काठमाडौं । भ्लादिमिर पुटिन लगातार पाँचौँ पटक रुसको राष्ट्रपति बन्नुभएको छ । मार्च १५–१७ मा भएको मतदानमा पुटिनले झण्डै ८८ प्रतिशत मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी निकोले खारिटोनोभले चार प्रतिशत मत पाउनुभयो भने भ्लादिस्लाव दाभान्कोभ र लियोनिद स्लुत्स्की तेस्रो र चौथो स्थानमा रहनुभयो । नतिजा सार्वजनिक भएपछि पुटिनले अब रुस झन् शक्तिशाली र प्रभावशाली हुने टिप्पणी गर्नुभएको छ । निर्वाचनअघि नै पुटिन विजयी हुने अनुमान गरिएको थियो ।
सरकारी समाचार एजेन्सी आरआइएका अनुसार आधिकारिक निर्वाचन आँकडाले ९९ प्रतिशतभन्दा बढी मतदान केन्द्रले दिएको परिणाममा पुटिनले ८७ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।अब उहाँले नयाँ ६ वर्षे कार्यकाल थाल्नु हुनेछ । पूर्व लेफ्टिनेन्ट कर्णेल पुटिन सन् १९९९ मा पहिलोपटक सत्तामा आउनुभएको थियो । नयाँ कार्यकाल थाल्ने तयारीमा रहनुभएका पुटिनले युक्रेनमा रुसी सेना पठाउने आफ्नो निर्णय सही भएको दाबी गर्नुभएको छ । साढे ११ करोड मतदाता रहेको रुसमा ६७ प्रतिशत बढी मत खसेको थियो ।
पब्लिक ओपिनियन फाउन्डेसन (एफओएम) पोलस्टरद्वारा गरिएको एक्जिट पोलका अनुसार पुटिनले ८७ दशमलव आठ प्रतिशत भोट जित्नुभएको छ, जुन रुसको सोभियत संघको इतिहासमा अहिलेसम्मकै उच्च परिणाम हो । तर, पश्चिमा मुलुकहरूले भने निर्वाचनको निष्पक्षतामाथि आशंका व्यक्त गरेका छन् ।
रुसी संविधानमा कुनै पनि व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाउने व्यवस्था रहेको थियो । तर, उहाँले संविधान संशोधन गरेर अब २०३६ सम्म आफू राष्ट्रपति बन्नसक्ने व्यवस्था गर्नुभएको छ भने राष्ट्रपतिको कार्यकाल चारबाट ६ वर्षमा बढाउनसमेत संविधान संशोधन गरिएको छ ।
जनवरी २०२० मा पुटिनले संवैधानिक संशोधनमार्फत दुई कार्यकालको राष्ट्रपतिको सीमा समाप्त गर्नुभएको थियो । यसलाई सही प्रमाणित गर्न पुटिनले जनमतसंग्रह नै गराउनुभएको थियो । योसँगै पुटिनलाई सन् २०३६ सम्म राष्ट्रपति बन्ने बाटो खुलेको छ ।
अमेरिका, जर्मनी, बेलायतलगायत मुलुकले विपक्षीलाई नियन्त्रण र कैदमा राखेर गराइएको मतदान स्वतन्त्र र निष्पक्ष नभएको दाबी गरेका छन् । आफ्ना प्रमुख विरोधी एलेक्सी नाभाल्नीको जेलमै रहस्यमय मृत्यु भएको एक महिनापछि पुटिनले देशमा निर्वाचन गराउनुभएको हो । मतदानकै क्रममा नाभाल्नीका समर्थकले विभिन्न ठाउँमा सांकेतिक विरोध गरेका थिए । निर्वाचनमा पुटिनबाहेक अरू तीन कमजोर उम्मेदवार उठाइएको थियो । उनीहरू क्रेमलिनको अनुकूल रहेको र डमी उम्मेदवारका रूपमा रहेको रुसका विपक्षीको आरोप छ । कुनै पनि वास्तविक प्रतिस्पर्धाको सामना गर्नु नपरेको राष्ट्रपति निर्वाचनमा यो उहाँको रेकर्ड जित हो ।
कुनै धम्कीले रुसलाई फरक पर्दैन : पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चुनावी जितको प्रशंसा गर्दै रुस ‘धम्कीबाट डराउन नहुने’ बताउनुभएको छ । मतदान समाप्त भएको केही घण्टापछि सोमबार मस्कोमा आफ्नो निर्वाचन अभियान मुख्यालयमा पत्रकार सम्मलेनमा पुटिनले भन्नुभयो, ‘जसले जति धम्की दिन वा हाम्रो इच्छाशक्ति र हाम्रो चेतनालाई दबाउन चाहेको भए पनि यसबाट कुनै फरक पर्दैन, इतिहासमा कोही पनि यस्तो तरिकाले सफल भएको छैन, यसले अब काम गर्दैन र भविष्यमा पनि कहिल्यै गर्नेछैन ।’ पुटिनले भन्नुभयो, ‘म तपाईंको समर्थन र यो विश्वासका लागि तपाईं र मुलुकका सबै नागरिकलाई धन्यवाद दिन चाहन्छु ।’ पुटिनले युक्रेनमा लडिरहेका रुसी सैनिकहरूलाई विशेष धन्यवाद दिनुभयो ।
चीनको बधाई
यसैबीच, रुसको प्रमुख सहयोगी चीनले सोमबार राष्ट्रपति पुटिनलाई चुनाव जितेकामा बधाई दिएको छ । ‘चीन यसका लागि बधाई व्यक्त गर्दछ’, नियमित पत्रकार सम्मेलनमा मतदानका बारेमा सोधिएको प्रश्नमा विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भन्नुभयो, ‘चीन र रुस नयाँ युगमा एक–अर्काका सबैभन्दा ठूलो छिमेकी र व्यापक रणनीतिक सहयोगी साझेदार हुन् ।राष्ट्रपति सी जिनपिङ र राष्ट्रपति पुटिनको रणनीतिक मार्गनिर्देशनमा चीन–रुस सम्बन्ध अगाडि बढिरहने छ भन्ने हाम्रो दृढ विश्वास छ’, यस वर्ष दुवै मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सव मनाउने उल्लेख गर्दै प्रवक्ता लिनले भन्नुभयो, ‘दुवै राष्ट्राध्यक्षले घनिष्ठ आदानप्रदान जारी राख्न, दुवै मुलुकबीच लामो समयदेखिको असल छिमेकी मित्रतालाई कायम राख्न, व्यापक रणनीतिक समन्वयलाई गहिरो बनाउन र नयाँ युगमा चीन–रुस सम्बन्धको निरन्तर विकासलाई प्रवद्र्धन गर्न नेतृत्व गर्नुहुने छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच