दर्दुरो यत्र वक्तारः
जहाँ भ्यागुतो प्रमुख वक्ता हुन्छ त्यो सभा कस्तो होला ? त्यहाँका श्रोता कस्ता होलान् ? त्यस सभाका आयोजक कस्ता होलान् ? अचम्म लाग्दैन त । मलाई आज राति निकै बेर निद्रा लागेन दायाँबायाँ कोल्टे फेर्दाफेर्दै रात निकै गइसकेछ । ‘जिउँदो लास’ भन्ने विजयबहादुर मल्लको नाटकको दृश्यावली मेरा दिमागमा आउन लाग्यो । त्यो नाटक धेरैले पढ्नुभएको होला । त्यहाँ काठमाडौंका परम्परित बसोवास गर्ने एउटा जातिका दुई नारी मुख्य पात्रा छन् । एउटीको बिहा भएको छ तर पोइ विदेशिएको धेरै भयो मरेबाँचेको अत्तोपत्तो छैन । गलामा पोते, सिउँदामा सिन्दुर हातमा चुरा लाएर बसेकी छ तर कोही पनि आजसम्म उसका पोइलाई भेटेको कुरो गर्दैनन् ।
यस अवस्थामा उसका मनमा आफैंप्रति विचित्रका भाव आउन लाग्छन् र भन्छे ‘म मुर्दाकी स्वास्नी’ । एकजना प्राध्यापक छन् जो कक्षामा पढाउन त जान्छन् तर कक्षाका सबै विद्यार्थीलाई मुर्कुटा देख्न थाल्दछन् । अर्की एउटी नारी छे उसले जसलाई मन परायो त्यही मर्छ । अनि डराएर ऊ कुनै पनि प्राणीलाई नै माया गर्न छाडिदिन्छे । यस्तो अचम्मको समाज र सभ्यता परिस्थितिको कल्पना मल्लले कसरी गरेहोलान् भन्ने मलाई लाग्दथ्यो तर आज एकाएक मेरा गिदीको ताल्चा खुल्यो र वास्तविक कुराको बोधको घाम उदायो । जुन देशको सरकारमा पटक-पटक ज्यान मारेका आउँछन् र झण्डा हल्लाउँदै गएर मान्छे मार्छन् अनि जनतालाई उपदेश दिन्छन् । यिनको हैसियत भ्यागुतो, मूर्दा, मुर्कुटो, माउसुलीभन्दा उम्दो होला र ?
लोकमा होस् या आधुनिक समाजमा जसले जस्तो व्यवहार गर्दछन् तिनलाई त्यस्तै व्यवहार गर्ने गरिन्छ तर वर्तमानको नेपाली समाजले त्यो सिको गरेको देखिएन । हात चाट्न पाउन्जेल मौरीले चिलेको त के बच्छ्युँले चिले पनि चाल नपाउने कार्यकर्ता छउन्जेल साँढे डुक्रन नछाड्ने पक्कापक्की छ ।
यो देश नै त्यो कक्षा कोठा रहेछ । हामी सबै गतिला मुर्दा, मुर्कुटा र माउँसुली रहेछौं । मरेबाँचेको बीसौं वर्षदेखि खुटखबर नभए पनि उसका नाउँका पोते, सिन्दुर, चुरा लाउने र उसैकी स्वास्नी हुँ भन्ने भाव मनभरि लिएर बस्ने यो देशका समग्र नरनारीका प्रतिनिधि पात्र पो रहेछन् ती त । अहिलेको देश चलाउने दलहरू पनि त्यही मरिसकेको मान्छेलाई लोग्ने मानेर बस्ने नारी जस्तै भएका छन् । इतिहास सम्झेर बाँचेका छन् । दलीय मूल्यमान्यता पोलेर खाइसके दलनायकहरूले आआफ्ना मान्छे र स्वास्नी साली, सासुका इच्छाका भुङ्ग्रामा । प्रधानमन्त्री पाँच हजार मारेको जिम्मा लिने भएका छन् । रोजगारीमा योग्यता परीक्षाको मौका माग्दा दुई-दुईजना युवकलाई तातो गोली हानेर तिनको बोली सदाका लागि बन्द गराउने मान्छे आपूर्ति तथा श्रमरोजगार मन्त्री भएका थिए कुनै दिन ।
तिनै हत्यारा मञ्चमञ्चमा भाषणगरेर जनता ठगिरहेका छन् । हिलाले हिलो पखाल्छु भन्ने जादुगरजस्ता मदारीका कुरा पत्याउन विवश नेपाली जनता त्यही भ्यागुताको जमात बन्न विवश भएका छन् । मानव मिस्तिष्कको विकासका लागि सबैभन्दा सहज उपाय हो शिक्षा । शिक्षामा विदेशी सिआइडीका पत्नी, भरौटे र गोठाला गिदीबोसेको राज छ । हत्याराले हत्यारालाई कारबाही गर्छ भनेर विश्वास गर्ने नेपाली जनतालाई भ्यागुताको उपमा सुहाउँदिलै होला होइन त ?
मनुष्य रूपेण मृगाश्चरन्ति
मृग साकाहारी जीव हो । उसले हत्या, हिंसा, जालझेल आदि केही पनि जान्दैन । यो जीवमध्ये सबैभन्दा सोझो जीव हो । यस्तै सोझा जीव अरू पनि छन् । बाख्रो, गाई, ढुकुर, परेवाजस्ता धेरै यस्ता जीव छन् दुनियाँमा जो अरूको भक्ष्य सामग्री बन्छन् तर उनीहरू आफैं चाहिँ सुकेका तृणादि चबाएर जीवन बिताइदिन्छन् । नेपाली जनता यिनै गाई, बाख्रा, ढुकुर, परेवा, मृगजस्तै निरीह छन् शताब्दीयौंदेखि । अहिलेको यस प्रकारको विकृतिका पक्षपोषक देशका सबैभन्दा ठूला मान्छे बनाएर बसेका छौं हामी । यी ठूला बनाइएका चाहिँ मनमौजी किसिमले जुन जतिबेला जे मन लाग्यो त्यही भक्षण गरेर बसेका छन् । हरियो दुबो देखाएर बाख्राका पाठालाई समातेर देवीस्थानमा बली चढाए झैँ नेपाली जनतालाई यी बगलीमा खुकुरी तरबार खुँडा लुकाएका पुजारी नामका जल्लादलाई हामीले चिनेर पनि सजाय दिन सकेका छैनौं ।
जसरी वनका साकाहारी मिलेर सिंह या बाघलाई सजाय गर्न सक्दैनन् त्यस्तै भएका छौं हामी पनि । उदाहरण अहिले इलाम र बझाङ भएका छन् । इलाम र बझाङका चुनावमा नेपाली कांग्रेसको संसदीय बोर्डका रबैयालाई हेर्दा पनि पाटेबाघ र लामो समयदेखि सत्ता र शक्तिमा बसेका मान्छेको अनुहार मान्छेकै भए पनि चरित्र, चिन्तन र व्यवहार चाहिँ नृशंस, हिंस्रक समानै विवेकान्ध हुँदारहेछ भन्ने स्पष्ट भएको छ । उता एमालेले पनि कुनै व्यक्तिका सन्तान दरसन्तानका नाममा निर्वाचन क्षेत्र पैतृक सम्पति बनाएर लोकलाजै पचाएको छ । लामो समयदेखि त्यस संगठनमा लागेर संघर्ष गर्दै आएका पुराना कार्यकता कता जाने ?
इलाम दुई त सुभषजीको ‘किपट’ बनाएर दर्ता गरिदियो एमालेले । मान्छेका रूपमा मृग विचरण गर्दछन् भन्ने सन्दर्भ त्यस श्लोकमा धर्म, संस्कार, मूल्यमान्यता र बुद्धिविवेकविहीन बनेर हिरिक्क हुने पशुबुद्धिलाई औंल्याइएको देखिन्छ । यसरी हेर्दा आफू, आफन्त र आफ्नाका लागि हिरिक्क हुने अहिलेको नेपालका तीन ठूला राजनीतिक दलका दलनायक पनि पशुसरहका देखिन्छन् । आहार, निद्रा, भय र मैथुन यी चार कुरामा पशु र मान्छे समान हुन्छन् । अतः मानव हुन बुद्धि, विवेक र कर्तव्याकर्तव्यको क्षमता मान्छेमा अधिक हुन्छ र नै मानव कहलिएको हो मान्छे तर जसमा त्यो (विवेक/धर्म) हुँदैन त्यो चाहिँ मनुष्यरूपको भए पनि पशु नै हो भन्छ शास्त्रले ।
यस्ता मान्छेलाई आआफ्ना दलका सर्वोच्च आसनमा राख्ने/राखिरहन चाहने सबै पृथ्वीका भारस्वरूपका पशु नै हुन् भन्छ नीतिशास्त्रले पनि । धर्म भनेको पनि स्थिर धारणा हो । जुन बेला मानवीय धारणाले ध्यानका माध्यमले धारणालाई स्थिर गराउँछ अनि त्यही धारणा धर्मका रूपमा सथापित हुन्छ । दलीय राजनीतिमा व्यक्ति गौण हुन्छ, दल र सिद्धान्त अनि उसको घोषणापत्र तथा त्यस दलको पूर्वक्रियाकलाप र इतिहास हेरेर मतदाताले निर्णय गर्न पाउनुपर्छ । यसका निमित्त निश्चित आचरण, निश्चित संस्कार, निश्चित भेषभूषा पनि स्वीकारेको देखिन्छ लोकमा तर तत्वज्ञका लागि यी कुनै पनि कुरा आवश्यक मानिँदैनन् ।
बाघका छालामा स्यालले राइँदाइँ गर्दा पनि हामी ब्युँझन सकेका छैनौं । सर्वधर्म समानको नीति राज्यले अँगाल्नाको मतलब राम मन्दिरका आँगनमा गोबध गर्न दिनु भन्ने होइन र मुसलमानका घरअगाडि सुगुँर काटेर बेच्न पाइन्छ भन्ने पनि होइन ।
बीपी, मनमोहन अधिकारी र सुशील कोइरालालाई कसैले पनि अनैतिक, भ्रष्ट, व्यभिचारी भन्ने हिम्मत गर्न सक्दैनन् र अहिलेका तीन गजुवालाई कसैले पनि सादा जीवन उच्च विचारका नायक भन्न सक्दैनन् । यसरी हेर्दा चरित्रमा, चिन्तनमा र विकास निर्माणका गतिविधिमा पनि दक्षिण र उत्तरका छिमेकीभन्दा हामीलाई पछि पार्ने दुष्टनायक यिनै हुन् भनेर मजाले किटानी गर्नसक्छौं । लोकमा होस् या आधुनिक समाजमा जसले जस्तो व्यवहार गर्दछन् तिनलाई त्यस्तै सुहाउँदिलो व्यवहार गर्ने गरिन्छ तर पनि वर्तमानको नेपाली समाजले भने त्यो सिको लिन सकेको देखिएन । हात चाट्न पाउन्जेल मौरीले चिलेको त के बच्छ्युँले चिले पनि चाल नपाउने गजघ्वाँईं कार्यकर्ता छउन्जेल साँढे डुक्रन नछाड्ने पक्कापक्की छ ।
जस देवता तस पूजा करिहुँ गोसाइँ
सन्त दुलसी दासले आफ्नो कृति ‘रामचरित मानस’ मा जस्तो देवता छ उस्तै गरी पूजा आराधना गर भनेर आफ्ना पाठकलाई सम्झाएका छन् । संस्कृतको एउटा सूक्तिले पनि सठेसाठ्यं समाचरेत् भनेर त्यही सन्देश दिएको भेटिन्छ । हामी नेपाली पनि जाई कटक नगर्नू झिकी कटक गर्नू भन्ने लोकोक्तिलाई वेदमन्त्रै मान्छौं तर अहिले के भएर हो, हाम्रो बहादुरी ओडारमा सुत्न पुग्यो । बाघका छालामा स्यालले राइँदाइँ गर्दा पनि हामी ब्युँझन सकेका छैनौँ । सर्वधर्म समानको नीति राज्यले अँगाल्नाको मतलब राममन्दिरका आँगनमा गोबध गर्नदिनु भन्ने होइन र मुसलमानका घर अगाडि सुगुँर काटेर बेच्न पाइन्छ भन्ने पनि होइन । गायत्री जपेर आठ वर्षमा व्रतबन्ध गरेर वन पसेकाले गाईगोरु काटेर कार्यकर्तालाई खुवाएका धङधङीको प्रदर्शन विगतका दिनमा गर्न खोज्दा झण्डै यो मुलुक धार्मिक हिंसा र हत्याको चक्रवातमा फसेथ्यो ।
अरू सबैलाई निषेध गरेर हामी गठबन्धनेले मात्रै खानुपर्छ र जित्नुपर्छ भन्ने सठबन्धनतन्त्र पनि समानता, स्वतन्त्रता, विश्वभ्रातृता, आवधिक निर्वाचन, विधिको सर्वोच्चतालाई मान्ने भनेर विश्वविख्यात भएको दलबाट गरिनु कति लज्जास्पद स्थिति पनि हामीले बेहो¥यौं । आज ओलीले बरू गठबन्धनलाई अस्वीकार गरे । सत्ता गठबन्धनलाई सहकार्य भने निर्वाचन दलले एक्लै लड्ने कुरो स्वीकारे तर ती महानायक आज पनि सत्ता र शक्तिका लागि गठबन्धनमा नजालान् भन्न सकिने अवस्था छैन । अतः नेपाली कांग्रेसका विवेक, बुद्धि र चरित्र भएका लोकप्रिय नेता कार्यकर्ताले भातेनिद्राका बेला देखेको खराब सपना भनेर हिजोको गठबन्धने आचरणको निन्दा गल्ती स्वीकार जनताका अगाडि गएर गर्नैपर्छ । अब जनताका कुरा नगरेर हिजोको गाथा सुनाएर हुँदैन ।
त्यही गल्तीका कारणले आज छेपारे प्रवृत्ति या भनौं माछो देख्दा खोला हात भ्यागुतो देख्दा पाखा हात गर्ने र सयवटा मुसा खाएर हज गर्न जाने बिरालाको चरित्र भएका मान्छे नै संसददेखि मन्त्रिमण्डलसम्म व्याप्त रहेका छन् । भनिन्छ एउटा खाल्डो पुर्न सातवटा अरू खाल्डा खन्नुपर्छ । गठबन्धनले ल्याएको अपसंस्कृति र त्यस अपसंस्कृतिमा टेकेर कमाउन आएका छिचिमिरे दल र तिनका नायक नायिका नै आज देशको वाग्डोर समात्न पुगेका छन् ।
गोजीका संयन्त्रमा गगन, विश्वप्रकाशभन्दा हवि, खवि, डोला, होला, दुर्मना, सुभना, गोसिमा, होसिमा गतिला भन्ने भाष्य बनाउन लागिएको छ । राजनीतिक क्रियाकलाप, दर्शनको पृष्ठभूमि भएका र लुट, चोर, धुत, एनिहाउ कमाउ पृष्ठभूमिबाट आएका मान्छेको चर्को स्वर सुन्न थालिएको छ । यही हो साधुलाई शूली चोरलाई चौतारो भनेको । पवित्र साध्यका लागि साधक र साध्य पनि पवित्र हुनुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच