केही थोरै मानिसको सुनियोजित आतंकले आम नागरिकलाई कति ठूलो मूल्य चुक्ता गर्न विवश बनाउँछ भन्ने पछिल्लो दृष्टान्त हो- हमासको आक्रमणले छियाछिया परेको र पूर्ण ध्वस्त भएको गाजापट्टीको पूर्ण र पानी, अन्न र वासका लागि त्यहाँका निर्दोष जनताको क्रन्दन, चित्कार र वर्वादी ।
करिब दुई हजार हमास समूहका सदस्यको एक जत्थाले आस्थाका नाममा गरेको आतंककारी आक्रमणको मूल्य गाजा क्षेत्रका करिब पाँच हजार निर्दोष नागरिकले चुक्ता गर्नु पर्ला भनेर सायद नै कसैले कल्पना गरेको थियो होला । इजरायली भूमिमा सांस्कृतिक कार्यक्रममा मस्त रमाइरहेका सशस्त्रविहीन युवायुवतीहरूमाथि अकस्मात् हमास पक्षले गुरिल्ला शैलीमा आततायी आक्रमण गर्दा करिब २६० जनाको ज्यान तत्काल गएको प्रमाणित समाचारपछि यतिखेर त्यो क्षेत्रमा डरलाग्दो रक्तपात भइरहेको छ ।
हमास सदस्यहरूले सार्वजनिक स्थलमा मात्रै नभएर घरघरमा पसेर वृद्धवृद्धा, शिशु, युवा युवती र महिलाको क्रूर हत्या गरेको हृदयविदारक दृश्यले प्रत्येक मानिसको मन हाहाकार गरेको थियो । दश दिन भयो यो घटना भएको । उनीहरूले क्रूर हत्या गर्दै शहरलाई समेत ध्वस्त गर्ने प्रयास गरी करिब पाँच हजार मिसाइलसमेत प्रहार गरेका थिए ।
यस क्षतिबाट आत्मरक्षाका लागि उत्रिएको इजरायल यतिखेर अत्यन्त घातकशैलीमा प्रस्तुत भएको छ । जसको परिणाम गाजा क्षेत्र पूर्णरूपमा मानवरहित खण्डहरमा परिणत भएको छ । करिब एक्काईस लाख नागरिकको बसोवास क्षेत्र गाजा तीनतिरबाट इजरायलको सीमा, अर्को एकापट्टी समुद्री सीमामा अवस्थित छ । इजरायलले हवाई आक्रमण गरेपछि खण्डहर भएको बस्तीबाट लाखौं मानिस विस्थापित भएका छन् । अब उसले जमिनी लडाइँको तयारी गरेको हुनाले मानवरक्तको महासमुद्र निर्माण हुने खतरा देखिँदै छ ।
इतिहासको एक सय वर्षलाई हेर्ने हो भने पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्धदेखि कोरिया र भियतनाम युद्ध, भारत–पाकिस्तान, भारत, चीन युद्ध, कम्बोडियाको पोलपोट आतंक, रुमानियाको हिंसा, चीनको सांस्कृतिक क्रान्ति, रुसको स्टालिन आतंक, बंगलादेशको मुक्ति आन्दोलन, श्रीलंकाको तमिल हिंसा, क्युवाको पीडा, इरान इराक युद्ध, अफगानिस्तानको क्रूर हिंसा, सिरियाको युद्ध, सुडानको जातीय संहार, भुटानको जातीय उन्मूलनको कथा, सेनेगलको आतंक, चेचेन विद्रोह, सानो देश युक्रेनमाथि रुसको आक्रमण अनेक हिंसाहरूको शृंखला पढ्न पाइन्छ । आन्तरिक आतंक झेल्ने अनेक देश र नागरिक छन् । नेपाली जनताले पनि दश वर्षसम्म आततायी हिंसाको मार खेप्नुपरेको थियो । राजनीतिक हिंसाले कुनै न कुनै समाधानको बाटो तय गरेको हुन्छ । तर धार्मिक र जातीय हिंसाको लहरो कहाँसम्म पुग्ने हो त्यति भेउ पाउन सम्भव हुँदैन ।
इजरायलअन्तर्गत रहे पनि ‘माउण्टेन टेम्पल’ इसाई र इस्लामहरूको समेत आस्था भूमि हो । विवाद अहिलेको होइन । इजरायली यहुदीहरूलाई यो वा त्यो रूपमा हजारौं वर्ष भूमिविहीन बनाइएको कथा धेरैलाई थाहा छ । त्यसमा पनि दोस्रो विश्वयुद्धमा यहुदीको विनाशको संकल्प गरेको हिटलरले करिब २० लाख यहुदीहरूलाई मारेको अनुमान इतिहासकारहरूले गरिरहेका छन् । यहुदीहरू देश खोज्दै कोही अमेरिका, कोही रुस, कोही फ्रान्स, बेलायत अनेक देशमा भौतारिरहको अवस्थामा दोस्रो विश्व युद्धले उनीहरूलाई एकीकृत र संगठित हुन प्रेरित गरेपछि इजरायलको भूमिमा उनीहरूको राज्य स्थापना भयो ।
तीस लाख जति यहुदीहरूले इजरायलको वन्जर, अनुत्पादक र बालुमय मरुभूमिलाई ऊर्वर बनाए र उनीहरू निरन्तर यहुदीविरोधीसँग सामना गर्दै भौतिक, वैज्ञानिक र अदिवतीय आर्थिक र भौतिक समृद्धितर्फ उकालो चढ्दै गए । यतिखेर करिब अढाई सय यहुदीहरू अर्बपतिको सूचीमा आबद्ध छन्, हालसम्म नोवल पुरस्कार जित्नेमध्ये २२ प्रतिशत यहुदीहरू छन् र विश्वको चौथो हवाई सैन्यशक्तिमा इजरायलले आफूलाई स्थापित गरेको छ । यस्तो सफलता कमजोर निष्ठा, बुद्धि र क्षमताबाट असम्भव हुने कुरा हो ।
प्यालेस्टाइन नेता यासेर अराफतले तीन दशकको रक्तपातपूर्ण संघर्षपछि वेष्ट बैंकमा प्यालेस्टाइनहरूको पृथक राज्य स्थापना भयो । गाजपट्टी त्यही समयको सहमतिको परिणाम हो । तर लेवनान, प्यालेस्टाइन र गाजापट्टीमा अड्डा जमाएर बसेको हमास, हिज्वुललाह जस्ता संगठनहरूले निरन्तर इजरायललाई निशाना बनाइरहेका छन् । इजिप्ट, सउदी अरब, जोर्डन जस्ता इस्लामिक राज्यदेखि पूर्वतिरका शक्तिशाली इस्लामिक राज्यहरू इराक, इरान र समृद्ध राष्ट्र कुवेतसमेतको घेराबन्दीमा परेको छ इजरायल र इजरायली जनता । यस्तो घेराबन्दीबाट निर्मित आतंकको वाछिटामा होनहार नेपाली युवालेसमेत ज्यान गुमाउनुपरेको छ । २० वर्ष पहिले इराकमा यसरी नै एक दर्जन नेपाली नागरिक मारिएका थिए । अहिले इजरायलको घटनाले नेपालीहरूलाई त्यही दुस्वप्नको झल्को दिएको अवस्था छ ।
हामी बसेको युग मानवको महŒवाकांक्षाले सर्वांश रक्तरञ्जित हुनपुगेको छ । एक सय वर्ष भनेको कुनै युग होइन । तर भयानक हिंसाले सम्पूर्ण मानवतालाई आफ्नो अंकमा समेटेको छ । इजरायलमाथि भएको आतंकको डढेलोको मार निर्दोष प्यालेस्टाइनीहरूले समेत भोग्नु परेको छ । इजरायली जनता र प्यालेस्टाइन जनताका नाममा संसार विभक्त छ । दुवैतर्फ हातहतियारको प्रचुर खेप पुगेको छ । इजरायलले हमासविहीन भूमि बनाउने संकल्प गरेपछि अमेरिकासहित युरोपियन युनियन आबद्ध राष्ट्रहरू, जापान र भारतसमेतको समर्थन पाएको छ । अमेरिकाले त जंगी जहाजसहित आवश्यक युद्ध सामग्रीहरूको सहयोग खुलेर गर्दै छ । रुस र चीन सम्वाद र शान्तिको कुरा गरे पनि अमेरिकाको समर्थन प्राप्त इजरायललाई सहयोग गर्ने उनीहरूको नीति छैन ।
केही मानिसको विवेक गुमेपछि मानवता कसरी मर्दै जान्छ भन्ने यथार्थतालाई गाजा क्षेत्रका बासिन्दाको करुण पुकार र दर्दनाक अवस्था साक्षी हुन पुगेको छ । त्यही अवस्था युद्ध प्रभावित इजरायली जनताको पनि छ । तर चारैतिरको नाकाबन्दीमा परेको शहर गाजापट्टीका जनता र उनीहरूको अबोध शिशुहरूको चित्कार सही सक्नु छैन । मूल जिम्मेदार हमासको आतंक नै हो । आतंकवादीलाई भूमिहीन वनाउन इजरायली संकल्प र कारबाहीसमेत यस अवस्थाको जिम्मेदार हुँदैछ । मानवताविरोधी युद्धको अन्त्य हुनसकेन भने पश्चिम एसियामा सल्केको युद्धको डढेलाले सिंगो पृथ्वीलाई आफ्नो कर्म क्षेत्रमा परिणत गर्ने खतरा देखिन्छ । हिंसा समाधान होइन । शान्तिको विकल्प हुँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच