✍️ केशव चौलागाई
देश, काल, परिवेश, जाति, वर्ग, धर्म समुदाय भूगोलमा एकले अर्कोलाई अभिवादन गर्ने शैली अलग्ग रहेका हुन्छन् । उनीहरूको त्यस व्यवहारले संस्कार, संस्कृति, जीवनदर्शन अभिव्यक्त भइरहेको हुन्छ । हाम्रो वैदिक सनातन धर्म (पूर्वीय दर्शन) ले अज्ञानी मानव समाजलाई अँध्यारोबाट उज्यालोतिर, असत्यबाट सत्यतिर, विनाश (मृत्यु)बाट अमरतातिर डोर्याएको छ । यस्तो अमृततुल्य ज्ञानरस भएको सनातनलाई हामी सबैले उपयोग गर्नुपर्छ । हामो दर्शनले ज्ञानविज्ञानको आधार माता, पिता र गुरुलाई मानेको छ । आमाको मुख हेर्ने दिन, बुबाको मुख हेर्ने दिन, गुरु पूर्णिमा यसैका पर्याय हुन् ।
मातृदेवको भवः, पितृदेवो भवः, गुरुदेवो भवः भनेर पूर्वकालमा गुरुकुल पढ्दा सिकाइन्थ्यो, कण्ठस्थ गराइन्थ्यो । गर्भमा राख्ने, दशधारा दूध खुवाउने आमा, सत्मार्गमा लगाउने बुबा, ज्ञानविज्ञानको बीजारोपण गरी फल्न फुल्न सिकाउने गुरुलाई स्मरण नगरे, नपूजे, कृतकृत्य नबने, नढोगे, कसलाई ढोग्ने ? आमा, बुबा र गुरु जीवित देवीदेवता हुन्, मार्गदर्शन गर्ने अभिभावक हुन् । यी जीवित आत्मालाई ढोग्नु जीवनको सबैभन्दा ठूलो धर्म हो । ढोग्न वा नमस्कार गर्न कन्जुस्याइँ गर्नुहुँदैन । नमस्कार गर्नाले व्यावहारिक फाइदाका साथै आध्यात्मिक लाभसमेत मिल्दछ ।
आमाबुबालाई ढोग्नु, आमाबुबाको सेवा गर्नु, परमात्मालाई ढोग्नु बराबर हो । नमस्कार, नमस्ते, नमन, सेवारो, तारेमाम, झोर्ले, राधेराधे, दर्शन, ज्यू, नारायण, कृष्णकृष्ण, जयशिवशंकर, हरिहरि, जय श्रीपशुपतिनाथ इत्यादि विभिन्न भाषा समुदायमा विभिन्न तरिकाले अभिवादन गर्ने गरिन्छ ।
सामान्य अर्थमा दुई हात छात्तीको बीचमा आकाशतिर फर्काएर जोड्नुलाई नमस्कार भनिन्छ । दुई हात जोड्दा ॐ कार बन्दछ । हात जोडेर नमस्कार गर्नु परमात्माको स्मरण गर्नु हो । हात जोडेर नमस्कार गर्दा औँला थिचिन्छन् र तिनलाई जोडी राख्दा हृदयचक्र र ज्ञानचक्र सक्रिय हुन्छन् । नमस्कार नमस्-कृ-घ भएर बन्दछ । नमः को अर्थ मनमन गर्छु या म झुक्छु या मेरो अहंकार झुक्यो भन्ने हुन्छ (बृहद् संस्कृत–नेपाली शब्दकोश, पं.फणीन्द्र पाण्डेय, पृ.७१३) ममा भएको उज्यालो तिमीमा भएको उज्यालोसँग मिल्छ, तिमी र ममा भेद छैन भन्ने गहिरो कामना नै नमस्कार हो भन्नुहुन्छ-तन्त्रविद् विद्यानाथ उपाध्याय भट्ट ।
हाम्रा पाँच औँलालाई पञ्चतत्व पृथ्वी, जल, तेज, वायु र आकाशका रूपमा अथ्र्याइएको छ । स्कन्द पुराणले एक आत्माले अर्को आत्माप्रति सम्मान आभार प्रकट गर्नुलाई नमस्कार बताएको छ । नमस्कार गर्दा मनमा शान्ति एवं सकारात्मक ऊर्जा प्राप्त हुन्छ । हात जोडेर नमस्कार गर्दा आफूलाई कयौं फाइदा पु¥याइरहेको हुन्छ । संंस्कृतको नोमः धातुबाट नमस्कार शब्द आएको हो । नमोः को अर्थ स्वागत् गर्नु भन्ने हुन्छ । वेदले मन्त्र उच्चारण गर्दा नमस्ते भन्छ । यसको अर्थ पनि नमस्कार नै हो । गीतामा पनि अर्जुनले कृष्णसँग पुनश्चः भूर्योपिनमः नमस्ते भनेका छन् ।
रुद्रीका मन्त्रहरूमा नमःशंकराय, नमःशम्भवाय भनिएको छ । दुवै हात जोडेर आँखा बन्द गरेर बस्दा संसारको दैवीशक्ति देख्न सकिन्छ । नमस्कारले मानवमा भएको क्रोध र अहंकारलाई शिथिल बनाइदिन्छ । योग विज्ञान एवं आर्युवेदमा पनि हत्केलामा रहेका नसाहरू दिमागकेन्द्रित हुन्छन् भन्ने कुरा उल्लेख भएको पाइन्छ । यस्तो परम्पवित्र शब्दका रूपमा नमस्कारलाई लिइन्छ । देवीदेवताको मन्दिरमा खुट्टैमा ढोग्ने गरिन्छ । शिरमा ढोग्ने चलनप्रायः पाइँदैन । राम, कृष्ण, परमहंशले स्वामी विवेकानन्दलाई खुट्टाको बुढी औँलाबाट शक्तिदिएको कुरा पढ्न पाइन्छ । देवीदेवताको साथै ऋषिमुनिले आफ्ना साधकलाई हातबाट अलौकित शक्ति दिएको कुरा शास्त्रहरूमा पाइन्छ ।
कलाकारले बनाएका मन्दिर, मूर्ति, तस्वीरमा श्रद्धपूर्वक खुट्टामै ढोग्ने चलन छ । हामीलाई जन्म दिने आमा, बुबालाई पनि परमात्माले नै बनाएका हुन् । त्यस कारण आमाबुबालाई ढोग्नु, आमाबुबाको सेवा गर्नु, परमात्मालाई ढोग्नु बराबर हो । नमस्कार, नमस्ते, नमन, सेवारो, तारेमाम, झोर्ले, राधेराधे, दर्शन, ज्यू, नारायण, कृष्णकृष्ण, जयशिवशंकर, हरिहरि, जय श्रीपशुपतिनाथ इत्यादि विभिन्न भाषा समुदायमा विभिन्न तरिकाले अभिवादन गर्ने गरिन्छ । नमस्कार शब्द शुभ संस्कार, संस्कृति र सभ्यताको मानक हो ।
यसले रिस, राग र आवेग, भोगाइ, सहानुभूति र परानुभूतिको कोमल भावनासहित माया, ममता र विश्वास जगाउँछ । मानवलाई मायालु, शान्त, शालीन, स्वास्थ एवं संस्कारी बनाउन मद्धत गर्दछ । हाम्रो समाजमा बालबालिकालाई हुर्कन नपाउँदै सानैदेखि ज्यू गर, नमस्ते गर भनेर सिकाइन्छ । समाजमा टीका लगाएर आशीर्वाद ग्रहण गरेपछि, गल्ती गरेर माफ माग्दा, कसैले कसैलाई अन्जानमा कुल्चिएपछि पनि नमस्कार गर्ने चलन छ । आध्यात्यमिक मान्यताअनुसार दायाँ हात आचार अर्थात् बायाँ हात विचार अर्थात् दर्शनको रूपमा लिइन्छ ।
मानव शरीरको एक भागमा सकारात्म र अर्को भागमा नकरात्मक ऊर्जा हुन्छ । दुवै हात जोड्दा सकारात्मक ऊर्जा प्राप्छ हुन्छ । देवता, गुरु, ब्राहृमण, साथी, मान्यजनलाई नमस्कार शरीर, मन र वचन तीन प्रकारले गर्ने चलन छ । नमस्कार अभिवादनमात्र नभएर बसुधैव कुटुम्बकमको परिपूरक रूप हो । बसुधा (पृथ्वी) मा बसोवास गर्ने सबै मेरा मित्र हुन् भन्ने भाव जगाउँछ । एक चित्त भएर नमस्कार गर्नाले सूक्ष्म स्पन्दन प्रवाह हुने गर्दछ । सात्विक स्पन्दनले सकारात्मक ऊर्जा पैदा गर्दछ ।
योगमा ज्ञानमुद्रा, वायुमुद्रा, प्राणमुद्रा, सूर्यमुद्रा, अपानमुद्रा आदि विभिन्न मुद्राले शरीरमा ऊर्जा जगाउने बताइएको पाइन्छ । नमस्तेलाई अञ्जलिमुद्रा पनि भनिन्छ । मुद्राले चक्रलाई ब्युँझाउँछ । मुद्राले त्रिदोष अर्थात् कफदोष, वातदोष र पित्तदोषलाई शमन गर्दछ । हात जोडेर छात्ती अगाडि राखेर झुकेर नमस्कार गर्दा हृदयचक्रलाई सशक्त बनाउँछ । एकाग्रता बढाउँछ । शास्त्रमा उत्तम वा असल मानिसहरू एक छिन मात्र रिसाउँछन् । मध्यम खालका मानिसहरू केही बेर (१०-१५) मिनेट जतिमात्र रिसाउँछन् । अधम मानिस चौबीसै घण्टासम्म रिसाउँछन्, झोक्किन्छन् । नीच व्यक्तिहरू बाँचुन्जेल रिसाउँछन् । धेरै बेर रिसाउनु हुँदैन । रिसले आफैंलाई हानी गर्छ । हात जोडेर हामी रिसाउन, कराउन, भाग्न सक्दैनौँ । तसर्थ नमस्कारले आत्मालाई नियन्त्रण गर्दछ, रिसलाई हटाउँन मद्दत गर्छ ।
हामी हिमालयको देशका नागरिक हौं । हामीसँग हिमसंस्कृति छ, शिवसंस्कृति छ, हामीसँगै ठूला बनौं, सँगै साधु बनौं, सँगै सरल बनौं, सँगै विशिष्ट बनौँ र सँगैसँगै अस्तित्वशाली बनौं भन्ने जीवनदर्शन बोकेको नमस्कार साँच्चै नै सगरमाथा जतिकै सर्वोच्च संस्कार छ । हामी सबैले सम्झने, कहिल्यै कसैले नबिर्सने मानिस भएर बाँच्ने प्रयास गरौं । सधैं नमस्कार गरेर अरूको आदरभाव प्रकट गर्ने मानिसलाई कसैले पनि बिर्सँदैन ।
आफ्ना पूज्य व्यक्तिलाई आदर गर्नु, ढोग्नु भनेको आफ्ना सन्ततिलाई असल बाटो देखाउनु पनि हो । बुबाले हजुरबुबालाई ढोग्नु् भनेको नातिलाई शिक्षा दिनु पनि हो । यस्ता असल संस्कार एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरित हुँदै जानुपर्दछ ।
बिहान सबेरै उठ्ने मानिस स्वस्छ हुन्छ । हाम्रो शास्त्रले बिहान एक घडी रात छँदै उठ्नु शुभ मान्दछ । यो समयलाई ब्रहृममुहुर्त भनिन्छ । प्रकृतिमा रहेका चराचुरुङ्गीहरू पनि बिहान सबेरैदेखि आवाज निकाल्न थाल्दछन् । उठ्नेबितिक्कै नित्यकर्म सकेर आमाबुबालाई ढोग्नु, गुरुको चरणमा स्पर्श गर्नु, भौतिक रूपमा उहाँहरू हुनुहुन्न भने मनसा (मनमनै) भए पनि दर्शन गर्नुपर्दछ । आमाको बात्सल्य संसार देखाउने उर्वर भूमि हो । यही बात्सल्यमा फक्रिएका फूलहरू शौरभ बन्दछन् र अन्तत्व झर्दछन् ।
यस्ता परमात्माहरूलाई नमस्कार गर्दा हामीलाई कयौं गुना फाइदा हुन्छ । नमस्कार गर्दा अनुहारमा हाँसो, हृदयमा श्रद्धा, शब्दमा मधुरता हुनै पर्दछ । पछिल्लो समय विकृति बढ्दै जाँदा आफन्त, मान्यजन, गुरुलाई नमस्कार नगर्ने, शिर नझुकाउने जस्ता गलत संस्कारको विकास हृवात्तै बढेको पाइन्छ । आफ्ना सामाजिक संस्कार मासिँदा समाजमा अनेकौँ समस्याहरू देखापरेका छन्् । आफ्ना पूज्य व्यक्तिलाई आदर गर्नु, ढोग्नु भनेको आफ्ना सन्ततिलाई असल बाटो देखाउनु पनि हो । बुबाले हजुरबुबालाई ढोग्नु् भनेको नातिलाई शिक्षा दिनु पनि हो । यस्ता असल संस्कार एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरित हुँदै जानुपर्दछ ।
पछिल्लो समय विश्व कोरोना महामारीको चपेटामा परेको अवस्थामा पश्चिमी संस्कृतिको हात मिलाउने (गुड गर्ने), अंकमाल गर्ने परम्परा एकाएक परिवर्तन भएर नमस्कार गर्ने संस्कारले संसारभर लोकप्रियता पाएको छ । विश्वमहाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति र भारतका प्रधानमन्त्री अनि बेलायतका प्रधानमन्त्रीहरूबीचमा भएका नमस्कारले सर्वत्र नमस्कारको महत्व बढाएको छ । वास्तवमै नमस्कार गर्नु सभ्य, सुसंस्कृत मानवको परिचय हो । यस्ता असल संस्कारले हरेक समाजलाई मर्यादामा बस्न सिकाउँछ । नीतिमा भनिएको छ—
काकचेष्टा बको ध्यानं, श्वाननिद्रा तथैव च ।
अल्पहारी गृह त्यागी, विद्यार्थी पञ्च लक्षणम् ।-चाणक्य
अर्थात् कागजस्तो चतुर, बकुल्लोजस्तो धैर्यवान्, कुकुरको जस्तो पातले निद्रा, खानामा संयमी एवं घरको सम्झनाले नतड्पिने हुनुपर्दछ । विद्यार्थीमा हुनुपर्ने पाँच लक्षणको रूपमा यस्तो सन्देश नीतिशास्त्रमा उल्लेख भएको पाइन्छ । यस्ता असल संस्कारले समाजमा मर्यादामा रहन सिकाउँछ । अनुशासन भनेको नै मर्यादा हो । जता जे गरे पनि हुने भयो भने मानवले मर्यादाको ख्याल गर्दैन । मर्यादाको ख्याल गरेकै कारण राम मर्यादापुरुष भए । व्यक्ति, समाज, राष्ट्र सबैका आ-आफ्नै नीति, नियम रहेका हुन्छन् ।
सबैले मर्यादाको पालना गरेमा हरेक मानिसको जीवन सभ्य, सुसंस्कृत बन्न पुग्दछ । विशेष गरेर विद्यार्थी जीवन जीवनको जग भएकोले यस बेलाको असल संगतले मानिसलाई महान् बन्न ठूलो सहयोग पुग्दछ । तसर्थ बाल्यकालदेखि नै असल संस्कारमा हुर्किएको मानिसपछि गएर समाजमा प्रतिष्ठित बन्दछ । संस्कार नै संस्कृतिको जननी भएकाले कलिला बालबालिकामा असल संस्कारको बीजारोपण गर्नुपर्दछ ।
(लेखक चौलागाई रिलायन्स पब्लिक स्कुल, कपनका नेपाली विभागीय प्रमुख हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच