राजपुरा र मुकेशलाई रोड रेसको उपाधि

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल पुलिस क्लबकी राजपुरा पछाई महिला र त्रिभुवन आर्मी क्लबका मुकेश पालले पुरुषतर्फ वीर गणेशमान सिंह १० के रोड रेसको उपाधि जित्नुभएको छ । शनिबार भएको दौडमा राष्ट्रिय कीर्तिमानसहित राजपुराले उपाधि जित्नुभयो । उहाँले ३६ मिनेट ४३.२ सेकेण्डको कीर्तिमानसहित पहिलो स्थान हासिल गर्नुभएको हो । राजपुराले आफ्नै कीर्तिमान भंग गर्नुभएको हो । यसअघि उहाँले ३७ मिनेट १०.५ सेकेण्डमा उक्त दूरी पार गर्दै कीर्तिमान राख्नुभएको थियो ।

पुलिसकै राममाया बुढा दोस्रो र एपिएफकी पुष्पा भण्डारी तेस्रो हुनुभयो । राममायाले ३७ मिनेट ५४.१५ सेकेण्ड र पुष्पाले ३८ मिनेट २६.०३ सेकेण्डमा दौड पूरा गर्नुभयो र आर्मीकी पूर्णलक्ष्मी न्यौपाने (३९ मिनेट ०२.३५ सेकेण्ड) चौथो र एपिएफकी विन्द्रा धन्के श्रेष्ठ (३९ मिनेट २५.०६ सेकेण्ड) पाँचौँ हुनुभयो ।

मुकेशले ३१ मिनेट २१.७६ सेकेण्डमा दौड पूरा गर्दै उपाधि जित्नुभएको हो । अघिल्ला तीन संस्करणका विजेता एपिएफका गोपीचन्द्र पार्की दोस्रो स्थानमा खुम्चिनुभयो । गोपीले उक्त दूरी पार गर्न ३१ मिनेट ३८.६८ सेकेण्ड लगाउनुभयो । दीपक अधिकारी ३१ मिनेट ४७.४२ सेकेण्डको समयसहित तेस्रो हुनुभयो ।

दरबारमार्गबाट सुरु भई शहरका विभिन्न भाग हुँदै पुनः दरबारमार्ग पुगेर दौड सम्पन्न भएको थियो । आर्मीका सञ्जय श्रेष्ठ (३२ मिनेट १०.०२ सेकेण्ड) चौथो र केन्याका सिमोन किपागट टु (३२ मिनेट ३३.९९ सेकेण्ड) पाँचौँ हुनुभयो ।

गणेशमान सिंह फाउण्डेसनअन्तर्गतको गणेशमान सिंह खेलकुद समितिले आयोजना गरेको रोड रेसका दुवैतर्फका विजेताले ६० हजार, दोस्रोे ३० र तेस्रो हुने खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नुभयो । चौथोे हुनेले १० र पाँचौँ हुने खेलाडीले पाँच हजार रुपैयाँ पाए । राष्ट्रिय कीर्तिमान बनाउनुभएकी राजपुराले थप १० हजार रुपैयाँ प्राप्त गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?