गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसला चित्त नबुझाएर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । ‘आयोगबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरूमा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगको निर्णयअनुसार मिति २०७९/१२/१७ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको’ अख्तियारका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आयोगले विनोदकुमार सिंह, गीतादेवी सिंह, अनुपकुमार सिंह र अचलकुमार सिंहलाई प्रतिवादी बनाएर विशेष अदालतमा दिएको मुद्दामा विशेषको फैसला चित्त नबुझेको भन्दै अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो ।

अवकाशप्राप्त वन अधिकृत विनोदकुमार सिंहविरुद्धको अकुत सम्पत्ति मुद्दामा विशेष अदालतले सफाइ दिएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको हो । सरकारी सेवामा रहँदा गैरकानुनीरूपमा एक करोड ९१ लाख रुपैयाँ सम्पत्ति आर्जन गरेको भन्दै दायर मुद्दामा विशेष अदालतले १५ कात्तिकमा सिंहसँगै श्रीमती गीतादेवी सिंह, छोराहरू अनुपकुमार सिंह र अचलकुमार सिंहलाई सफाइ दिएको थियो ।

सिंह र उहाँको परिवारका सदस्यको चल-अचल सम्पत्ति, सेयर लगानी, बीमा, बैंक मौज्दात हिसाब गर्दा तीन करोड ५१ लाख ८२ हजार रहेको अख्तियारको दाबी थियो । त्यसमध्ये सिंहको वैध आय एक करोड ६० लाख २१ हजार १८ रुपैयाँ रहे पनि बाँकी एक करोड ९१ लाख ६१ हजारबराबर सम्पत्तिको स्रोत नखुलेको अख्तियारको दाबी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?