उपनिर्वाचन : इलाम क्षेत्र नं २ सर्वाधिक चासो र चर्चामा

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 5 mins

इलाम । इलामको निर्वाचन क्षेत्र नं २ यतिखेर सर्वाधिक चासो र चर्चाको केन्द्रमा छ । आगामी १५ वैशाखमा उपनिर्वाचन हुने भए संगै इलाम २ ले थप चर्चा बटुलेको हो । प्रदेश नामाङ्गकन को बिष्यलाई लिएर चर्किएको पहिचानको आन्दोलन निष्कर्षमा नपुग्दै उपनिर्वाचन हुन लागेकाले मुख्यगरी इलाम २ लाई चासोका साथ हेरिएको छ ।

भिन्न पृष्ठभूमिका उम्मेदवार, चुनावी इतिहास र राजनीतिप्रति बदलिँदो अवधारणाका कारण पनि इलाम २ ले यतिबेला सबैको ध्यान तानेको हो । इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा २० जनाको उम्मेदवारी परेको छ  । संघीय संसद्को एक निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचन संसदीय अंकगणितका लागि धेरै अर्थपूर्ण नभए पनि राजनीतिक भविष्यको संकेत हुने भएकाले पुराना र नयाँ दलसँगै पहिचानवादीका लागि इलाम २ प्रतिष्ठाको विषय भएको छ  ।

सुवासचन्द्र नेम्वाङको गएको २६ भदौमा निधन भएपछि रिक्त इलाम २ मा उपनिर्वाचन हुँदै छ  । निर्वाचन परिणामले राजनीतिक दलहरूको र पहिचानवादी मुद्दाको भविष्यको रूपरेखा कोर्ने भएकाले सबै दल र पहिचानवादी सम्पूर्ण शक्ति लगाएर चुनावी मैदानमा उत्रेका छन् । सडकबाट मात्र आफ्नो मुद्दा स्थपित नहुने भएपछि संघर्ष समितिका संयोजकसमेत रहेका डेकेन्द्रसिंह थेगिम लिम्बु सभ्यता तथा पहिचान पक्षधरको साझा उम्मेदवार बन्नुभएकाे छ ।

लामो समयदेखि वर्चश्व कायम राख्दै आएको भए पनि गत निर्वाचनमा एमालेले झिनो मतान्तरको जित निकालेको थियो । एमालेका दिवंगत नेता सुवासचन्द्र नेम्वाङले ३० हजार २० मत प्राप्त गरेर विजयी हुँदा कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत पाउनु भएकाे थियाे । कांग्रेसलाई माओवादी, एकीकृत समाजवादी, जसपालगायत दलको पनि समर्थन थियो । यसरी अन्य दलको समर्थन पाउँदा पनि हारेको कांग्रेस यसपटक एक्लै चुनाव लड्नुपर्दा पनि ढुक्क नै देखिन्छ ।

सत्ता समीकरण परिवर्तनसँगै अहिले माओवादीको समर्थन एमालेलाई छ तर एमाले पनि ढुक्क छैन । एकातिर आफूलाई साथ दिएको माओवादी इलाम २ मा कमजोर छ भने सभ्यता र पहिचान पक्षधर पनि चुनावी मैदानमा छन् ।

अर्कोतर्फ सत्ता साझेदारसमेत रहेका रास्वपा र एकीकृत समाजवादीले आफ्नै उम्मेदवार उठाएपछि एमालेलाई ढुक्क हुने स्थिति छैन ।

माओवादीले गत निर्वाचनमा समानुपातिकतर्फ ५ हजार १५३ मत पाएको थियो तर पहिचानका सन्दर्भमा दोहोरो चरित्र देखाएको भन्दै माओवादीकै पहिचानवादी नेता-कार्यकर्ता अहिले रुष्ट छन् । यस्तो अवस्थामा उक्त भोटसमेत पहिचान पक्षधरले काट्न सक्ने आँकलन भइरहेको छ ।

पहिचान पक्षधरको मतसमेत तान्ने रणनीतिका साथ शुरुमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएका मिलन लिम्बुलाई पार्टीको उम्मेदवार बनाएको रास्वपा चितवन २ र तनहुँ १ को नतिजा दोहोर्‍याउन चाहन्छ ।

यता यसपटक पहिचानको मुद्दाले इलामे मतादातालाई पहिलोपटक प्रभावशाली ढङ्गले ध्रुविकृत गर्न सक्छ भन्ने चर्चा बाहिर आईरहँदा नेपाली कांग्रेसका उम्मेदबार डम्बर बहादुर खड्काको जितको संभावना रहेको धेरैको बुझाई छ । विपन्न, विरामीदेखि धार्मिक स्थलसम्म दिल खोलेर सहयोग गर्ने खड्काको छबि ‘सहयोगी मान्छे’का रूपमा रहेको छ ।

निरन्तर राजनीति र सामाजिक कार्यमा संलग्न उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, खेलकुद र युवा स्वरोजगारको विषयमा चासो राख्ने मात्र गर्नु हुदैन खड्का असहाय असक्तको साहारा बन्दै आउनुभएकाे छ । यसैले पनि लगातार जित्दै आएको एमाले यसपटक विरासत जोगाउने प्रयासमा छ भने कांग्रेसका लागि एमालेको विरासत तोड्ने अवसर आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?