रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव काँग्रेस, माओवादीको छ : सांसद परियार

Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र) ले आफ्नो दललाई सरकारमा लान चाहेको बताउनुभएको छ ।

बुधवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले सत्तारुढ दलहरु नेपाली काँग्रेस र माओवादी केन्द्रको रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव रहेको बताउनुभएको हो ।

उहाँले सरकारमा जाने सम्बन्धमा संवाद जारी रहेपनि हालसम्म टुंगो नलागेको बताउनु भयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको पनि आफूहरुप्रति सद्भाव रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘विश्वासको मत हामीले दिइसके पछाडी सामान्य अर्थमा सरकारमा रास्वपा जान्छ भन्ने नै हो । तत्कालै उपनिर्वाचन पनि आएको र विशेषगरी यो गठबन्धनमा आफैँपनि कुराहरु नमिलिसकेको अवस्था । हामी त गठबन्धनमा छैनौँ विश्वासको मत दिएपनि । हामी उपनिर्वाचनमा केन्द्रीकृत भइरहनुपर्ने भएको कारणले हामीले टुंग्याएको छैन । विशेषगरी नेपाली काँग्रेस, माओवादी लगायत प्रधानमन्त्री स्वयंले पनि रास्वपा सँगै सरकारमा हुनुपर्छ भन्ने उहाँहरुको सद्भाव त छ । तर अहिलेको हाम्रो आवश्यकता उपनिर्वाचन हाम्रो लागि महत्वपूर्ण छ । संवाद जारी छ । तर टुंगिएको छैन । मलाई लाग्छ आज भोलीमा टुंगिन्छ ।’

उहाँले आफ्नो पार्टी वैशाख १० गते हुने उपनिर्वाचनका लागि केन्द्रित भइरहेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?