गुल्मीदरबार गाउँपालिका नेपालको संविधानको धारा २९५ बमोजिम कायम भएका स्थानीय तहमध्येको एक गाउँपालिका हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र भौगोलिक महत्व बोकेको गुल्मीदरबार लुम्बिनी प्रदेशअन्तर्गत गुल्मी जिल्लामा अवस्थित साबिकका गाउँ विकास समितिहरू बलिथुम, जुभुङ, गैँडाकोट, विरवास, अमरअर्वाथोक र दरबार देवीस्थानको संयोजनबाट बनेको छ । साबिकको दरबारदेविस्थान गाविस-२ वडा भई हाल यस गाउँपालिकामा सातवटा वडा कार्यालयहरू रहेका छन् । ७९.९९ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिकाको जनसंख्या २२ हजार ३७ रहेको छ । २०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट सरोजकुमार थापा अध्यक्षमा निर्वाचित भएको डेढ वर्षभन्दा बढी भइसकेको छ । यस अवधिमा गाउँपालिकाले गरिरहेको विकास, अभ्यास, चुनौती र सम्भावनाका विषयमा सरोजकुमार थापासँग हिटा गुल्मी सहकर्मी रमेश विश्वकर्माले गर्नुभएको कुराकानीको संक्षिप्त अंश:-
गाउँपालिका अध्यक्ष भइसकेपछि कस्तो अनुभव रहृयो ?
अहिलेसम्म निकै सकारात्मक रहृयो भन्ने मैले महसुस गरेको छु । अहिलेको स्थानीय तहका जनप्रतिनिधिहरू राज्यको पुनर्संरचनापछि भएका तीन तहको सरकार सञ्चालन गर्ने क्रममा हामी दोस्रो जनप्रतिनिधि हौँ । हामी निर्वाचित भएर आइसकेपश्चात् पालिकामा भौतिक संरचना, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि र पशुपालन क्षेत्रमा पालिकाले उदाहरणीय काम गरिसकेको छ । हामीले आर्थिक, सामाजिक विकास, भौतिक पूर्वाधार, वातावरण संरक्षण आदि सबै क्षेत्रको विकास गरी नागरिकलाई कसरी सुखी बनाउने भन्ने कुरामा जोड दिँदै आएका छौँ ।
चुनावताका जनतासँग गरेका प्रतिबद्धता पूरा गरेको छु जस्तो लाग्छ ?
विकास छोटो अवधिमै हुने कुरा होइन । यसको सुरुवात गरिएको छ भने यसले परिणाम देखाउन पक्कै केही समय लाग्नेछ । भौतिक विकासका कार्यहरू सुचारु छन् भने सामाजिक र आर्थिक विकासका क्षेत्रहरूमा काम भइरहेको छ । साथै सार्वजनिक प्रशासनसमेत चुस्तदुरुस्त बनाउने प्रयास गरेको छु । चुनावताका जनतासँग गरेका प्रतिबद्धताहरू धेरै पूरा गरेको छु भने केहीको सुरुवात गरेको छु । साथै यो कार्यकाल पूरा होउञ्जेल धेरै प्रतिबद्धताहरू पूरा हुनेछन् ।
गाउँपालिकाको विकासका लागि यहाँका अन्य जनप्रतिनिधि, स्थानीय राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी र पालिकाका कर्मचारीको भूमिका कस्तो छ ?
गाउँपालिकाको विकासका लागि यहाँका अन्य जनप्रतिनिधि, स्थानीय राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी र पालिकाका कर्मचारीको भूमिका अति सराहनीय रहेको छ । मैले चालेका कदमहरूमा सबैको साथ सहयोग पाएको छु । नीति निर्माणमा सबैको अपनत्व होस् भन्ने भावनाले समेत सबैको सल्लाह लिने गरेको छु र सोहीबमोजिम पालिकाको काम कारबाही अगाडि बढाएको छु ।
पालिकाले कुन-कुन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ ?
पालिकाले खासगरी स्वच्छ खानेपानीलगायतका आधारभूत स्वास्थ्य र शिक्षा, सुरक्षित नागरिक आवास, प्रविधियुक्त कृषि एवं पशु विकासका कार्यक्रमहरूलाई विशेष प्राथमिकतामा राखी काम गरेको छ ।
शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा कसरी काम गर्नुभएको छ ?
शिक्षामा बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्रदानका लागि शिक्षकहरूलाई तालिमको व्यवस्था मिलाउनुका साथै बालमैत्री भवन निर्माणमा जोड दिइएको छ । विद्यार्थी संख्याका आधारमा विद्यालय समायोजन गर्ने प्रक्रिया अगाडि बढाइएको छ । स्वास्थ्य क्षेत्रको विकासका लागि १५ शøयाको अस्पतालको निर्माण गरिसकेका छौँ । सुत्केरी हुने महिलाका लागि सर्वसुलभ अस्पतालमा जानका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएका छौँ । आँखाको मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने नागरिकहरूलाई निःशुल्क सेवा उपलब्ध गराएका छौँ । घुम्ती अल्ट्रासाउण्ड सेवा सबै वडास्तरसम्म पुगेको छ । ६ वडाका स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन गरिएको छ । पाँचवटा वडामा स्वास्थ्य चौकी भवन नयाँ निर्माण भएका छन् भने दुईवटा वडाहरूमा निर्माणाधीन अवस्थामा छन् । कृषि क्षेत्रको विकासका लागि गुल्मीदरबार कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सञ्चालन गरिएको छ । कृषकहरूलाई दुग्ध उत्पादनका आधारमा अनुदानको व्यवस्था मिलाइएको छ । कृषकहरूलाई ५० प्रतिशत अनुदानमा प्रविधि वितरणको व्यवस्था मिलाइएको छ । मासुमा आत्मनिर्भर हुने गरी बाख्रा पकेट विकास कार्यक्रम सञ्चालन गरिएको छ । पालिकाको वडा नं. ५ मा बंगुर स्रोत केन्द्रको स्थापना गरिएको छ ।
सडक (मोटरबाटो) र खानेपानीको अवस्था कस्तो छ ?
पालिकाको प्रत्येक वडाका टोल–टोलमा सडक सञ्जाल पुर्याउन सफल भएका छौँ । पालिकाका सातवटै वडामा ट्याक्सी चढेर घुम्न सक्ने अवस्था बनाएका छौँ । पालिकामा सडकको नयाँ ट्र्याक खोल्ने काम करिब सम्पन्न भइसकेको छ । पालिकाबाट वडा कार्यालयसम्म जाने मोटरबाटो सहजरूपमा बाह्रै महिना सञ्चालनयोग्य बनाइएको छ । पालिकाका मुख्य मोटरबाटोहरूको स्तरवृद्धि गरिएको छ । खानेपानी अवस्थाका सम्बन्धमा भन्नुपर्दा सबै नागरिकहरूलाई खानेपानीको व्यवस्था हुने गरी खानेपानीका योजनाहरू सञ्चालन गरिएको छ । तथापि केही नागरिकहरूलाई अझ पनि सहजरूपमा व्यवस्थित खानेपानी प्रदान गर्न सकिएको छैन । त्यसकारण हामीहरूले एक घर एक धाराको नीति अवलम्बन गरी खानेपानी व्यवस्थित गर्दैछौँ ।
प्रदेश र संघ सरकारसँगको समन्वय र सहयोग कस्तो छ ?
नेपालमा संघीय गणतन्त्रको स्थापना भइसकेपछि संविधानअनुरूप जसरी स्थानीय तहको परिकल्पना गरियो र अधिकारको बाँडफाँट गर्दै स्थानीय तहलाई सरकारका रूपमा अगाडि बढाएको थियो । त्यो समयमा सिंहदरबारको अधिकार गाउँ-गाउँमा भन्ने एक खालको नारा लगाइएको थियो । त्यो अनुरूप हेर्दा स्थानीय तहमा केन्द्र र प्रदेश सरकारले अधिकार दिने सवालमा अहिले पनि अंकुश लगाइरहेको छ । विभिन्न बहानामा केन्द्र र प्रदेश सरकारले स्थानीय तहलाई कमजोर बनाउने र आफ्नो मातहतको एउटा निकाय हो भन्ने बुझाइ अहिले पनि माथिल्लो तहमा देखिन्छ । जबसम्म स्थानीय तहमा साधन स्रोतले सम्पन्न गर्न सकिँदैन तबसम्म पूर्णरूपमा नेपालको विकासको प्रक्रिया अगाडि बढाउन कठिन देखिन्छ । तथापि विकासका सवालमा संघीय सरकार एवं प्रदेश सरकारको सहयोगमा गैँडाकोट जुभुङ मजुवा सडक खण्डको स्तरोन्नतिका लागि बजेट मागको पहल एवं खज्र्याङ घुम्तीको बाटोका लागि बजेट सुनिश्चित गरी तीव्ररूपमा कार्य अगाडि बढेको छ । साथै प्रदेश एवं केन्द्रबाट विशेष र लागत साझेदारीमा सडक कृषि एवं खानेपानीका क्षेत्रमा कार्य हुँदै आएको छ । यसका अलावा प्रदेश सरकारको विशेष सहयोगमा नवप्रवर्तन साझेदारी एवं सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) मार्फत् आर्थिक विकासका कार्यक्रम र खानेपानीको क्षेत्रमा समेत कार्यगत साझेदारीको प्रक्रिया अगाडि बढेको छ ।
गाउँपालिकाको विकासमा के-कस्ता चुनौती देखिएका छन् ?
गाउँपालिकाको विकासमा थुप्रै चुनौतीहरू देखिएका छन् । पालिकाको भौगोलिक विकटता र छरिएको बस्ती रहेको छ । पालिकाको आफ्नो आन्तरिक स्रोत न्यून छ । गाउँपालिकाको आफ्नै प्रशासकीय भवनबाट सेवा प्रदान गर्न सकिएको छैन । १५ शैय्याको अस्पतालको भौतिक संरचना निर्माण भए पनि बजेट अभावका कारण सञ्चालनमा ल्याउन सकिएको छैन । चालु खर्च बढ्दो र पुँजीगत बजेट घट्दो अवस्थामा छ । साथै केन्द्रबाट आउने अनुदानमा समेत आर्थिक वर्षको अन्त्यमा आएर कटौती हुन लागेको छ । सीमित स्रोत र साधनले नागरिकका असीमित विकासका चाहना पूरा गर्न चुनौती नै देखिन्छ ।
तपाईंको कार्यकालमा गाउँपालिकामा देखिने गरी कस्ता काम गर्ने सोच बनाउनुभएको छ ?
सबल सक्षम उत्थानशील स्थानीय सरकार समृद्ध र समुन्नत हाम्रो गुल्मीदरबार भन्ने पालिकाको नारालाई साकार पार्ने गरी काम गर्ने सोच बनाएको छु । गुल्मीदरबार गाउँपालिकाले आवधिक योजना र मध्यमकालीन खर्च संरचना निर्माण गरी प्राथमिकताका क्षेत्र निर्धारण गर्दै सोहीअनुरूप नतिजामूलक विकास व्यवस्थापनमा समेत जोड दिँदै कार्य गरिनेछ ।
अन्त्यमा के भन्नुहुन्छ ?
सम्पूर्ण पालिकावासीलाई के भन्न चाहन्छु भने विकास भनेको नियमित हुने प्रक्रिया हो । सोहीअनुरूप यो क्षेत्रको विकास गर्ने अवसर प्रदान गर्नुभयो र हामीले यो समयावधिमा भौतिक पूर्वाधार एवं सामाजिक विकास क्षेत्रलगायत सार्वजनिक सेवा प्रवाहको क्षेत्रमा राम्रो काम गर्ने अवसर प्राप्त भयो । यो समग्र क्षेत्रमा भएको प्रगति पर्याप्त होइन र पालिकामा अझै विकास निर्माणको काम गर्न बाँकी नै छ । गुल्मीदरबार गाउँपालिकामा समृद्धि हासिल गर्नका लागि पालिकावासी सबै एकजुट भएर लाग्नुपर्छ र यसमा सबैको अपनत्व हुनु जरुरीसमेत छ । विकास निर्माणलगायतका अन्य क्षेत्रको काममा समग्र पालिकावासीको सकारात्मक तथा रचनात्मक साथ र सहयोग सधैँ पाएको अवस्था छ । जनताको अपेक्षाअनुसारको काम हामीले गर्नेछौँ । कतिपय ठाउँमा चाहेर वा नचाहेर भूगोल तथा परिस्थितिका कारणले केही समस्या पनि आएका छन् । नागरिकहरूले हरेक दुःख तथा अप्ठ्यारोमा हामीलाई साथ दिएकोमा आभार व्यक्त गर्न चाहन्छु । हामी नागरिकका जनप्रतिनिधि हौँ, त्यसैले हामीलाई निरन्तर समालोचनात्मकरूपमा सर-सल्लाह एवं सुझाव पनि दिन अनुरोध गर्दछु । आगामी दिनमा पनि यसरी नै जनताको साथ र सहयोग मिल्ने अपेक्षा गर्दछु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच