभयो, ‘हामीलाई केही होइनन् भन्नेहरू आज प्रस्तावहरू ल्याइरहेका छन् । यस्ता प्रस्तावबाट माथिंगलहरू चक्कराइरहेको हुन सक्छ । कतिले राम्रो प्रस्ताव आएको थियो, मानिदिएको भए हुन्थ्यो भनेका छन् । कतिपयले त्यस्ता प्रस्तावमा भ्रमित भएर चुर्लुम्म डुब्ने पो हो कि भन्ने चिन्ता जगाएको देखिन्छ । यसमा कोही भ्रमित हुनुपर्दैन ।’ नेपालले आफ्नो पार्टीको भूमिका राष्ट्रिय राजनीतिमा कसैले पनि नजर अन्दाज गर्न नसक्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?